Comments Add Comment

दैनिक चार पटकसम्म मलामी, महामारीमा मानवीय सेवा गर्दै पाँच युवा

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोरा विराटनगर अस्पताल (विराट नर्सिङहोम)मा उपचाररत थिए । बुधबार राति आमाको मृत्यु भयो । ४२ वर्षीय छोरा सिकिस्त थिए ।

आमाको शव बिहीबार बिहान साढे ११ अन्तिम संस्कारका लागि विराटनगरको परमविश्रान्ति घाट लगियो । शव जल्दै गर्दा कान्छो छोरालाई अस्पतालबाट फोन आयो । दाजु पनि बिते । आमाको संस्कारपछि छोराको अन्त्येष्टि भयो ।

बिहान आमाको शव लिएर गएको टोलीले नै बेलुका छोराको पनि शव लिएर घाटसम्म पुग्यो । टोलीमा थिए राम नेपाल, रविन कार्की, दिष्यमान शाक्य, अनुराग भण्डारी र रोशन पौडेल । मलामीमा २–३ जना आफन्त पनि थिए । बिहान आमाको अन्त्येष्टि गरेको टोली बेलुका छोराको अन्तिम बिदाइपछि डेरा पुग्यो ।

०००

विराटनगर महानगरपालिका–३ पिपल चोककी ६८ वर्षीया वृद्धाको बुधबार राति घरमै मृत्यु भयो । कोरोना पोजेटिभ उनी अक्सिजनसहित खाटबाट भुइँमा लडेकी थिइन् । घरमा दुई बुढाबुढी मात्रै थिए । वृद्ध अवस्थाका श्रीमान् शव उठाउन सक्ने अवस्थाका थिएनन् । घरभित्रै शव अलपत्र अवस्थामा रह्यो । बिहीबार ती नै पाँच युवा पुगेर शवलाई र्‍यापिङ गरे । काठमाडौं र हेटौंडाबाट छोरीहरु आएपछि बिहीबार दाहसंस्कार भयो । दाहसंस्कारमा पनि तिनै पाँच युवा थिए । पीपीई लगाएर खटिएका पाँच युवालाई सन्जोग गौतमले बाहिरबाट सहयोग गरे ।

गत शनिबार यता विराटनगरका पाँच युवाको दैनिकी कोरोना संक्रमित मृतकको अन्त्येष्टिमा बित्छ । विराटनगरमा दुईवटा घाट छन् । ती घाटमा दिनमा चारवटासम्म शवको मलामी बनेर पुग्छन् र अन्त्येष्टि गरेर मात्रै उनीहरु फर्कन्छन् ।

गत शनिबारबाट बरगाछी युवा समूहका राम नेपाल, रविन कार्की, दिष्यमान शाक्य, अनुराग भण्डारी र रोशन पौडेल शव व्यवस्थापनमा खटिएका हुन् । उनीहरुसँग सन्जोग गौतम पनि खटिएका छन् ।

एक साताको अवधिमा १४ वटा शवको अन्त्येष्टि गरिसकेको समूहका सदस्य राम नेपाल बताउँछन् । ‘बारम्बार फोन आउँछ, सकेसम्म सहयोग गर्छौं,’ उनले भने, ‘एकै दिन आमा छोराको मलामी जानुपर्‍यो । भर्खरका मान्छे बितेका छन्, दुःख लाग्छ ।’

संक्रमितको मलामी जाने टोल समाजमा हुँदैनन् । आफन्तको सहयोगका लागि पुगेका उनीहरु शवको अन्त्येष्टिपछि मात्रै फर्कन्छन् ।

कोरोना महामारीको पहिलो लहरमा पनि संक्रमितको शव व्यवस्थापनमा खटिएका युवाहरु दोस्रो लहरमा पनि खटिएका छन् । मारवाडी सेवा सदनमा बसेका उनीहरु दैनिक चारवटासम्म शव व्यवस्थापनमा खटिनुपरेको बताउँछन् । ‘आफन्तले आग्रह गरेपछि शव उठाएर अन्त्येष्टि गर्न सघाउँछौं,’ नेपाल भन्छन्, ‘मलामी सीमित आफन्त र हामी मात्रै हुन्छौं ।’

गत शनिबारबाट शव व्यवस्थापनमा खटिएका उनीहरुले पीडित परिवारले भोगेका दुःख देखेका छन् । ‘अस्ति एकजना वृद्धा महिला अक्सिजनसहित खाटबाट लड्नु भएछ, उठाउने कोही भएन,’ उनले भने, ‘घरमा वृद्ध बा मात्रै, छिमेकी कोही अघि आएनन् ।’

विराटनगर बाहिरबाट घर आउँदै गरेका छोरीहरुले आमाको अनुहार हेर्ने भनेपछि युवाहरुले शवलाई प्लाष्टिकले र्‍यापिङ गरेर घरमा राखिदिए । तर टोलबासीले निर्दयी व्यवहार गरे । ‘छिमेकीले फोन गरेर पटक–पटक शव लैजान भने,’ राम भन्छन्, ‘नमानेपछि छिमेकीलाई मानवता छैन भन्दै कराइदिएँ ।’

कोरोना महामारीको पहिलो लहरमा पनि खटिएका युवाहरु दोस्रो लहरले अवस्था जटिल बनाएको बताउँछन् । ‘शव व्यवस्थापन गर्न सहयोग गरिदिनुपर्‍यो भन्दै आफन्तले रुँदै फोन गर्छन्,’ राम भन्छन्, ‘भ्याएजति सहयोग गर्ने प्रयास गरिरहेका छौं ।’

‘हाम्रो पनि मन हो, संक्रमणको जोखिममा रहेर खट्नुपर्छ,’ उनले अघि भने, ‘पीपीई लगाएपछि न खाने टुङ्गो हुन्छ नत दिसा पिसाबकै ।’

शव व्यवस्थापन टोलीलाई गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईं र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सवारी र बासस्थानको व्यवस्था मिलाइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment