Comments Add Comment

प्राकृतिक सौन्दर्यको गहिराइ बोकेको फोक्सुण्डो ताल

वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ ।

सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।  जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको टोली सडकमार्गबाट काठमाडौंदेखि सवारी साधनमा डोल्पाको सदरमुकाम दुनैसम्म गयौं । त्यसपछि पदमार्ग हुँदै फोक्सुण्डो ताल पुग्यौं ।

मैले देशका विभिन्न स्थानमा आन्तरिक पर्यटकहरूसँग यात्रा गरेको छु । मेरो पेशा नै आन्तरिक पर्यटकलाई देशाटन गराउने हो ।

गत चैत महिनाको तेस्रो साता पहिलोपटक मैले फोक्सुण्डो यात्रा तय गरें । काठमाडौंबाट यात्रामा निस्केपछि एकखालको थकान थियो  तालको डिलमा पुगेपछि त्यो सबै एकाएक हराएर गएको अनुभूति भयो ।

तालको मनोरम दृश्यले हरकोहीलाई मोहित बनाउँछ । पछिल्लो समय तिलोचो, रारा, अन्नपूर्ण क्षेत्रसँगै फोक्सुण्डो ताल पनि निकै आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै गए पनि यात्रा सोचेभन्दा सहज भयो । सँगैका पर्यटक साथीका कारण उत्तिकै रोमाञ्चक पनि । बास बस्न, खानपानका पनि कुनै समस्या भएन । तालसँग पर्यटकलाई मोहनी लगाउने प्राकृतिक क्षमता छ । यसो भनौं यो ताल यस क्षेत्रको समृद्धिको ठूलो आधार बन्न सक्छ ।

फोक्सुण्डोको विशेषता

फोक्सुण्डो ताललाई शे–फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । हिमाली सफा पानी यस तालमा पर्यटकको अनुहार आफूभित्र टल्काउनलाई पर्खेर बसे झैं प्रतित हुन्छ ।

समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा रहेको यो तालको लम्बाइ ४.८ किलोमिटर र  चौडाइ १.६ किलोमिटर छ । नेपालकै गहिरो मानिएको यो तालको  गहिराइ ६५० मिटर छ ।

कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल अंग्रेजी अक्षर वाई आकारको छ । फोक्सुण्डो तालबाट निकास भएको पानीबाट बनेको झरना नामसुलिगाड झरना हो । सन् २००७ मा फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको छ ।

तालको दक्षिणी छेउमा रिंग्मो गाउँ छ । जुन गाँउमा पर्यटकको आतिथ्यताका लागि  होटल तथा लजहरू छन् ।

पूर्वाधारमा ध्यान दिन जरुरी

जितेन्द्र झाँक्री, कार्यसमिति सदस्य, टान

डोल्पाको फोक्सुण्डो ताल अहिले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।

सडक सञ्जालले छोएपनि अझै यहाँसम्म सीधा एउटै सवारी साधनमा पुग्न सकिंदैन । विभिन्न स्थानमा सवारी साधन परिवर्तन गरेर डोल्पाको सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता छ ।

विभिन्न स्थानमा पुल निर्माण नसकिंदासम्म अवस्था यस्तै रहिरहने देखिन्छ ।  अहिले जाजरकोट दुनै सडक ११७ किलोमिटर दूरीमा विभिन्न स्थानमा पुलहरू निर्माण भइरहेका छन् । यी पुल निर्माण पूरा नभएसम्म एउटै गाडीमा फोक्सुण्डो ताल पुग्ने सम्भावना छैन ।

फोक्सुण्डो मात्र नभएर डोल्पामा आन्तरिक पर्यटक बढ्नु सकारात्मक कुरा हो । तर पर्यटकलाई फोक्सुण्डो तालसम्म पुग्ने सहज सडक, सूचना प्रवाह, खानबस्नको उचित प्रबन्ध हुन जरुरी छ । यहाँका लागि हवाई उडान नियमित हुनु जरुरी छ ।

प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ, डोल्पा । तर, डोल्पाको सुन्दरताले जति ख्याति पाएको छ, त्यस अनुसार पर्यटक लान सकिएको छैन । म स्वयं डोल्पाको बासिन्दा हुँ । पर्यटन क्षेत्रमा लागेदेखि देशका विभिन्न स्थानमा पुगें ।  हाम्रो भूगोल तथा यहाँको सुन्दरता अनुसार जति आन्तरिक र बाह्य पर्यटक घुम्न जानुपर्ने हो त्यति जान सकेको पाइँदैन । यसमा विभिन्न समस्या छन्, प्रमुख समस्या भनेको नियमित हवाई तथा सहज सडक यातायात नहुनु हो ।

कसरी पुग्ने ?

डोल्पाको सदरमुकाम दुनैसम्म पुग्न केन्द्रीय सडकदेखि चार स्थानमा सवारी साधन परिवर्तन गर्नुपर्ने हुन्छ । मोटरसाइकलमा भने दुनैसम्म पुग्न सकिन्छ । सुर्खेतको छिन्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म  र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ ।

हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौंदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाई सेवा नियमित छ । जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि  फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

फोक्सुण्डो ताल नजिकै आराम गर्न बनाएको बेन्चमा बसेर फोटो खिचाउँदै
फोक्सुण्डो ताल नियाल्दै
फोक्सुण्डो ताल नियाल्दै
रिग्मो गाँउ । जुन फोक्सुण्डो ताल नजिकैको गाउँ हो । यो ताल हेर्न आउने पर्यटकहरूको बास बस्ने स्थान पनि हो ।
सुलीगाढ झरना हेरेर फोक्सुण्डो तालतर्फ जाँदै
दुनैदेखि ताल जाँदा बीच बाटोमा पर्ने काठको पुल । यो नदी फोक्सुण्डो तालबाट आएको पानी बग्ने नदी हो ।
डोल्पाको सदरमुकाम दुनैदेखि फोक्सुण्डो तालतर्फको यात्राको तयारीमा
शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र जानकारीका लागि राखिएको बोर्ड ।
डोल्पाको सदरमुकाम दुनै र फोक्सुण्डो ताल जाने स्थानमा बनाएको स्थान
शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र जानकारीका लागि राखिएको बोर्ड ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment