Comments Add Comment

हरप्रितको अलराउण्ड प्रदर्शनमा पञ्जाबले बेंगलोरलाई हरायो

Photo Credit : IPL

१८ वैशाख, काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो ।

यस जितपछि पञ्जाब ७ खेलबाट ६ अंकसहित तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारले बेंगलोरको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ ।

अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ओपनर राहुलको अविजित ९१ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । राहुलले ५७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि क्रिस गेलसँग ८० रनको साझेदारी गरे । गेलले २४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४६ रन जोडे ।

यस्तै राहुल र हरप्रित ब्रारले छैटौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ब्रारले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २५ रन बनाए ।

बेंगलोरका केल जेमिसनले २ तथा ड्यानिएल साम्स, युजभेन्द्र चेहल र शहबाज अहमेदले १-१ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रजत पाटिदार र हर्शल पटेलले समान ३१ रन जोडे । केल जेमिसन १६ रनमा अविजित रहे । बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे ।

पञ्जाबका हरप्रितले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । खेलको ११औं ओभरको पहिलो बलमा बेंगलोरका कप्तान विराट कोहलीलाई बोल्ड गरेका उनले लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेललाई बोल्ड गरेका थिए । यस्तै १३औं ओभरमा उनले ए बी डे भिलियर्सलाई कप्तान राहुलबाट क्याचआउट गराएका थिए ।

पञ्जाबका लागि रवि बिश्नोईले २ तथा रिले मेरेडिथ, मोहम्मद शामी र क्रिस जोर्डनले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment