Comments Add Comment

एनएसएल फाइनल : धनगढीविरुद्ध बदला लिने काठमाडौंको लक्ष्य

३१ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिबार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिबार फाइनल खेल हुँदैछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतिगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । २१ दिन र २४ खेलपछि फाइनल पुग्ने दुई टोली धनगढी र काठमाडौं उपाधिका लागि तयार छन् ।

फाइनलअघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् र दुवैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै काठमाडौंलाई २-१ ले हराएर फाइनलमा स्थान बनायो ।

काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३-० ले पराजित गर्दै पुन: धनगढीसंग उपाधि भेट पक्का गरेको हो ।

धनगढीसंग व्यहोरेको दुई हारको बदला फाइनलमा लिने योजनामा काठमाडौं छ । उता धनगढी पनि यसअघिको लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छ । नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । उता काठमाडौंले गोलकिपर विकेश कुथुको कप्तानीमा खेल्दैछ ।

फाइनलअघि शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले फाइनलमा लागि तयार रहको र उपाधि जित्ने दावी गरे ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा हारको बदला लिँदै उपाधि काठमाडौंमै राख्ने बताए । ‘लिग चरण र प्लेअफमा धनगढीसंग पराजित भएको थियौँ । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं’ प्रशिक्षक बालगोपाल महर्जनले भने ।

उनले अघिल्ला दुई खेलमा बेहोरेको हारको बदला तेस्रो भेटमा लिने सुनौलो अवसर रहेको बताए । ‘तेस्रो खेलमा प्रमाणित गर्ने सुनौलो अवसर रहेको छ । घरमा जितेर उपाधि राख्न भरपुर मेहनत गर्नेछौं’ प्रशिक्षक महर्जनले भने ।

यस्तै कप्तान तथा मार्की प्लेअर विकेश कुथुले दुई हारबाट पाठ सिकेको र फाइनलमा जित्ने तरिकाले खेल्ने बताए । ‘लिगमा उतारचढाब भयो । यस्तै पाठबाट सिकेर फाइनलसम्म पुगेका छौं । उपाधि जित्ने हिसावले खेल्छौं ।’ फ्रेन्चाइज फुटबल मार्फत पहिलो पटक कप्तानी गरिरहेका कुथुले भने ।

अर्कोतर्फ धनगढी लगातार तेस्रो पटक काठमाडौंलाई पराजित गर्दै ट्रफी सुदूरपश्चिम लैजाने लक्ष्यमा रहेको छ । धनगढीका प्रशिक्षक फुजा तोपेले काठमाडौंलाई दुई पटक हराएपनि फाइनल सहज नहुने बताए । ‘हामीले दुई पटक काठमाडौंलाई पराजित गरिसकेका छौं । प्रतिद्वन्द्वीलाई सम्मान गर्दै उपाधिका लागि खेल्छौं’ नाइजेरियन प्रशिक्षक तोपेले भने । धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि तोपेले नै रणनीति बनाउने काम गर्दै आएका छन् ।

यस्तै टोलीका आईकोनिक तथा कप्तान किरणकुमार लिम्बुले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए । चेम्जोङले उपाधिकै लागि खेल्ने बताए । ‘यो हाम्रो तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छौं । विश्वास छ उपाधि जित्नको लागि खेल्छौं ।’

राष्ट्रिय टिमको कप्तानी डेब्युमै चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि जिताएका किरणले भने ।

लिगमा काठमाडौं सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो । तर अहिलेसम्मको दुई भेटमा धनगढी नै अब्बल देखिएको छ । अब फाइनलमा दुई हारको बदला लिने अवसर काठमाडौंलाई छ ।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसंग ३-० ले पराजित भएको थयो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३-० ले पराजित भएको थियो तर दोस्रो खेलमै पुनरागमन गर्न सफल भएको थियो ।

काठमाडौं र धनगढबीचको खेल बालगोपाल भर्सेस फुजा तथा विकेश भर्सेस किरणबीचको खेल समेत मान्न सकिनेछ ।

यस्तै दुवै टिममा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउलेले लिगमा सर्वाधिक ७ गोल गरिसकेका छन् । उनी ह्याट्रिक गर्ने एक मात्र खेलाडी समेत हुन् । यस्तै क्यामरुनै स्टेफेन विनोङ समिरले ३ गोल गरेका छन् । यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । साथै डिफेन्समा आइभरीकोष्टका फ्लोरेन्ट कोराले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उता धनगढीको मुख्य हतिकार नाइजेरियन खेलाडी ओलावाले आफिस रहेका छन् । उनी ४ गोलसहित सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा दोस्रो स्थानमा छन् । चोटका कारण पछिल्लो खेलमा उनले सोचे अनुसार खेल्न सकेका थिएनन् । प्लेअफ पनि उनी काठमाडदं विरुद्ध घाइते हुँदा हुँदै पनि खेलेका थिए । तर विपक्षी डिफेण्डरलाई व्यस्त राख्न उनले जबरजस्ती खेलेका थिए र पछि सब्स्टिच्युट भएका थिए ।

यस्तै डिफेण्डर फ्रांकलन क्वेटाले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विदेशी लिग खेलेकोले कप्तान किरण पनि विदेशी कोटा अन्तर्गत नै रहेका छन् ।

धनगढी र काठमाडौं जसले जितेपनि नेपाली फुटबलमाम यो इतिहास बन्नेछ । पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबलमा अक्सनबाट खेलाडी छनोट गरिएको थियो ।

एनएसएलको विजेताले नगद ३५ लाख र उपविजेताले नगद १५ लाख प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले १-१ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment