Comments Add Comment

केही मीठा कुरा गरौं

प्रख्यात समालोचक एवं नाटककार अस्कर वाइल्ड भन्छन्, ‘कुनै पनि कुराका बारेमा चुप लागेर बस्नुभन्दा त्यसका बारेमा कुरा गर्नु उत्तम हो ।’

कुराकानीले एकअर्कालाई बुझ्न सहज बनाउँछ । एकअर्काको भावना जान्न मद्दत गर्छ । त्यती मात्र होइन, कुराकानीका क्रममा हामी आफुलाई लागेको र जानेको कुरा खुलेर भन्ने गर्छौं । यसले गर्दा एकअर्कामा नयाँ नयाँ कुराबारे जानकारी पनि प्राप्त हुन्छ ।

चाहे दम्पतीबीच होस् वा छोराछोरीसँग वा छरछिमेकसँग होस् वा साथीभाईसँग कुनैपनि विषयमा कुराकानी गर्दा धेरै कुरा जान्न, बुझ्न सकिन्छ । तर, कस्तो कुराकानी ?

कतिपय अवस्थमा हामी व्यर्थ कुराकानी गरिरहेका हुन्र्छौं । अरुको चियोचर्चा गर्छौं । यसले हामीमा खराब मनोवृत्ति बढाउँछ । क्षणिक रमाइलोका लागि गरिने निरर्थक कुराकानीले समय नष्ट गर्छ । त्यसैले सकेसम्म हामीले त्यस्ता कुराकानी गर्न उचित हुन्छ, जसले कुनै न कुनै रुपमा एउटा निचोड दिन्छ ।

सामान्यत कुराकानी गर्नु भनेको एकअर्कामा सूचना आदनप्रदान गर्नु पनि हो । कुराकानीको सिलसिलामा हामी एकअर्काले बुझेका ताजा जानकारीहरु सुनाउँछौं । नयाँ नयाँ घटनाक्रमबारे चर्चा गर्छौं । यसले गर्दा हामीलाई नयाँ कुरा जान्न सहज हुन्छ ।

कुराकानी गर्नु भनेको सम्बन्धलाई सुमधुर राख्नु वा ताजा गराइरहनु पनि हो । आफन्त, इष्टमित्र, साथीभाई, छिमेकी आदिसँग कुराकानी गरिरहँदा एक किसिमको सौहाद्र्धपूर्ण सम्बन्ध पनि कायम रहन्छ । कहिले काही यस्ता कुराकानीले आफ्नो समस्याको गाँठो फुकाइदिन्छ ।

कुराकानी गर्दा कहिल्यै पनि कुन जातको हो, कुन धर्म मान्छ, कुन ठाउँबाट आएको हो जस्ता कुराहरुलाई ध्यान दिने गरिदैन । न त साम्प्रदायिकताको बन्धनमा नै बाँधिएको हुन्छ । हरेक जात धर्मका मानिस साथ बसेर कुराकानी गर्छन् । जसले समाजलाई एकताको अनुभव गराउँछ । यसले समाज मात्र नभएर देशको नै एकता र अखण्डतालाई सार्थकता र स्थायित्व प्राप्त हुन्छ ।

कुराकानीले व्यक्तित्वमा पनि विकास हुन्छ । अरुको व्यक्तित्वबाट प्रभावित भएर तपाईं स्वयंमा पनि बदलाव आउने गर्दछ । जब तपाईं अरुसंग कुराकानी गर्नु हुन्छ, अरुको बारेमा धेरै कुरा थाहा पाउनु हुन्छ र पनि आफ्ना कमजोरीहरु हटाएर राम्रा कुराहरु सिक्न थाल्नु हुन्छ ।

कुराकानीको क्रममा को मानिसले के खान्छ, के लगाउँछदेखि उसको हरेक कुराहरुको बारेमा पनि थाहा हुन्छ, जसले तपाईलाई धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । कुन लुगा तपाईलाई सुहाउँछ, अहिले कस्तो फेसन चलेको छ, आफ्ना बालबालिकाको पार्टीवेयर कस्तो हुनु पर्छ जस्ता कुराहरु पनि कुराकानीको माध्यमबाट सिक्न सकिन्छ ।

कुराकानीले आफुले नजानेको धेरै कुराका बारेमा जानकारी दिएर तपाईको घरपरिवारलाई सजाउने सिंगार्ने कलामा निखार ल्याउँछ । त्यस्तै बाहिरी मानिससंग कसरी बोल्ने र व्यवहार गर्ने पनि कुराकानीको माध्यमबाट थाहा पाउन सकिन्छ ।

कुराकानीबाट ज्ञान पनि बढ्छ । गृहिणीहरुलाई कति कुराहरुको बारेमा थाहा हुँदैन र उनीहरु आफ्ना श्रीमान्संग समेत ती कुराहरुको बारेमा सोध्न हिच्किचाउने गर्दछन् । जसमध्ये यौनसम्बन्धको कुरा प्रमुख हो । वास्तवमा यौनका कुराहरु खुलेर गर्न नपाउँदा र त्यसको थोरै पनि ज्ञान नहुँदा ठुलो समस्या झेल्नु पर्छ ।

समाजमा हुने कतिपय परिवर्तनहरु कुराकानीकै माध्यमबाट भैरहेका हुन्छन् । जस्तो टोल सफाई, बाटो बनाउने जस्ता अनेक कुराको प्रसंग तथा समाधान पनि कुराकानीबाटै हुन्छ । समाजमा गलत र सहि कुराको ज्ञान पनि कुराकानीबाट नै प्राप्त हुन्छ । समाजमा कुराकानीको क्रममा कति व्यवहारिक पक्षहरु पनि अवलम्बन हुन पुग्छ ।

कुराकानी गर्दा अरुको सम्मानमा आँच आउने प्रकारको कुरा गर्नु हुँदैन । अनावश्यक र असत्य हावा गफले मानिसलाई दुःख र समस्यामा पार्न सक्छ । कुरा गर्दा यो कुरालाई सधै ध्यान दिनु पर्छ । झुठो र असत्य कुराले सहि मान्छेलाई आहत पुग्ने गर्छ । अरुको नराम्रँ र असत्य कुरा गर्नेले आफ्नो बारेमा पनि यस्तै कुरा गर्न सक्छ भन्ने कुरा बिर्सन हुँदैन ।

जब दुई व्यक्तिबीच कुनै पनि कुराकानी हुन्छ, त्यो कुरा तेस्रोसम्म पुग्दा–पुग्दै तीलको पहाड बनिसकेको हुन्छ । त्यसकारण कुनै पनि कुरालाई जाँच नगरी यकिन गर्नु हुँदैन । कुराको जरासम्म पुग्ने प्रयास गर्नुपर्छ । श्रोतको विश्वसनियतालाई मूल्यांकन गर्नुपर्छ । धेरैसजो व्यक्तिहरु तपाईंको राम्रो सम्बन्ध नचाहने हुन सक्छन् । त्यसकारण एक–अर्काबीच फाटो ल्याएर आफ्नो फाइदा लिनेहरु धेरै हुन्छन्, उनीहरुसंग सचेत रहनुपर्छ ।

कुराकानी गर्ने क्रममा कहिलेकाहिं नयाँ नयाँ रहस्यहरु पनि खुल्ने गर्छन् । कसैको पनि निजी कुरालाई अरुसंग शेयर गर्नु मर्यादा विपरीत हो । आफ्नो साथीको रहस्य खोल्ने गल्ती गर्नु हुँदैन । विश्वसनियतालाई सदैव कायम राख्नुपर्छ ।

कुराकानी गर्दा सधैं सकारात्मक सोच राख्नुपर्छ । कसैको पिठ्युँ पछाडि उसको कुरा काट्ने गर्नु हुँदैन । अरुको निन्दा दोषबाट मुक्त रहन जान्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment