Comments Add Comment

रुपन्देहीका कोभिड अस्पतालमा अक्सिजन अभाव

२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर मात्र आपूर्ति भइरहेकाले समस्या भएको हो ।

‘संक्रमित ह्वात्तै बढेपछि माग र खपत बढ्यो तर आपूर्ति बढ्न सकेन,’ खनालले भने, ‘सरकारले तत्काल आवश्यकता अनुसार अक्सिजन उपलब्ध हुने वातावरण नगराउने हो भने संक्रमितको उपचारमा भयावह समस्या अवस्था आउँछ ।’ पछिल्लो भेरियन्टका संक्रमितमध्ये धेरैलाई अक्सिजन सपोर्ट चाहिने भएकाले जताततै माग बढेकाले अभाव भएको उनले औंल्याए ।

रुपन्देहीमा एकै दिनमा झण्डै ६ सय नयां संक्रमित थपिन थालेका छन् । भारतबाट आयात रोकिएको र नेपालका अक्सिजन उद्योगको उत्पादन क्षमताले नभ्याएकाले यस्तो समस्या आएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए । अक्सिजनको अभाव हुने आंकलन गरेर आफूले प्रमुख जिल्ला अधिकारीलाई केही दिन पहिले नै पर्याप्त आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरे पनि हुन नसकेको उनले गुनासो गरे ।

कोरोना विशेष अस्पतालमा मात्रै ५० थान, प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १० र इमर्जेन्सीमा ५० थान सिलिण्डिर अक्सिजन खपत भइरहेको डा. खनाल बताउँछन् । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेकाले अक्सिजनको माग र खपत अझै बढ्ने भएकाले सरकार यसमा गम्भीर बन्नुपर्ने डा. खनालको आग्रह छ ।

हाल कोरोना अस्पतालको आईसीयूमा १५, एचडीयूमा ३२ जना र फिबर क्लिनिकमा ७ जना संक्रमित उपचाररत रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा जस्तै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा पनि अक्सिजन सिलिण्डर अभाव भएको छ । अस्पतालले कम्तीमा पनि दैनिक ८ सय थान अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । अक्सिजन अभावमा अस्पतालले तयारी अवस्थामा रहेको ६० वेडको एच.डी.यु. समेत सञ्चालन गर्न नसकेको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

अस्पतालमा सामान्य अवस्थामा १२५ वटा अक्सिजन सिलिण्डर खपत भइरहेको अवस्थामा कोरोना संक्रमण बढेपछि १ सय वेडको कोभिड आई.सी.यु. सहित अन्य गम्भिर प्रकृतिका विरामीहरु समेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन ५ सय अक्सिजन सिलिण्डर खपत भइरहेको गुरुङले बताए ।

‘बेड बरु आवश्यकता अनुसार थपेर संक्रमितलाई राख्न सक्छौं तर अक्सिजन नभए कसरी उपचार गर्ने ?’ गुरुङले भने । बुधबारसम्म रुपन्देहीमा ४ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा १ सय ६४ जना लक्षणसहितका संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment