Comments Add Comment
स्थलगत रिपोर्ट :

प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट

अक्सिजन सिलिन्डर खोसाखोस, आईसीयूमै कुरुवा 

२० वैशाख, सुर्खेत । आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो ।

पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्‍यो ।’

उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, अब कसको सहारामा बाँचौ…?’

पछि थाहा भयो, उनीहरु आइतबार बिहान मात्रै मृत्यु भएका पञ्चपुरी–११ का ३३ वर्षीय युवकका आमा–बुवा रहेछन् । प्रदेश अस्पतालको आईसीयू वार्डको यो दृश्यले कोख खोसिँदाको पीडा मात्र बोलिरहेको थिएन, कर्णाली प्रदेशमा कोरोनाको संकट पनि प्रतिबिम्बित भइरहेको थियो ।

गम्भीर प्रकृतिका ३८ जना कोरोना संक्रमित राखिएको प्रदेश अस्पतालको आईसीयू वार्डमा आइतबार मात्रै तीनजना संक्रमितको मृत्यु भयो । पछिल्लो तीन दिन यता मात्रै सोही वार्डमा १५ जना संक्रमितले ज्यान गुमाए । तथ्यांकभन्दा डरलाग्दो दृश्य त अस्पतालको आईसीयू वार्ड र कोलियामा देखिन्थ्यो । अस्पतालको आईसीयू वार्डमा हरेक बेडमा एक/एकजना कुरुवा छन्, कोही अक्सिजनका सिलिण्डर गुडाइरहेका छन् त कोही संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका छन्  ।

कोरोनाबाट मृत्यु भएका युवकको शव

आईसीयू मनिटर र फ्यानको चर्को आवाज, अक्सिज सिलिण्डरको टाङटुङ्ग,  हपक्क गर्मी, संक्रमित र कुरुवाको अत्यासलाग्दो चीत्कार…। उकुसमुकुस छ प्रदेश अस्पतालको आईसीयू वार्ड ।

अस्पतालको आईसीयू वार्डमा रहेका सबै शय्या भरिभराउ छन् । कोलियामा समेत बेड राखेर बिरामीको उपचार भइरहेको छ । कतिपय बिरामी अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य प्रदेश अस्पतालमा देख्न सकिन्छ ।

‘संक्रमितको संख्या ह्वातै बढेको छ, भित्र ठाउँ नभएपछि कोलियामै राखेर भएपनि  उपचार गराइरहेका छौं, माथिको पुरानो भवन पुरै आईसीयू वार्ड बन्दै छ, त्यो सञ्चालनमा आएपछि सहज होला,’ आईसीयू इन्चार्ज सपना पहाडी विकले भनिन्, ‘यो हदसम्मको स्थिति आउला भन्ने त कल्पनै थिएन !’

२५ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा ३८ जना गम्भीर प्रकृतिका संक्रमित छन् । सबै संक्रमितले नर्स र डाक्टरको सेवा पाउने अवस्था छैन । न्यून जनशक्ति, धेरै बिरामी हुँदा उपचारमा हम्मेहम्मे हुने गरेका इन्चार्ज पहाडी बताउँछिन् ।

अस्पतालमा स्वास्थ्य जनशक्तिको अभाव भएकाले पनि धेरै संक्रमितको मृत्यु हुने गरेको स्थानीय युवा अगुवा अनिल ढकाल बताउँछन् । ‘स्थिति दिनहुँ जटिल बन्दै गएको छ, यस्तो अवस्थामा राज्यले जनशक्ति नथप्नु अपराधै गरेको हो,’ अस्पतालमा रहेका संक्रमितलाई काउन्सिलिङ्ग समेत गर्दै आएका ढकाल भन्छन् ।

आईसीयूमै कुरुवा 

कोरोना जस्तो जटिल संक्रमित राखिएको आईसीयूमा पनि बिरामीका कुरुवा छन् । कुरुवाहरूले सामान्य माक्स बाहेक अन्य स्वास्थ्य सुरक्षा मापदण्ड समेत अपनाएको देखिँदैन । ‘तपाईंलाई अचम्म लाग्ला तर यो कर्णाली प्रदेश अस्पतालको यथार्थ हो यो,’ आईसीयूमा कार्यरत एक चिकित्सक भन्छन्, ‘परीक्षण गर्ने हो भने सबैजसो संक्रमित भइसके होलान् ।’

जनशक्ति कम हुँदा एकजना कुरुवा पनि रहने व्यवस्था गरिएको आईसीयूमा कार्यरत जीवन शाहीले बताए । ‘बिरामीको औषधिदेखि सामान्य रेखदेखका लागि पनि कुरुवा अनिवार्य छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै पठाउने गरिएको छ ।’

अक्सिजन सिलिन्डर खोसाखोस

शनिबार साँझ प्रदेश अस्पतालमा बिरामीहरूका आफन्तले सिलिन्डर तानातान गरिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भयो । आइतबार दिउँसो दृश्य पनि उस्तै थियो । यसबाटै सहज अनुमान गर्न सकिन्छ कि  अस्पतालमा अक्सिजनको चरम अभाव छ ।

‘अक्सिजनको अभाव छ, बेला–बेला आउँछ, तर चाहिएकै बेला पाइँदैन,’ कोभिड अस्पताल अगाडि सिलिन्डर गुडाउँदै गरेका एकजना कुरुवाले भने, ‘त्यसैले, पाइएका बेला आफन्त बचाउनकै लागि खोसाखोस गर्नुपर्छ, यो हाम्रो रहर हैन सर, बाध्यता हो,’ उनले भने ।

अक्सिजनका लागि कर्णालीले छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्जको मुख ताक्नुपर्ने बाध्यता छ । यसअघि, प्रदेश सरकारले दैनिक १५० सिलिन्डर आपूर्तिको व्यवस्था मिलाएको प्रदेश सरकारकी प्रवक्ता एवम् मन्त्री विमला केसीले बताएकी थिइन् । तर, पछिल्ला दिनहरुमा संक्रमित दर बढ्दै जाँदा सो संख्या अपुग भएको पाइन्छ । प्रदेशभर ४ सय ठूला अक्सिजन सिलिन्डर रहेको दावी प्रदेश सरकारले गरेको थियो । तर, प्रदेश अस्पतालमै अभाव देखिन थालेको छ ।

‘हामीलाई दैनिक डेढदेखि २ सयसम्म अक्सिजन सिलिन्डर आवश्यक पर्छ, । तर, हामीकहाँ १०० सिलिन्डर मात्र दैनिक नेपालगञ्जदेखि आउने गरेको छ,’ अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने ।

समयमै अक्सिजन नआउँदा तानातान हुने अवस्था आएको डा. पौडेलले बताए । ‘गम्भीर बिरामीहरुलाई त दैनिक २ देखि ४ वटासम्म सिलिन्डर अक्सिजन चाहिन्छ’ उनले भने ‘बिरामीको तुलनामा आपूर्ति निकै न्यून हो ।’

अस्पतालमा संक्रमित बाहेकका बिरामीलाई पनि दैनिक ५ देखि १० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर बिरामी अनुपातमा आपूर्ति न्यून छ । ‘अब थप बिरामी भर्ना लिन सक्ने अवस्था छैन,’ उनले भने ।

कोभिड अस्पताल पुरानो भवनमा सारिएको छ, अब सहज हुन्छ : मेसु खड्का

‘कोभिड विशेष अस्पताल’लाई उत्तरतर्फको पुरानो भवनमा सारिएको र अब थप सहज हुने अस्पतालका मेसु डा. डम्बर खड्काले बताए । सो भवनमा सय जना कोरोनाका बिरामीको उपचार गर्न सकिने उनले बताए ।

मेसु खड्काले भने ‘१० जना गम्भीर बिरामी बाहेक अक्सिजन प्रयोग गरिरहेका अन्य बिरामीहरुलाई सार्ने काम शुरु भएको छ ।’

मेसु खड्काका अनुसार पुरानो भवनमा अक्सिजन प्लान्ट मार्फत बेडमै पाइपलाइन जोडिएको छ । उक्त प्लान्टबाट दैनिक ८ देखि १० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुन्छ । तर, नियमित बत्ती आए ५० बेडसम्मका लागि अक्सिजन अभाव हुनेछैन ।

हाल ३५ शैय्याको ‘कोभिड विशेष अस्पताल’लाई पुरानो भवनबाट १०० शैय्या सञ्चालन गर्न सकिने मेसु खड्का बताउँछन् । ‘अझ थप जटिल स्थिति आयो भने १५० शैय्या नै चलाउन पनि सकिन्छ, त्यसका लागि सरकारले विशेष सहयोग गर्नुपर्छ, जहाँसम्म लाग्छ अब थप सहज हुन्छ,’ उनले भने ।

कर्णाली प्रदेश सरकारले विकास बजेटबाट रकमान्तर गरेर प्रदेश अस्पताललाई २२ करोड रूपैयाँ पठाएको छ । सोही बजेटबाट संक्रमितको उपचारका लागि बेड थप्न लागिएको अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment