Comments Add Comment

विराटनगरमा बेड अभाव: अस्पताल बाहिर बिरामी कुरेको कुर्‍यै, डाक्टर भेट्नै गाह्रो

२८ वैशाख, विराटनगर । विराटनगर महानगरपालिका–९ का राम शर्माकी आमालाई बिहीबार कोरोना पोजेटिभ देखियो । सिकिस्त बनेकी आमालाई लिएर उनी सोमबार बिहान विराट मेडिकल कलेज पुगे ।

चिकित्सकले बिरामीको अवस्था हेरेपछि मात्रै भर्ना गर्ने बताएपछि उनी आमालाई अस्पताल परिसरमा राखिएको बेञ्चमा राखेर डाक्टर कुर्न थाले । असहज भएपछि आमा बेञ्चमै सुतिन् । साढे ११ बजे अस्पताल पुगेका उनकी आमालाई हेर्न दिउँसो साढे २ बजेसम्म चिकित्सक पुगेका थिएनन् । उनले फोन गरे । फोन गर्दा डाक्टरले चाँडै आउने प्रतिक्रिया दिए । ‘डाक्टरलाई देखाउँछौं, भर्ना गर्नुपर्छ भन्यो भने भर्ना गर्ने,’ उनले भने, ‘यहाँ बेड पनि छैन भन्दैछन् ।’

नोबेल मेडिकल कलेजको इमरजेन्सी अगाडि कोरोना सङ्क्रमित पुरुष स्टेचरमा घोप्टो परेर बसिरहेका सुतिरहेका छन् । विराटनगरकै उनलाई छोराले स्वास्थ्य जाँचका लागि लिएर गएका थिए ।

अवस्था गम्भीर भए पनि घर फर्काउनका लागि उनीहरु एम्बुलेन्सको प्रतिक्षामा थिए । ‘चेकजाँच गर्न ल्याएका थियौं, घर लैजान एम्बुलेन्स पर्खदैछौं,’ विरामीको अगाडि उभिएका युवकले भने, ‘यहाँ राख्न पनि बेड छैन भन्छन् ।’

नोबेलको इमरजेन्सी भित्र पनि तीन जना कोरोना संक्रमित बेड पाउने आशमा पर्खिएर बसेका थिए । आइसियूमा राखेर उपचार गर्नुपर्ने विरामी आइतबारदेखि इमरजेन्सीमा ‘वेटिङ’मा छन् । तर उनीहरुले बेड कहिले पाउँछन् भन्ने टुङ्गो थिएन ।

‘अस्पतालका सबै बेड प्याक छन्, भर्ना गर्ने ठाउँ छैन,’ अस्पताल डाइरेक्टर डाक्टर राजेश नेपाल भन्छन्, ‘२२२ बेड भरिएका छन्, नयाँ संक्रमितलाई राख्ने अवस्था छैन ।’ अस्पतालबाट फर्काइएका संक्रमितको पनि जाने ठाउँ नभएको उनले बताए । उनले भने, ‘सबै अस्पताल प्याक छन् ।’

विराटनगरमा अन्य अस्पतालले संक्रमितको उपचार सुरु नगर्दा समस्या आएको उनको भनाइ छ । ‘प्रदेश सरकारलाई एक सय बेडसम्मका अस्पताललाई निर्देशन दिने अधिकार छ’ उनले भने, ‘सरकारले निजी अस्पतालहरुलाई उपचार सुरु गर्न लगाए यस्तो लोड पर्ने थिएन ।’

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । अस्पतालबाट दैनिक ५० जनालाई फर्काउनुपर्ने अवस्था रहेको कलेजका उपाध्यक्ष डेनिस कार्कीले बताए ।

तीन सय बेडको कोभिड वार्ड सञ्चालन गरे पनि पर्याप्त नभएको उनले बताए । ‘हामीले आफ्नो क्षमताले भन्दा बढी गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म विरामीलाई भर्ना गरेर उपचार गर्दैछौं, औषधि पनि पाइँदैन, अवस्था गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment