Comments Add Comment

पर्सामा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजना पक्राउ

फाइल तस्वीर

३१ वैशाख, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा निषेधाज्ञा लगाइएको छ । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्मका लागि कायम छ । निषेधाज्ञामा अत्यावश्यक कामका लागि सुरक्षा सतर्कताका उपाय अपनाएर बाहिर निस्कन दिइएको छ ।

तर यही छुटलाई कतिपयले दुरुपयोग पनि गर्ने गरेका छन् । प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको छ । वीरगञ्ज–१० बस्ने २६ वर्षीय साहेब शेख, पोखरिया नगरपालिका–३ बस्ने १९ वर्षीय हनिफ हुसेन, बिन्दबासिनी गाउँपालिका–४ बस्ने ३० वर्षीय भोला प्रसाद साह, वीरगञ्ज–१३ बस्ने ३० वर्षीय मोहम्मद असरफ राइन र भारत बिहार जिल्ला बेतिया बैरिया-३ बस्ने मुन्ना साह पक्राउ परेका हुन् ।

उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर, संक्रामक रोग ऐन, २०२० बमोजिमको कसुर विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गर्ने–गराउने क्रममा निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँडडुल तथा आवतजावतमा रोक लगाउने कार्य प्रहरीले गरिरहेको छ ।

त्यसक्रममा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी काम कारबाहीमा अवरोध पुर्‍याएकोले उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment