Comments Add Comment

एसियन महिला भलिबल च्याम्पियनसिप चीनको सट्टा फिलिपिन्सले आयोजना गर्ने

१ जेठ, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा तय भएको २१औं एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको आयोजक परिवर्तन भएको छ ।

नेपालले समेत प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप यसअघि चीनको जियाङमेनमा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने तय थियो । तर चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघले नयाँ आयोजकको घोषणा गरेको हो ।

अब च्याम्पियनसिप सोही मितिमै फिलिपिन्समा हुने भएको छ । एसियाली भलिबल महासंघ (एभीसी)ले शनिबार फिलिपिन्सले आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको सुबिक एण्ड क्लार्कमा हुनेछ ।

च्याम्पियनसिपमा एसियाका पावरहाउसहरु जापान, चीन, कोरिया, थाइल्याण्डलगायत टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको महिला टिमले भने पहिलो पटक यति ठूलो प्रतियोगिता खेल्ने भएको हो ।

२०७६ मा नेपालले बंगलादेशमा भएको पहिलो महिला सेन्ट्रल जोनमा उपाधि जितेपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालले उपलब्धि हासिल गरेको थियो । सोही वर्ष काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि रजत जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली महिला टोली पहिलो पटक एसियन च्याम्पियनमा जान लागेको हो ।

नेपाल भलिबल संघले त्यही सफलतालाई आधार मान्दै महिला टोलीलाई पठाउने निर्णय गरेको हो ।

च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment