+
+

यस्तो छ सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको स्वास्थ्य सामग्रीको सूची

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते ११:३७

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामग्री, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएका छन् ।

विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदूतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन पनि आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले दुईपक्षीय, बहुपक्षीय, विभिन्न सहयोगी संस्था, निजी क्षेत्र र विदेशमा रहेका नेपालीमार्फत सहयोग जुटाउनका लागि आग्रह गरेका छन् ।

यस अगाडि नै मन्त्रालयले विदेशमा रहेका नेपाली नियोगहरुलाई आवश्यक स्वास्थ्य सामग्रीको सूची नै उपलब्ध गराइसकेको छ । सो लिष्टका आधारमा सहयोग प्राप्तिका लागि पहल गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

दूतावासहरुलाई उपलब्ध गराएको लिष्टमा खोप, अक्सिजन सिलिण्डर भेन्टिलेटर, आईसीयू नेगेटिभ प्रेसर वेड, एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने डिजिटल एक्सरे मेसिन, थर्मल गन, टेष्टिङ किट, पल्स अक्सीमिटर, प्यासेन्ट मोनिटर, एन्टीजेन किट्स, पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायतका १४ सामग्रीहरु रहेका छन् ।

सरकारले एक हप्तायता अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले वेलायतको ‘दि गार्जियन’ पत्रिकामा एक लेख लेख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेका छन् । त्यसैगरी मन्त्रालयले काठमाडौंस्थित नेपाली दूतावासहरुसँग संवाद र समन्वय गरिरहेको छ ।

सरकारको पहलको बाबजुद पनि अपेक्षाकृत सहयोग भने प्राप्त भइरहेको छैन । सहयोग दिएका केही मुलुकले नेपाललाई आफैं सामग्री ल्याउने व्यवस्था गर्न आग्रह गरेका कारणले पनि कठिनाइ भइरहेको छ ।

चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु आउनेक्रम जारी छ भने अमेरिकाले यही साता स्वास्थ्य सामग्री उपलब्ध गराउने जानकारी दिएको छ । युरोपेली युनियनले भने आर्थिक सहयोगको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता रहेको भनी विश्व समुदायलाई जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?