Comments Add Comment

भारतमा कहिले सकिएला कोरोना खोप अभियान ?

२३ वैशाख, काठमाडौं । भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

भारत यतिबेला कोरोनाको भयावह अवस्थाको सामना गरिरहेको छ । कोरोनाको यो कहर रोकिने आशा अब केवल खोप अभियानमा अडिएको छ । भारत सरकारले १८ वर्षभन्दा बढी उमेर समूहका सबै नागरिकलाई खोप लगाउने अनुमति दिइसकेको छ । यद्यपि अहिलेको अवस्थामा धेरै मानिसले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् ।

गत अप्रिल २० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ बाट १८ वर्षभन्दा बढी उमेरका सबै नागरिकलाई खोप लगाउन शुरु गरिने घोषणा गरेका थिए । दोस्रो लहरको सामना गरिरहेको भारतलाई प्रधानमन्त्रीको यो घोषणा एक प्रकारको राहत थियो ।

मे महिना शुरु हुँदा पनि भारतमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने पर्याप्त तयारी पूरा भएन । ३० अप्रिलमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आवश्यक खोप उपलब्ध नभएको भन्दै नागरिकहरुलाई अस्पतालबाहिर खोप लगाउने लाइनमा नबस्न आग्रह गरे ।

दिल्लीको सरकार कोरोना खोप किन्न नसक्ने अवस्थामा थियो तर ३० अप्रिलको साँझ दिल्लीका केही प्रमुख निजी अस्पतालले भने आफूहरूलाई थप खोप प्राप्त भएको र मे १ देखि १८ वर्षमाथिका नागरिकमा खोप अभियान शुरु गर्ने बताएका थिए ।

१८ देखि ४४ वर्ष उमेर समूहका मानिसको संख्या करिब ६२ करोड छ । उनीहरुलाई एक अर्ब २८ करोड डोज खोप चाहिन्छ । १८ वर्षभन्दा कम उमेरका मानिसलाई छाड्ने हो भने भारतमा १ अर्ब ६ करोड मानिस छन् । सबैलाई सन् २०२१ भित्रै खोप लगाउने लक्ष्य राख्ने हो भने भारतले दैनिक ५४ लाख डोज खोप लगाउनुपर्ने हुन्छ ।

१ मे को दिन दिल्लीका प्रमुख निजी अस्पतालबाहिर कोरोना खोप लगाउन निकै लामो लाइन लागेको थियो । त्यो दिनभर खोप लगाउँदा मुलुकभर केवल ८४ हजार ५९९ मानिसले मात्र कोरोना खोप लगाएका थिए । भारतका धेरै राज्य र केन्द्र सरकारले पनि आफूहरूसँग १८ वर्षमाथिका सबै मानिसलाई लगाउन पर्याप्त खोप नरहेको बताइसकेका छन् ।

भारतले उपलब्ध गराए पनि प्लेटफर्ममा कोरोना खोप लगाउन दर्ता गरिसकेपछि १८ देखि ४४ वर्ष उमेर समूहका मानिसले खोप लगाउन पाएका छैनन् । निजी अस्पतालहरूले कोरोना खोप लगाउन मानिसहरूसँग ९०० देखि १ हजार २५० भारुसम्म लिइरहेका छन् । यद्यपि खोपको अभावको कारण निजी अस्पतालमा पनि पर्याप्त संख्यामा खोप लगाउन सकिएको छैन ।

भारतका चर्चित मुटु रोग विशेषज्ञ नरेश त्रेहन खोप अभियानको विषयमा खुला बजारको नीति अपनाउनु सही नभएको बताउँछन् । उनी भन्छन्, ‘मूल्य तोकेर सरकारले खोप किन्यो र निजी अस्पतालले सरकारसँग खोप किने । मानिसहरूले खुला बजारको कारण आफ्नो चिनजानको आधारमा वा पैसा तिरेर वा अन्य कुनै पनि माध्यमबाट खोप खरिद गरे । यो गलत हो ।’

त्रेहनका अनुसार निजी र सरकारी मूल्य फरक हुनु न्यायसंगत होइन ।

कति खोप आवश्यक पर्छ ?

भारतमा अहिलेसम्म ४५ वर्षभन्दा बढी उमेरका मानिसलाई १६ करोड डोज खोप दिइसकिएको छ । तर, यो श्रेणीमा आउने ४४ करोड मानिसहरूलाई अझै ७२ करोड डोज खोप लगाउन बाँकी छ । किनकि ४४ करोड मानिसलाई ८८ करोड डोज चाहिन्छ ।

१८ देखि ४४ वर्ष उमेर समूहका मानिसको संख्या करिब ६२ करोड छ । उनीहरुलाई एक अर्ब २८ करोड डोज खोप चाहिन्छ । १८ वर्षभन्दा कम उमेरका मानिसलाई छाड्ने हो भने भारतमा १ अर्ब ६ करोड मानिस छन् । सबैलाई सन् २०२१ भित्रै खोप लगाउने लक्ष्य राख्ने हो भने भारतले अब दैनिक ५४ लाख डोज खोप लगाउनुपर्ने हुन्छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने भारतमा दैनिक औसतमा २० देखि २५ लाख डोज खोप मात्र लगाइँदै आएको छ । शनिबार–आइतबार यो संख्या अझै कम हुने गरेको छ । उदाहरणको लागि मे २ को तथ्यांक हेर्ने हो भने यो दिनमा केवल १२ लाख १० हजार डोज खोप लगाइएको थियो । सातामा शनिबार र आइतबार खोप लगाउनेको संख्या अन्य सातामा पनि कम देखिंदै आएको छ ।

यदि ७० प्रतिशत मानिसले खोप लगाउँदा मात्र पनि हर्ड इम्युनिटीको विकास हुन्छ र संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्दा पनि कम्तीमा ७४ करोड मानिसलाई कोरोना खोप दिनुपर्ने हुन्छ । त्यसका लागि दैनिक ४० लाख डोज खोप दिनुपर्छ । यो हिसाबमा प्रत्येक महिना १२ करोड डोज कोरोना खोप आवश्यक पर्छ ।

कसरी चल्दैछ खोप अभियान ?

भारतमा जनवरीमा खोप अभियान शुरु भएर मे ४ सम्मको बीचमा १५ करोड ८९ लाख डोज कोरोना खोप मानिसलाई दिइएको थियो । जसमा १२ करोड ९२ लाख डोज पहिलो डोज थियो भने २ करोड ९७ लाख दोस्रो डोजको खोप दिइएको थियो ।

धेरै राज्यमा पहिलो डोज लगाइसकेका मानिसले अहिले दोस्रो डोजको प्रतीक्षा गरिरहेका छन् । तर, खोप अभावको कारण दोस्रो डोजको खोप लगाउनमा पनि ढिलाइ भइरहेको छ ।

डा. नरेश त्रेहन खोप वितरणको प्रणाली थप अस्तव्यस्त बनाइएको बताउँछन् । निजी कम्पनीलाई पनि खोप दिने व्यवस्था गर्नाले खोप वितरण अस्तव्यस्त बन्न पुगेको उनको भनाइ छ । उनका अनुसार यस किसिमको व्यवस्था गर्दा सरकारको बोझ कम भएपनि पहिलो डोज खोप लिएर दोस्रो डोज लगाउन नपाउनेको संख्या बढ्न थालेको छ । यो समस्याको सामधान निकाल्नु निकै जरुरी रहेको उनको भनाइ छ ।

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा कोरोना खोपको कमी नभएको बताएका थिए । भारत सरकारका अनुसार मे ३ सम्ममा सेरम इन्स्टिच्युटलाई दिइएको १० करोडको अर्डरमध्ये ८ करोड ७४ लाख डोज खोप प्राप्त भएको छ । भारत बायोटेकलाई दिइएको दुई करोड डोजमध्येको ८८ लाख १३ हजार डोज खोप प्राप्त भएको छ ।

निजी कम्पनीलाई पनि खोप दिने व्यवस्था गर्नाले खोप वितरण अस्तव्यस्त बन्न पुगेको छ । यो व्यवस्थाले सरकारको बोझ त कम भएको छ, तर पहिलो डोज खोप लिएर दोस्रो डोज लगाउन नपाउनेको संख्या पनि बढ्न थालेको छ ।

सरकारले मे, जुन र जुलाईको लागि ११ करोड कोभिशिल्ड र पाँच करोड कोभ्याक्सिन खोप खरिदको अर्डर दिएको छ । यदि यो तीन महिनामा केन्द्र सरकारले राज्यलाई १६ करोड खोप उपलब्ध गराउँछ भनेर मान्ने हो भने पनि राज्य सरकार र निजी क्षेत्रले उक्त तीन महिनामा २० करोड डोज खोपको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यो संख्यामा खोप व्यवस्थापन नगर्ने हो भने प्रत्येक दिन ४० लाख डोज, प्रत्येक महिना १२ करोड खोप वा अबको तीन महिनामा ३६ करोड डोज खोप लगाउने लक्ष्य हासिल गर्न सकिंदैन ।

रणनीति परिवर्तन गर्नु जरुरी छ ?

एक आँकलनअनुसार सेरम इन्स्टिच्युट र भारत बायोटेकले मे महिनामा समग्रमा नौ करोड डोज खोप बनाउन सक्छन् । जसको ५० प्रतिशत सरकारलाई र बाँकी राज्य सरकार र निजी अस्पतालले खरिद गर्नेछन् । सेरम इन्स्टिच्युटले सरकारलाई प्रतिडोज १५० भारुमा खोप बिक्री गर्छ ।

तर, केन्द्र सरकारले भने अन्य सरकार र निजी अस्पताललाई महँगोमा खोप बिक्री गर्न दिने निर्णय गरेको छ । जसअनुसार सेरम इन्स्टिच्युटले राज्य सरकारलाई तीन सय र निजी अस्पताललाई ६ सय भारुमा प्रतिडोजको दरले खोप बिक्री गरिरहेको छ ।

भारत बायोटेकले राज्य सरकारलाई चारसय र निजी अस्पताललाई १२ सय भारु प्रतिडोजको दरले खोप बिक्री गरिरहेको छ ।

डा. त्रेहन अझै पनि खोपको लक्ष्य प्राप्त गर्ने मामिलामा ढिला नभइसकेको बताउँछन् । सरकारले स्पष्ट नीति नलिएका कारण अहिले धेरै मानिस निराश भएको त्रेहनको भनाइ छ ।

दोस्रो लहरको संक्रमण तीव्र भएसँगै भारतका अस्पतालहरुमा अक्सिजन तथा बेडको अभाव बढ्दो छ । यस्तो अवस्थामा मानिसहरुमा कोरोना खोपले संक्रमणमा कमी ल्याउन सक्ने आशा मात्र बाँकी छ ।

तर, जुन गतिमा अहिले भारतको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ त्यो गति हेर्दा आम नागरिकसँग खोपको लागि अझै लामो समय प्रतीक्षा गर्नुको विकल्प देखिंदैन ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment