Comments Add Comment

वीरगञ्जको तरकारी बजारमा भिड, पालना हुँदैन स्वास्थ्य मापदण्ड

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिन दिनै बढी रहेको छ । अधिकांश संक्रमितमा लक्षण छ । अस्पतालमा गम्भिर प्रकृतिका संक्रमितमात्रै भर्ना गरिएको छ ।

अस्पतालका पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य जस्तै भइसकेको छ । दिनदिनै संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भईरहेका छन् । बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्रमशः १ सय १४ र १ सय ३८ जना संक्रमित थपिएका छन् ।

वैशाख १ गतेदेखि यता वीरगञ्जमा मात्रै १ हजार १ सय २३ जनामा संक्रमण पुष्टी भईसकेको छ । संक्रमणको चेनब्रेक गर्न स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि एक साताका लागि पर्सामा निषेधाज्ञा लगाएको छ ।

तर वीरगञ्जको घण्टाघर छेउमै रहेको होलसेल तथा खुद्रा तरकारी किनबेच हुने विपी उद्यान पार्कमा कोरोना गिज्याउने भिड देखिएको छ । शनिबार विहान गाउँ–गाउँबाट तरकारी बेच्न आएका किसान र व्यापारीको अव्यवस्थित भिड देखिएको हो ।

निषेधाज्ञा लगाईए पनि अत्यावश्यक वस्तु भएका कारण बिहान १० बजेसम्म तरकारी किनबेच गर्न छुट दिईएको छ । तरकारी बजारमा मास्क नलगाउने, मास्क लगाईहाले पनि राम्रोसँग नलगाउनेको संख्या बढी देखिएको छ । सामाजिक दूरीको पालना नगरी धेरै जना मानिसहरु एकै ठाउँमा झुम्मिएको पाईएको छ ।

च्यापुमा मास्क लगाएकाहरु नाकमुख छोप्दा गर्मी हुने भएकाले भर्खरै तल झारेको जवाफ फर्काउछन् । ‘पानी खाँदा फुकालेको थिएँ, लगाउनै विर्सेछु’ तरकारी बजारमा भेटिएका एक व्यापारी भन्छन् ।

वीरगञ्ज–२५ सिर्सिया आत्माराम पटेललाई आफ्नो स्वास्थ्यको भन्दा तरकारी बेच्ने चिन्ता थियो । उनी पनि तरकारी बेच्न भिडमा मिसिए । ग्राहकको आग्रहपछि छोरालाई मास्क लगाएर तरकारी बेच्न हकारिरहेका उनी मथु महतोसँग उनी ठोक्किए ।

तरकारी किन्न आउनेहरु हुन या तरकारी बेच्ने स्वास्थ्य सुरक्षा सतर्कताका विषयमा ध्यान दिएका थिएनन् । वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमनचन्द्र ठाकुर अहिलको परिस्थितिमा अनावश्यक भिडभाड गर्नु स्वास्थ्यका लागि हानीकारक भएको बताउँछन् ।

‘वीरगञ्जमा मात्रै ७ सय भन्दा बढी सक्रिय संक्रमित पुगीसकेको छ, दिन दिनै सय भन्दा बढी संक्रमित थपिदै गईरहेको छ, कन्ट्याक्ट ट्रेसिङ गर्न दिनभरी लागिरहेको छ’ उनले भने ‘यस्तो परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी भिडभाड गर्नु राम्रो होईन, भिडमा कसैलाई संक्रमण छ भने अरुलाई पनि सर्न सक्छ ।’

विगतमा निषेधाज्ञाको समयमा तरकारी तथा खाद्यान्न बिक्रि गर्दा सामाजिक दुरी कायम गराउँन अनिवार्य गरिएको थियो । विभिन्न विद्यालयमा तरकारी पसल राख्न दिएर भिड कम गर्ने प्रयास गरिएको थियो ।

तर, यसबर्ष त्यस्तो तयारी खासै देखिएको छैन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी छलफल गरेर व्यवस्थित बनाउन आवश्यक कदम चाल्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment