Comments Add Comment

कोशी अस्पतालमा बढ्न थाल्यो लाइन, डाक्टर भन्छन्-‘धान्ने अवस्था देखिंदैन’

२० वैशाख, विराटनगर । कोरोना महामारीको पहिलो फेजमा गत वर्ष ‘भुल्के मोडल’ सिकाएको प्रदेश १ ले दोस्रो लहरको शुरुवाती अवस्थामा चासो दिएन । प्रदेश र स्थानीय सरकारले चासो नदिंदा संक्रमणको अवस्था भयावह बन्दैछ । संक्रमणदर बढेको विराटनगरमा आइतबार मात्रै दुई सय जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

संक्रमणदर उच्च भएकाले गत वर्ष निर्माण गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रले बिरामी धान्ने अवस्था छैन । कोरोनाको पहिलो फेजमा संक्रमितको उपचार र जनशक्ति व्यवस्थापनमा उदाहरणीय काम गरेको कोशी अस्पताल दोस्रो लहरमा के गर्दैछ ?

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा. चुमनलाल दास भन्छन्, ‘हामीले तयारी गरेका छौं, तर धान्ने अवस्था देखिंदैन ।’

डा. दासका अनुसार अस्पतालले दैनिक सेड्युलबाहेक चिकित्सकलाई प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अस्पतालकै आइसोलेसनमा परिचालन गरिएको छ । संक्रमणदर उच्च भएकाले अवस्था जटिल बनेको उनले बताए । ‘अहिलेको  तयारीले पुग्दैन,’ डा. दास भन्छन्, ‘संक्रमण दर हेर्दा अवस्था जटिल छ, कोशी अस्पतालकै अन्य वार्डमा संक्रमितको उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’

उनका अनुसार संक्रमण देखिएकामध्ये १० प्रतिशतलाई गाह्रो बनाएको देखिन्छ । ५ प्रतिशत अस्पाल भर्ना गर्नुपर्ने खालका छन् । ‘पाँच प्रतिशत मात्रै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ, ती गम्भीर हुन सक्छन्,’ डाक्टर दास भन्छन्, ‘अबको उपचारको टार्गेट गम्भीर प्रकृतिका पाँच प्रतिशतमा हुनुपर्छ, सामान्य लक्षण देखिएकालाई घरमै उपचार गराउनुपर्छ ।’

नेशनल ट्रेडिङको भवनमा ८० र गोदाममा ९६ बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा छ । नोबेल मेडिकल कलेजले ११० र विराट मेडिकल कलेजले १२० बेडको उपचार केन्द्र सञ्चालन गरेका छन् ।

त्यसबाहेक कोशी अस्पतालको मेडिकल वार्डको ५० बेड संक्रमितको उपचारका लागि छुट्याउने तयारी रहेको उनले बताए । ‘मेडिकल वार्डमा अक्सिजन पाइपलाइन पुगेको छ, अवस्था अनुसार भोलि यहाँ पनि संक्रमितलाई राख्न सकिन्छ,’ डा. दास भन्छन्, ‘हामी तयारी गरिरहेका छौं ।’

पीसीआर गर्नेको लाइन 

कोशी अस्पतालमा चैत महिनासम्म पीसीआर जाँच गर्नेको संख्या कम थियो । चैतमा जम्मा ४२ जनाको रिपोर्ट पोजेटिभ देखियो । तर वैशाखमा भने पीसीआर जाँच गर्ने र पोजेटिभ देखिनेको संख्या बढ्दो छ । वैशाखको दुई सातामा कोशीमा ७२७ जनाको पीसीआर गर्दा ३७७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ‘पीसीआर गर्नेमध्ये सरदर ५२ प्रतिशतको रिपोर्ट पोजेटिभ देखिन्छ,’ डा. दास भन्छन्, ‘यसले भयावह अवस्था देखाउँछ ।’

विराटनगर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेपछि यो संख्या झन् बढ्नेछ । ‘आफैं अस्प्ताल आएर जाँच गर्नेको आधाभन्दा बढीमा पोजेटिभ रिपोर्ट छ,’ उनले भने, ‘महानगरले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा यो संख्या झन् बढ्छ ।’

पीसीआर जाँच गर्न जानेको लाइन दैनिक बढ्दो छ । स्वाब संकलनमा सतर्कता नअपनाइएका कारण अस्पतालको स्वाब संकलन केन्द्रबाटै संक्रमण फैलिने जोखिमसमेत बढेको छ ।

इमर्जेन्सी साँघुरो, बेड पाउन मुस्किल

कोशी अस्पतालको इमर्जेन्सी कक्ष साँघुरो छ । इमर्जेन्सी साँघुरो भएका कारण जोखिममा एउटै बेडमा दुई जनासम्म बिरामी राख्नुपर्ने अवस्था रहेको मेसु दास बताउँछन् ।

‘जम्मा १० बेडको इमर्जेन्सी छ, बिरामी बढ्दा समस्या हुन्छ,’ डा. दास भन्छन्, ‘जोखिममा म्यानेज गर्दैछौं ।’ इमर्जेन्सीमा आउने बिरामीलाई सकेसम्म चाँडो मेडिकल वार्डमा सारेर उपचार गरिने उनले बताए ।

इमर्जेन्सीमा आउने शंकास्पद बिरामीलाई भने आइसोलेसन कक्षमा राखिने उनले बताए । ‘आइसोलेसन कक्षामा १० बेड छन्, उपचारका लागि छुट्टै टिम परिचालित छ,’ डा. दास भन्छन्, ‘आइसोलेसनमा कोरोना जाँच गर्दा पोजेटिभ देखिए कोशी कोभिड पठाउछौं, नेगेटिभ आए वार्डमा सारेर उपचार बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment