
२३ वैशाख, काठमाडौं । उदयपुरमा शुक्रबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । वैशाख २४ गते राती १२ बजेदेखि वैशाख ३१ मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको संक्रमण उदयपुर जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ। त्यसकारण वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते मध्य राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेका छौं । बिना काम बाहिर लखर लखर डुल्नेलाई संक्रामक ऐन अनुसार कडा कारबाही तथा मुद्दा चलाउँछौं। ‘
उनका अनुसार अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी वा भोज लगायत भिडभाड हुने कार्यक्रम गर्न पाइनेछैन ।
यस्तै अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, पशुपंक्षी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, बैंक तथा वित्तीय संस्था, रेडक्रस, दूर सञ्चार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवा लगायतका सावरी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाउने छन् भने अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सबै यात्रुबाहक तथा दुइ पाङ्ग्रे सवारी साधनहरु पूर्ण रुपमा रोक लगाइएको उनले बताए ।
यस्तै पसल व्यवसाय, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोगसरी कक्ष मात्र प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने उनले बताए ।
त्यस्तै उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था जस्ता सार्वजनिक निकायमा काम गर्ने कर्मचारी कामदारहरुले परिचय पत्रसहित आवत जावत गर्न दिने, उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारी, कामदारहरुलाई उद्योग प्रतिष्ठान परिसरमै क्वारेन्टिन राखी उत्पादन कार्यमा लगाउनुपर्ने उनको भनाइ छ ।
यस्तै विवाहको हकमा भने बढीमा १० जनासम्म जन्ती आउन-आउन दुलहा-दुलहीसहित २ वटा सवारी साधनमा ५/५ जनासम्म विवाहको ब्यानर राखेर जान पाउने प्रमुख जिल्ला अधिकारी सेडाईले बताए ।
यस्तै मृत्यु संस्कार, विरामी कुरूवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले यस जिल्लाभर वा अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्तिले व्यहोरा खुल्ने कागजात(निवेदन, अस्पतालको कागजात वा सम्न्धित स्थानीय निकाय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिर्नु पर्ने उनले बताए ।
यस्तै उनले सञ्चारकर्मी/पत्रकारको हकमा सूचना विभागले जारी गरेको पास वा सम्बन्धित सञ्चारगृह वा पत्रकार महासंघको परिचयपत्र बोकेको आधारमा आवत-जावत गर्न दिइने बताए ।
भारत तथा अन्य जिल्लाबाट आउनेलाई स्थानीय तहको अनुगमनमा १० दिन अनिवार्य रूपमा होम आइशोलेशनमा बस्नु पर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।
प्रतिक्रिया 4