Comments Add Comment

महिला कर्मचारीसँगको लसपसबारे बिल गेट्समाथि छानविन !

काठमाडौं । सन् २०२० मा माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएका बिल गेट्सको राजीनामा प्रकरणका पछाडि माइक्रोसफ्टकी एक महिला कर्मचारीसँगको सम्बन्ध कारक रहेको खुल्न आएको छ ।

ती महिला कर्मचारीसँगको रोमान्टिक सम्बन्धका विषय छानविनका लागि माइक्रोसफ्टले एक ल फर्मलाई जिम्मा दिएसँगै गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएको वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

उक्त घटनासँग जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार प्रकाशित समाचारमा माइक्रोसफ्टकी ती इन्जिनिर कर्मचारीले आफू र गेट्सबीच वर्षौंदेखि यौन सम्बन्ध कायम रहेको दाबी गरेकी थिइन् ।

उक्त विषयमा छानविन हुँदै गर्दा कतिपय बोर्ड सदस्यहरुले छानविन टुंगोमा नपुगुन्जेल आरोपित व्यक्ति बिल गेट्स बोर्ड सदस्यमा बसिराख्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका थिए । तत् पश्चात् बोर्डको छानविन पूरा नहुँदै गेट्सले राजीनामा दिएका थिए ।

वालस्ट्रिट जर्नलमा बिल गेट्ससँग सम्बन्धमा रहेको भनिएकी ती महिला कर्मचारीको नाम खुलाएको छैन ।

सन् २०१९ को उत्तरार्धतिर माइक्रोसफ्ट कम्पनीमा एक पत्र प्राप्त भएको र त्यसमा सन् २००० मा माइक्रोसफ्टकी एक कर्मचारीसँग बिल गेट्सले अन्तरंग सम्बन्ध कायम गर्नका लागि प्रस्ताव गरेको दाबी गरिएको थियो । कम्पनीमा सो विषयको पत्र प्राप्त भएको कुरा माइक्रोसफ्टका प्रवक्ताले स्विकार गरेका सिएनएनले उल्लेख गरेको छ ।

प्रवक्ताले भनेका छन्– बोर्डले गठन गरेको एक कमिटीले उक्त पत्रमा दाबी गरिएको विषयमा समीक्षा गर्यो र त्यसको विस्तृत छानविनका लागि एक बाह्य ल फर्मको सहयोग लिइयो । छानविन अवधिभर नै माइक्रोसफ्टले उक्त विषय उठान गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।

माइक्रोसफ्टकी कर्मचारीसँग बिल गेट्सको सम्बन्ध रहेको कुरा स्वयं गेट्सका प्रवक्ताले पनि स्वीकार गरेका छन् । उनले भनेका छन्– यो २० वर्षअघिको सम्बन्धको कुरा हो, जुन सौहार्दपूर्ण रुपमा अन्त्य भयो । माइक्रोसफ्टको बोर्डबाट बाहिरिने बिल गेट्सको निर्णयसँग यो विषयको कुनै पनि सम्बन्ध छैन । वास्तवमा धेरै वर्ष अगाडि सुरु भएको आफ्नो लोककल्याणकारी अभियानमा बढी समय बिताउने इच्छा बिल गेट्सले व्यक्त गरेको हुनाले उनी माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर्सबाट बाहिरिएका हुन् ।

स्मरण रहोस् केही दिन अगाडि मात्रै न्युयोर्क टाइम्सले समेत बिल गेट्समाथि यस्तै आरोप सहितको समाचार प्रकाशित गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको समाचार अनुसार बिल गेट्सले माइक्रोसफ्ट तथा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा काम गर्ने कतिपय महिलाहरुलाई पछ्याउने गरेको दाबी गरिएको थियो ।

तर बिल गेट्सका प्रवक्ताले भने हालैमात्र बिल गेट्सको सम्बन्ध विच्छेद भएको समय र परिप्रेक्ष्यमा गेट्सका विषयमा मनगढन्ते तथा झुटा समाचारहरु छापिनु निकै दुःखद विषय भएको बताएका छन् ।

बिल गेट्सको बारेमा खासै जानकारी नै नभएका मानिसहरुलाई श्रोत बनाएर समाचार छापिरहनु दुर्भाग्यपूर्ण रहेको र बिल गेट्सले आफ्ना कर्मचारीहरुलाई दुर्व्यवहार गरेको कुरा पनि झुटो रहेको उनको दाबी छ ।

उता बिल गेट्स र उनकी पूर्वपत्नी मेलिन्डा गेट्सले स्थापना गरेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनै बेनामे पूर्व कर्मचारीले सञ्चार माध्यममा लगाएका आरोपहरु देखेको जनाएको छ । तर बिल गेट्सका विषयमा हालसम्म कुनैपनि औपचारिक उजुरी फाउन्डेसनमा प्राप्त नभएको भन्दै फाउन्डेसनमा सहअध्यक्ष र संरक्षकको रुपमा बिल गेट्सको भूमिका यथावत रहेको प्रष्ट पारेको छ ।

विज्ञप्तीमा फाउन्डेसनका कर्मचारी तथा अनुदान प्राप्त गर्ने पक्षले आफूमाथि अन्य कर्मचारी, अनुदान प्रदायक तथा तेस्रो पक्षले समेत यदि कुनै गैरकानूनी, अनुपयुक्त र अनैतिक व्यवहार गरेमा आफ्नो नाम गोप्य राखेर समेत उजुरी गर्नसक्ने नीति फाउन्डेसनको रहेको भन्दै त्यस्ता उजुरी प्राप्त भएमा गम्भीर रुपमा छानविन गरिने र आवश्यक कार्यवाही अगाडि बढाइने पनि उल्लेख छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment