+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
९६ बलमा १४४ रन आवश्यक
विराटनगर किंग्स 2025
17/2 (3.6)
Shares

अथक आमालाई अचेत अवस्थामा भेट्दा‍‍‍…

बाबुराम निउरे बाबुराम निउरे
२०७८ वैशाख २८ गते १६:५४

मलाई गाउँ अथवा देशबाट टाढा रहँदा गाउँघर तथा शहरका सडक कस्ता भए होलान्, निर्माणाधीन संरचना बनिसके कि बन्दै होलान्, सरकारी कर्मचारीले सेवाग्राहीको काम सहजै गरिदेलान् कि मैलेजस्तै सामान्य कामलाई पनि भनसुन नै गर्नुपर्छ होलालगायतका प्रश्नहरुले घचघच्याइरहन्छ । तर यो पटक ती भन्दा पनि धेरै केही बर्षदेखि पूर्ण परनिर्भर भएकी आफ्नै आमाको यादले पिरोलिरहेको थियो ।

जहाज उड्नु भन्दा दुई दिनअघिनै मन उड्न लागिसकेको थियो । शहरका सडकहरु, निर्माणाधीन धरहरा, सुरूङ मार्ग तथा द्रुतमार्गको प्रगति , गाउँघरका गाडी कोल्टे पर्दै दौडिने कच्ची सडक र सबैभन्दा धेरै आमासंग भलाकुसारी गर्न पाइन्छ कि पाइदैन होला भन्ने कौतुहलताले निद्रा लाग्न छोडिसकेको थियो ।

दुई दिनको छटपटीपछि मात्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर जहाज चढ्न एअरपोर्ट तिर लागियो । स्वदेश अवतरण भएपछि आँखाले दायाँ बायाँ अवलोकन गर्न थाले । राजधानीको धुलो र खासगरी ट्राफिक अस्तव्यस्तताले मन खिन्न बनायो ।

छटपटीपूर्ण दुई रात राजधानीमा बिताएपछि बल्ल आफ्नो अन्तिम गन्तव्यतिर लागियो । धुलोले स्वास फेर्ने गाह्रो भएपनि ठाउँ ठाँउमा सडक फराकिलो बनाउँदै गरेको दृश्यले केही बर्षपछिको सहज यात्राको काल्पनिक अनुभूति गरायो ।

रातको ११ बजेतिर घरमा पुगियो । जम्न मात्रै बाँकी रहेजस्तो चिसो पानीले हातमुख धोई भित्र पसेर आमा सुतिरहेको ओछ्यानसम्म पुगेँ । आमाप्रति कुनै जिम्मेवारी नै नभएजस्तै जिन्दगी बिताइरहेकोले, आमालाई बोलाउने आँट थिएन मसंग । आमा निदाइसकेकोले केही बोल्नुपरेन ।

राम्रोसंग नसुतेको  छैठौं दिनपनि राम्रो निद्रा लागेन । ठूलो परिवारको कान्छो सन्तान भएकाले कुनै काम विशेषले एकाबिहानै कहिल्यै उठ्नु परेन र अहिले आफ्ना छोराछोरी ठूलै भइसक्दा समेत गैरजिम्मेवार बानी हट्न सकेको छैन । म उठेर पिंढीमा आउँदा आमालाई नुहादिएर खाटमा राखिसकिएको थियो । आमाले मलाई घोरिएर हेरिरहनु भयो । दाइ भाउजूले को हो चिन्नुभयो भनेर सोध्नुभयो तर आमा जवाफ फर्काउनुभएन । आमाको नजिiक बसेर आमालाई आमा म कान्छो भनेर चिनाउन कोशिस गरें । आमाले कुनै वास्ता नगरेको बोध गरें अनि म नुहाउन धारोतिर लागें ।

घाम लागेपछि आमालाई आँगनमा लगियो । आमा केही समयसम्म बसेर अडिन सक्नुहुन्थ्यो र गाह्रो भएपछि केही संकेत गर्नुहुन्थ्यो जुन म बुझ्न सक्दैनथें । आमा घाममा अडिएर बसिरहेको बेला म पनि नजिकै कुर्चीमा बसेर हेरिरहें । दुवै जनाले एक अर्कालाई हेरिमात्र रहयौं । आमाले केही कुरा व्यक्त गर्न खोज्नुभएको थियो ।

विश्वविद्यालय अध्ययन गरेर थुप्रै प्रमाणपत्र जम्मा गरेको र देश विदेश घुमेको भएर पनि आमाले ब्यक्त गरेको भाव बुझ्न सक्ने क्षमता थिएन मसंग । झन्डै ७० बर्षको उमेरसम्म कतिखेरै पनि थकाइ ब्यक्त नगर्ने अथक आमालाई अहिले अचेत जस्तै अवस्थामा निरीह भएर नियालिरहें ।

अचेत आमाको एकोहोरो हेराइले मलाई आमाको अथक विगत तिर फर्कायो । आमाले मलाई ४० को मध्यतिर आठौँ सन्तानको रुपमा जन्माउनुभएको थियो । मैले हाम्री आमालाई अरुको आमाजस्तै जवान देख्न पाइन । म जान्ने हुँदा आमा मेरै उमेरका नाती नातिनीको हजुरआमा भइसक्नुभएको थियो । आमा झन्डै ७० बर्षको हुन्जेलसम्म कहिलेकाहीं खरानीको डल्ला, विभिन्न झारपात र जडिबुटीका जराहरु बाहेक अरु कुनै औषधि सेवन गरेको पनि स्मरण छैन । त्यो उमेरसम्म कुनै दिन बिरामी परेर आमा दिनभर सुतेको याद छैन मलाई । गाउँका धेरै आमालाई धामी झाँक्रीले उपचार गर्थे । पुरै रुढिवादी समाजमा पनि आमाले कहिल्यै भूतप्रेतलाई दोष लगाउनुभएन ​र आमाको लागि धामी झाँक्री पनि गर्नुपरेन ।

आमा असाध्यै जाँगरिलो र फुर्तिलो हुनुहुन्थ्यो । दिदीहरुको बिहे भइसकेपनि घरमा तीन दाजु र तीन भाउजुहरु हुनुहुन्थ्यो ।  परिवारको संख्या र उमेरको हिसाबले आमालाई काम गर्नैपर्ने बाध्यता थिएन तर घरमा सबैभन्दा धेरै काम आमाले नै गर्नुहुथ्यो ।  आमाले खानेकुरा मात्र परिवारका अरु सदस्यहरुलाई साँच्नु हुन्थ्यो र कामचाहिं सम्भव भएसम्मको आफैं गर्नुहुन्थ्यो । आमाको सहनशीलता पनि अनौठो थियो । परिवार तथा बाहिरका मान्छेसंगको सम्बन्धमा वरिपरिका आमाहरु भन्दा निकै फरक हुनुहुन्थ्यो आमा ।

आमा अथक मात्र नभएर त्यत्तिकै निडर पनि हुनुहुन्थ्यो । हामीलाई बाटोमा सर्प देखेपछि दुई तीन दिनसम्म त्यो बाटो हिँड्न डर लाग्थ्यो । आमाले घाँस काट्दा थुप्रै पटक सर्प पनि काट्नुभएको थियो ।  एकपटक त फुत्किएर सर्पले आमाको खुट्टामा टोकेको थियो । त्यो टोकाइमा पनि आमा सामान्य नै हुनुहुन्थ्यो । आफैं अलिकति काटेर रगत फालेर टोकेको ठाउँभन्दा केही माथि पटुकीको टुक्राले बाँधेर घरमा आई घरायसी उपचार गरेको पनि बिर्सेको छैन मैले ।  दाउरा घाँस गर्दा बाघ भालुलगायतका जंगली जनावारसंग जम्काभेट भएका घटना पनि हामीलाई सुनाउनुहुन्थ्यो ।

त्यस्ती निडर र बहादुर आमासँग अहिले नाक मुखमा झिँगा थुप्रिएर स्वासनै फेर्न असहज हुँदा पनि धपाउने तागत छैन । घर वरिपरि झारपात, फोहर बिल्कुल सहन नसक्ने आमालाई सबै चिजले खुच्चिङ भनेजस्तैलाग्थ्यो ।  आमाले वरिपरि नियालिरहनुभएको थियो ।  तर हामी लाछीसंग आमाको भाव बुझ्ने र आमालाई खुशी पार्ने वातावारण तयार गर्न जाँगर र लगाव थिएन ।

अन्य थुप्रै प्राणीहरुमा आमा बुवाले आफुले खाई नखाई आफ्ना सन्तानहरुलाई आत्मनिर्भर बनाएर मात्र छोडेपनि आफूले लगानी गरेका सन्तानबाट कुनै अपेक्षा नराखेको देखिन्छ । हामी आफूलाई जगतकै सबैभन्दा चेतनशील र उत्कृष्ट जीवनशैली भएको प्राणीको रुपमा दाबी गर्छौं । हामीले हाम्रा सन्तानलाई केही अपेक्षाका साथ लगानीको रुपमा स्याहार सुसार गरिरहेका हुन्छौं ।  तर हामीमध्ये कतिपयले अन्य जनावरले  जस्तै आफ्ना जन्मदाता तथा कर्मदाताप्रति कुनै जिम्मेवारी नभएको जस्तै व्यवहार गरिरहेका हुन्छौं ।  आफ्नो जिम्मेवारीबाट भागेकाले मलाई आफ्नै आमाको अगाडि निकै असहज महसुस भइरहेको थियो । असहजताको बाबजुद आँट गरेर आमाका केही गुनासाको जवाफ दिने प्रयत्न गरें।

आमाका केही केही मुख्य प्रश्न सामान्यीकरण गरें । मलाई छोडेर किन कता कता हिँडेको ?, घरमै बसे हुन्न र ? अनि घर छोडेर अरुकंहा किन जानुपर्‍यो ? कतै गइहाले पनि किन आउन ढिला गरेको ?  कसको लागि र के को लागि देश विदेश घुम्नुपर्‍यो ? पढे लेखेको छोरो देशमै बसेर जागिर खाएको भए हुँदैनथियो र ? आफ्ना छोराछोरी तथा बुवा आमालाई चित्त दुखाएर अरुलाई खुशी पार्न किन हिँड्नुपर्‍यो ? परिवारमा भन्दा बढी खुशी मिल्ने ठाउँ अरु छ र ? आदि ।

आमा तन्दुरुस्त हुन्जेल प्रायजसो काममै रमाउनुहुन्थ्यो । अशक्त भएपछि आमाको वरिपरि दुई चार जना मान्छे भएको बेला सहज महसुस गर्नुहुन्छ र वरिपरि कोही पनि नदेखे आत्त्तिनुहुन्छ । आमाका जिज्ञासा र गुनासाको उत्तर दिन आमाको विगतको जीवनशैलीको स्मरण गरेँ ।

सानै हुँदा मलाई रुँदै गरेको अवस्थामा छोडेर घाँस काट्न जानुहुन्थ्यो नि ? अनि म चिच्याउँदै रोइरहे पनि घाँसको भारी नपुगेसम्म त कहिल्यै फर्किनुभएन । त्यो त्यान्द्रा त्यान्द्रा  झाप्रो चुडाएर भारी पुर्‍याउन कति समय लाग्थ्यो सम्झिनुस् त ! मैले गैरजिम्मेवार उत्तरहरु दिंदै गएँ ।  आमालाई सम्झाएँ , भैसी, बाख्रा, गाई कराए भने हामीलाई केही दिएर फकाएर तिनीहरुकै सेवा गर्न जानुहुन्थ्यो त ! आमाले तुरुन्तै जवाफ फ़र्काउनुभयो । म त तिमीहरुलाई नै खुवाउने दूध, घिउको लागि गोठ र बारी अनि पाखा पखेरातिर दौडेको हो ।  मैले पनि लाज नमानी जवाफ फर्काएँ, म पनि तपाईंकै नाती नातिनीलाई खुशी बनाउन त यति दौडधुप गरिरहेको छु ।

म गाउँमा पुग्दा सबैको घरमा भेटघाट गर्न पुगेको हुन्छु । घरबाहिर धेरै समय दिएको कारण पनि आमाबाट नै सिकेको आशय  ब्यक्त गरें । वरपर छरछिमेकमा सहयोग गर्नुपर्‍यो भने घरको काम छिटो छिटो गरिसकेर र कहिलेकाहीँ  त घरकै  काम  बिताएर भए पनि जानुहुन्थ्यो त ! आमाले भन्नुभयो, तँलाई एक्लै छोडेर त कतै गइन । म नै नभएपनि घरमा कोही न कोही त हुन्थे त । आमाको जवाफ तुरुन्तै फर्काइहालें ।  म पनि तपाईंलाई कहाँ एक्लै छोडेको छु र दाइ भाउजु अनि भतिजाहरुले हेरेकै त छन् नि ।

यस्तै कुतर्कहरु प्रस्तुत गर्दै मलाई आमासँगको बसाई छोट्याउन हतार भइसकेकव थियो । साथीहरु भेट्ने  र आफ्ना थुप्रै कामहरु बाँकी रहेको बहाना बनाएर झन्डै साढे तीन बर्षपछिको अचेत अवस्थाकी आमासँगको बहसलाई केही दिनपछि भेट्ने बाचा गर्दै आमासंगबाट छुट्टिएर भेटघाटतिर लागेँ ।

आमालाई अहिले के कुराको खाँचो छ भन्ने मलाई राम्रोसंग थाहा थियो तर म कुरा बुझेर पनि नबुझेजस्तो गरी आमाको चाहनालाई विभिन्न बहाना बनाउँदै टारिरहेको थिएँ ।  आमालाई महँगो लगाउने वा मिठो खाने कुराको आशा थिएन । आमाले निल्न सक्ने सामान्य खानेकुरा र आमाको वरिपरि कोही साथीबाहेक आमाले कुनै कुराको अपेक्षा गर्नुभएको थिएन ।

हामी धेरैजसो सन्तानले आमा बालाई भेट्न वा सम्झिन तिथि मिति वा पर्व कुरिरहेका हुन्छौं । धेरैजसो आमा भेट्न जानेहरुले कपडा, फलफूल र विभिन्न मिठाइ बोकेर गएको देखिन्छ ।  साँच्चै भन्ने हो भने धेरै आमाहरुलाई ती कुराको कुनै अर्थ छैन ।  अधिकांश आमालाई आफ्ना सन्तानको सामिप्यता भन्दा ठूलो उपहार कुनै हुन सक्दैन जुन हामी पूरा गर्न सकिरहेका छैनौं ।

सबै आमाका सन्तानले मैलेजस्तै कुतर्कहरु प्रस्तुत गर्दै अनेकथरी बहाना सिर्जना गरी आफ्ना जन्मदाता र कर्मदाताप्रति आफ्नो जिम्मेवारीबाट भाग्ने कोशिस नगरुन् ।

सबै आमाहरुलाई नमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?