Comments Add Comment

‘दोख’को कति मन छुने भाका

धान खाने चरी

बन खाने आगो

मन खाने सम्झना

लै लै मन खाने सम्झना

जिब्रोमा चट्ट बस्ने चट्नी जस्तै यी शब्द–लहरलाई उत्तिकै तिख्खर स्वरमा गाइएको छ । शब्द, श्रवण मुकारुङको, स्वर झुमा लिम्बुको । दुबैको अलग र विशिष्ठ पहिचान छ, लेखन र गायकीमा । ‘माथि माथि शैलुङ्गेमा’ जस्ता मन पगाल्ने गीत र ‘विसे नगर्चीको वयान’ जस्तो रगत उमाल्ने कविताका सर्जक हुन्, श्रवण । मुन्धुम, पालाम जस्ता लोक-परम्परामा संगीतको झंकार खोज्ने झुमा आफैमा एक अध्येता पनि हुन् ।

यो गीतको संगीत भने पुष्पा संगमको हो ।

अब कुरा गरौं, अनुप बरालको । रंगमञ्चमा उनको घनत्व बढी छ । यद्यपि चलचित्रबाट टाढा छैनन् । खासमा उनी कला–अभिनयका गुरु हुन् ।

यी सबै सर्जकको एकमुष्ठ कौशल चाहिँ ‘दोख’को ओरिजिनल साउन्ड ट्र्याक (ओएसटी)मा प्रवाहित छन्, जुन हालै मात्र सार्वजनिक भएको हो । भनिहालौं, ‘दोख’ अनुप बराल निर्देशित चलचित्र हो ।

विनासकारी भूकम्पताका छायांकन भइरहेको चलचित्र ‘दोख’ प्रदर्शनको मुखमा आएर अड्कियो, कोभिडको कारण । चलचित्र प्रदर्शनको अझै टुंगो लागेको छैन । किनभने कोरोना संकट मत्थर हुन नपाउँदै दोस्रो लहरको कोरोनाले फेरी सर्वत्र सन्त्रास पैदा गरेको छ ।

‘दोख’को प्रदर्शनलाई थाँती राखेर यसका निर्माण टिमले ओएसटी सार्वजनिक गरेको हो । यसमा समावेश दृश्यहरुले माओवादी द्वन्द्वलाई पृष्टभूमीमा राखेर एक नारी वेदना पोखेको छ । हरेक दृश्य सिपालु चित्रकारले खिपेका ल्याण्डस्केप जस्तो छ । दृश्य र गीतको बेजोड तालमेलले भिडियो जति हेरेपनि मन अघाउँदैन । दृश्यहरुले बेग्लै कम्पन पैदा गर्छ । कौतुहलता पनि जगाउँछ ।

भोजपुरको परिवेशमा कथा बुनिएको छ ।  भोजपुरमै जन्मी हुर्केका सर्जक श्रवण मुकारुङले प्रस्तुत गीत लेखेका हुन् । गीत चोटिलो र मनलाई झट्टै स्पर्श गर्ने खालको छ । यसको भाका भने राई संस्कृतिबाट टिपिएको रहेछ, जसलाई हियारी भाका भनिन्छ । श्रवण मुकारुङ सुनाउँछन्, ‘किरात खासगरी राई समुदायमा प्रचलित भाका हो, यो उनीहरुको श्रृति गीत हो ।’ राई समुदायले विवाहको बेला यस्तै भाका हालेर गीत गाउने चलन छ । जुहारी शैलीमा यो गीत गाइन्छ । यसलाई सिनेमामा भने केही फरक ढंगले ल्याएको मुकारुङले बताए ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । यद्यपि निर्देशक अनुप बरालका अनुसार यस चलचित्रले सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलो देखाएको छ । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वमित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्याम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरु पनि छैन ।

दोखको कथासार यत्ति हो । यसलाई सम्पूर्ण रुपले हेर्न त सिनेमा हल नै पुग्नुपर्छ, जुन अहिले अनिश्चितका लागि बन्द छ ।

यो चलचित्रमा दीया मास्के, मनिस निरौला, लोकमणी सापकोटा, माओत्से गुरुङ, साजन थापा मगर लगायतको अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment