Comments Add Comment

परिवर्तन ल्याउन रिस्क आवश्यक छ : फुटबल प्रशिक्षक अलमुताइरी

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेपछि ठूलै हलचल भएको छ ।

उनले पछिल्लो पटक खेलेको राष्ट्रिय टिममा १३ खेलाडी नै परिवर्तन गरिदिए । जसमा ६ खेलाडी पहिलो पटक सिनियर टिममा पर्न सफल भएका छन् । चैतमा थ्री नेशन्स कप जितेको टिमका १० खेलाडी मात्र अहिले राष्ट्रिय टिममा छन् ।

नेपालले दुई साताको अवधीमा चार खेल खेल्दैछ र अष्ट्रेलिया, इराकजस्ता टिमसँग पनि खेल्नुपर्नेछ । ठूला टिमसँग खेल्न टिममा नयाँ खेलाडी धेरै राखेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ ।

तर कुवेती यी प्रोलाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीले भने परिवर्तन गर्न ‘रिस्क’ पनि लिनुपर्ने बताएका छन् । दुई दिनअघि २३ सदस्यीय टोली घोषणा गरेका अलमुताइरीले बिहीबार सञ्चारकर्मीसामु खेलाडी छनोटबारे आफ्नो धारणा व्यक्त गर्दै भने, ‘हामीले टिममा परिवर्तन ल्याउनुपर्छ र त्यसका लागि रिस्क लिन आवश्यक छ ।’

उनले त्यसका लागि समर्थकहरुका साथै मिडियाले समेत सहयोग गर्नुपर्ने बताए । तर मिडियामा आएको प्रतिक्रियाबाट आफू दु:खी भएको भन्दै उनले निराशा व्यक्त गरे । ‘खेलाडीहरु वान टिम जय नेपाल लेखिरहेका छन्, मिडिया खेलाडीहरुको लागि भिडिरहेका छन्,’ ४० वर्षीय अलमुताइरीले भने । उनले खेलाडीहरुबीच तुलना नगर्न पनि आग्रह गरे ।

अलमुताइरीले नेपाल सुपर लिग एनएसएलको लिग चरणका खेल सकिएपछि उनले सीमित खेलाडीहरुलाई लिएर प्रशिक्षण सुरु गरेका थिए । जेठ १ गते एनएसएल सकिएपछि उनले त्यसैको आधारमा ३२ खेलाडी छानेका थिए र त्यसेबाट २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रशिक्षण सुरु गरेपछि सबै खेलाडीले सामाजिक सञ्जालमा ‘वान टिम वान गोल’ (एक टिम, एक लक्ष्य) जय नेपाल भन्दै सामूहिक फोटो पोष्ट गरेका थिए । प्रशिक्षक अलमुताइरीले पोष्ट गर्ने हरेक पोष्टमा पनि यही लेख्ने गर्छन् । उनले टिमको लक्ष्य एउटै हुनुपर्ने भन्दै यस्तो लेख्ने गरेको बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले कुनै खेलाडी किन परेन भनेर नकारात्मक कमेन्ट भएको र त्यसबाट आफू निराश भएको समेत बताए । उनले फिट खेलाडी टिममा राखेको भन्दै थाकेका र घाइते खेलाडी टिममा नराखेको बताए । एनएसएल जितेको काठमाडौं रेजर्सको कुनै खेलाडी नपरेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

तर अलमुताइरीले रेजर्स टिमलाई आफ्नो सम्मान रहेको बताए । ‘विकेश थकित छन् । तेज घाइते छन् । सन्जोग पनि घाइते छन् । सन्जोगले एक महिनाभित्र फुटबल खेलेमा भविष्यमा खेल्न सक्दैनन्,’ उनले भने । घाइते खेलाडी लिएर उनीहरुको भविष्यमाथि खेलवाड नगर्ने उनको भनाइ छ ।

यस्तै अलमुताइरीले अहिले टिम खेल्दा धेरैले आधा दर्जन गोल खाने कुरा गर्न थालेको भन्दै ठूला टिमसँग कति खेल जितेको छ देखाउन आग्रह गरे । ‘तपाईँहरुले ठूला टिमसँग कति खेल जित्नुभएको छ । म तथ्यांकमा गलत हुँला मलाई माफ गर्नुहोला तर कतिवटा खेल जित्नुभएको छ, कति प्रतियोगिता जित्नुभएको छ ?’ अलमुताइरीले भने ।

नेपालले यसअघि अष्ट्रेलियासँग खेल्दा ५-० को प्रसंग निकाल्दै उनले त्यो बेलाको औसत उमेर र अहिलेको औसत उमेर फरक रहेको बताए । ‘अष्ट्रेलियासँग खेल्दा नेपालको औसत उमेर कति थियो ? ३१ । अहिलेको औसत उमेर २३ छ । यो टोली अहिले हार्‍यो भने पनि दुई वर्षपछि जित्नेछ ।’

अलमुताइरीले अहिलेलाई भन्दा पनि भविष्यलाई विचार गर्दै टिम बनाएको बताए । उनले नाम भन्दा प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

नेपालले यही जेठ महिनामा दुई साताको अन्तरमा ४ खेल खेल्दैछ । आगामी मंगलबार इराक जाने नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाल विश्वकप छनोट खेल्न कुवेत जानेछ । नेपालले जेठ २० मा चाइनिज ताइपेई, जेठ २४ मा जोर्डन र जेड २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।

त्यसपछि नेपालले तत्कालका खेल्ने खेल छैन । आगामी सेप्टेम्बरमा बंगलादेशम साफ च्याम्पियनसिप हुने तय छ । यस्तै विश्वकप छनोटको दोस्रो चरणबाट नेपाल बाहिरिसकेको छ । तर एसिया कपको लागि भने नेपालले तेस्रो चरण खेल्ने पक्का छ । तेस्रो चरणअघि प्लेअफ खेल्नुपर्ने नेपालले सेप्टेम्बर र अक्टोबरमा खेल्नुपर्नेछ र सिधै तेस्रो चरण खेल्न पाए नोभेम्बरमा खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले आफूलाई तीन महिनाको समय दिन आग्रह गरे । ‘मात्र ३ महिना प्रतिक्षा गर्नु मलाई धेरै समय चाँहिदैन । जय नेपाल ।’ अलमुताइरीले टुङ्गाए ।

(फोटो: एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment