Comments Add Comment

‘अब अस्पतालको मात्र मुख ताकेर हुँदैन’

वीरगञ्जमा बिहीबार २८८ जनाको स्वाब परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भयो । यीमध्ये पर्साका १३१ जना छन् ।

चैत अन्तिम साताबाट बढेको संक्रमणको चेन ब्रेक गर्न पर्सामा १६ वैशाखदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि नारायणी अस्पतालमा १४१ जना संक्रमित भर्ना भए ।

तीमध्ये ६४ जना निको भएर घर फर्किएका छन्, चारजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुईजना स्वेच्छाले घर गएका छन् भने २४ जनाको मृत्यु भएको छ । बाँकी ४७ जना नारायणीमै उपचाररत छन् ।

कोभिड उपचारको लागि छुट्याइएको ५५ बेड खाली छ । नारायणी अस्पतालले २०७७ चैत १५ गते नै आइसोलेसन वार्ड बनाएर कोरोना संक्रमितको उपचार थालेको थियो । संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढेपछि यो अस्पतालको सेवालाई लिएर विभिन्न प्रश्न उठेका छन् ।

यी विषयमा अनलाइनखबरकर्मी सुरेश बिडारीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरसँग गरेको कुराकानी :

पर्सामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?

पहिला १० प्रतिशत संक्रमितमा मात्र लक्षण देखिन्थ्यो । अहिले लक्षणसहितको संक्रमण बढ्दो छ । चैतयता ७० प्रतिशतसम्म संक्रमित देखिएका छन् । दुई–चार दिनमै कडा खालको निमोनिया हुने गरेको छ । जति अक्सिजन दिंदा पनि सुधार नआउने देखिएको छ । अहिलेसम्म बितेका संक्रमितमध्ये ९९ प्रतिशत निमोनियाले रेस्पेरेटरी फेलियर (एआरडीएस) भएरै बिते । कसैलाई पखाला भएको छ, तर सबभन्दा बढीको फोक्सोमा संक्रमण देखिएको छ ।

रगतमा अक्सिजन जान फोक्सोले राम्रोसँग काम गर्नुपर्छ । अहिले कोरोना संक्रमितको फोक्सोले काम गरिरहेको छैन । भेन्टिलेटरको सहायताले फोक्सोमा हाईफ्लो अक्सिजन पुर्‍याउँदा पनि रेस्पेरेटरी कडा खालको फेलियर भइरहेको छ । यो चिन्ताजनक छ ।

तर धेरै डराउनेभन्दा पनि सावधान हुनुपर्छ । सभा–सम्मेलन, विवाह–ब्रतबन्ध गर्ने, मास्क नलगाउने गर्दा अहिले संक्रमणको दर बढेको हो । अब अस्पतालको मात्र मुख ताकेर नहुने भइसक्यो । सबैले स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न पर्‍यो ।

अहिले संक्रमण नै कडा खालको छ । अस्पताल भर्ना हुने सबै बाँच्छन् भन्ने छैन । युरोप, अमेरिकाका सुविधा सम्पन्न अस्पतालहरुमा धेरै संक्रमितको मृत्यु भएको छ । हाम्रो जस्तो स्रोतसाधन कम भएको देशमा संक्रमणबाट जोगिनु नै सबभन्दा उत्तम उपाय हो ।

रगतमा अक्सिजन जान फोक्सोले राम्रोसँग काम गर्नुपर्छ । अहिले कोरोना संक्रमितको फोक्सोले काम गरिरहेको छैन । भेन्टिलेटरको सहायताले फोक्सोमा हाईफ्लो अक्सिजन पुर्‍याउँदा पनि रेस्पेरेटरी कडा खालको फेलियर भइरहेको छ । यो चिन्ताजनक छ ।

निषेधाज्ञाले पुग्छ कि अब मास टेस्टिङ पनि गर्नुपर्छ ?

मास टेस्टिङ भन्दा शंकास्पद लक्षण छ भने जाँच गर्दा हुन्छ । संक्रमण पुष्टि भयो वा कडा लक्षण छ भने अस्पतालमा आउने । नरम लक्षण भए घरमै बस्ने । संक्रमण छ, तर लक्षण छैन भने घरबाट निस्कन भएन, बस्दाबस्दै आफैं ठीक हुन्छ । अहिले त निषेधाज्ञा पनि छ । अनावश्यक भर्ना भएर बेड ओगट्ने, अस्पताल परिसरमा भिड गर्ने नगरौं ।

पीसीआरभन्दा एन्टीजेन परीक्षण उत्तम हुन्छ । यो छिटो हुन्छ, फिल्डमै गर्न सकिन्छ । दक्ष जनशक्ति नभएकोले एक सिफ्टमा १४० भन्दा बढी पीसीआर गर्न पनि सकिंदैन ।

संक्रमितको उपचारमा कुरुवा राख्ने गरिएको रहेछ । यसले जोखिम बढाउँदैन ?

कुरुवाले स्वास्थ्य सुरक्षा सर्तकताका उपाय जानेका हुँदैनन् । कुरुवाहरु कसैले भनेको मान्दैनन् पनि । अस्ति गेट लगाउन खोज्दा गार्डसँग झगडा गरे । प्रहरी बोलाउँदा समेत टेरेनन् । हामी बिरामीको उपचार गर्ने कि झगडा गरेर बस्ने ? उनीहरु ‘मेरो बिरामीको उपचार गरेको मैले आफ्नै आँखाले हेर्न पाउनुपर्छ’ भन्छन् ।

ठीक छ, सीसाबाट हेर्नुस् भन्दा ‘समय–समयमा भित्र जान पाउनैपर्छ’ भन्छन् । मास्कलगायत सुरक्षा सतर्कताका उपाय अपनाएर टाढैबाट हेर्न दिएका छौं, तर भित्रै बस्न खोज्छन् । बिरामीसँग बस्दा उनीहरु पनि संक्रमित भइहाल्छन् नि । अब यसलाई हामी निषेध नै गर्छौं ।

कोभिड संक्रमितको उपचारका लागि कहाँबाट कस्तो–कस्तो सहयोग पाउनुभएको छ

संघीय सरकारले १५ बेड आईसीयू र २५ बेड एचडीयू बनाउन साढे ४ करोड दिएको थियो । त्यसैबाट भेन्टिलेटर र आईसीयूका लागि बेड किनेका छौं । प्रदेश सरकारले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत एउटा एम्बुलेन्स दिने भनेको छ । डीसीसीएमसीबाट खट्ने आठजना कर्मचारीका लागि तलब भत्ता उनीहरुले नै दिने भनेका छन् ।

गण्डक अस्थायी कोभिड अस्पताल र स्वास्थ्यकर्मी क्वारेन्टिन बनाउँदा गरेको सबै खर्च वीरगञ्ज महानगरपालिकालाई भुक्तानी गरिसकेका छौं । मागेको माग्यै हुनुहुन्थ्यो, दिइसकेका छौ । बाँकी बक्यौता केही छैन । अहिले पनि समन्वयमा काम त भइरहेकै छ, तर कुनै आर्थिक सहयोग पाएको छैन । अक्सिजन सिलिण्डर र भेन्टिलेटर सहयोगको आश्वासन भने पाएका छौं ।

महामारीको लागि अहिलेको तयारी पर्याप्त छ ?

नारायणीले मात्रै धान्न सक्दैन भनेर हामीले पहिल्यैदेखि भन्दै आएका हौं । अहिले नेशनल मेडिकल कलेजले समेत कोभिड उपचार थालेको छ । अब अस्पतालहरु पनि तयार पार्नुपर्छ ।

निषेधाज्ञाबाट चेन ब्रेक भयो भने संक्रमित बढ्दैनन् होला । तर, फेरि पनि हामीले आफ्नो व्यवहारमा परिवर्तन गरेनौं, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेनौं भने भारतबाट संक्रमण आउँछ, आउँछ । अहिले गत वर्षभन्दा कडा खालको संक्रमण देखिएको छ । मृत्युदर पनि बढी छ ।

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट छैन । कसरी व्यवस्थापन गरिरहनुभएको छ त ?

पहिला २९ वटा सिलिण्डर थियो, अहिले सयवटा पुर्‍याएका छौं । दुईसय वटासम्म पुर्‍याउन खोजेका छौं । अक्सिजन प्लान्ट लगाउन समय लाग्ने भएकाले सिलिण्डरका लागि वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत संघ–संस्थासँग सहयोग माग्दैछौं ।

जनशक्तिको अवस्था कस्तो छ ?

कोभिड संक्रमितको उपचारका लागि अहिले सय बेड छ । यसलाई १५० बनाउने तयारी छ । भेन्टिलेटर पर्याप्त छ । अन्य उपकरण पनि छन्, तर जनशक्तिकै कमी छ । संघीय सरकार, प्रदेश सरकार र डीसीसीएमसीसँग कर्मचारी मागेका छौं ।

चार समूह बनेर कोभिडमा खटिएको छ । संक्रमितको उपचारमा लगातार सातदिन खटेको टिम क्वारेन्टिनमा बस्छ । संक्रमण भयो भने काममा फर्कन पाउँदैनन् । पोहोर ७० जना संक्रमित भएका थिए । यसपटक १० जना स्टाफ संक्रमित भइसकेका छन् ।

अर्कोतिर जनरल सेवा पनि दिनैपर्छ । कम जनशक्ति हुँदा सेवा प्रभावित हुन्छ । त्यसको लागि पहल गर्दा सबैबाट सकारात्मक जवाफ पाएका छौं । स्टाफ थपिएपछि १५० बेड राखेर कोभिड संक्रमितको उपचार गछौं ।

अस्पताल परिसरमा संक्रमितहरु बाहिरै घुमेको, उनीहरुलाई कुरुवाले तल–माथि गराइरहेको देखिन्छ । यस्तो किन भइरहेको छ ?

अस्पतालमा गम्भीर केस मात्र राख्न सरकारले नै भनेको छ । बेडबाट उठ्न नसक्ने, अक्सिजन कमी हुने, अक्सिजन नपाए मर्ने अवस्था छ भने भर्ना लिने हो । हिंडडुल गर्न सक्ने संक्रमित अस्पतालमा पुग्नु नै हुँदैन थियो । डाक्टरहरुको सम्बन्धबाट वा अरु कसैको दबाबमा कतिपय त्यस्ता संक्रमित अस्पतालमा छन् । उनीहरु डिस्चार्ज हुन पनि मान्दैनन् । अस्पताल परिसरमा त्यस्तै मानिस डुल्ने गरेको मैले पनि देखेको छु ।

होम वा कम्युनिटी आइसोलेसनमा बस्दा हुने बिरामीले बेड ओगटेर अकुपाई गरेका छन् । यसरी त गम्भीर संक्रमितले बेड नपाएर मर्नुपर्ने अवस्था आउँछ । म विनम्र आग्रह गर्छु– संक्रमण देखिंदैमा अस्पताल नआइदिनुस् । डाक्टर साहेबहरुले पनि त्यस्ता बिरामीलाई अस्पताल नपठाइदिनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment