+
+
Shares

राजेश हमाल भन्छन्– ‘विषम परिस्थितिमा राजनीति गञ्जागोल हुनु दुःखद कुरा हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते ९:३८

नेपाल कोरोना महामारीको दोश्रो लहरसँग जुधिरहेको छ । संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारीमा रहँदा करीब २०० जनाले दैनिक ज्यान गुमाइरहेका छन् । यस्तो विषम परिस्थितिमा राजनीतिक दल सरकार ढाल्ने र बनाउने खेलमा छन् । संसद् भंग गरेर नयाँ चुनावको मिति तोकिएको छ । सरकार र राजनीतिक दलको क्रियाकलापले आम नागरिकमा निराशा छाएको छ ।

नेपाली चलचित्रका सफल नायक राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा नेपाली राजनीति गन्जागोल हुनु ठूलो विडम्बना भएको बताएका छन् । यस्तो अवस्थामा सरकार, राजनीतिज्ञले आजको प्राथमिकता के हो ? भन्ने कुरामा गम्भीरता नदेखाउनु दुःखद रहेको उनले बताए ।

केही दिन अगाडि मात्रै बेलायतको संसदमा नेपालको कोरोना महामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको थियो । हमालले विश्वले नेपालको कोरोना महामारीलाई लिएर गम्भीरता देखाइरहेको अवस्थामा नेपालले भने यसलाई गम्भीर रुपमा नलिएको बताएका छन् ।

सोमबार साँझ फेसबुक लाइभ मार्फत हमालले भने–‘यस्तो अवस्थामा यदि हामीले लापरवाही देखायौं, यदि हामी यसमा त्यति गम्भीर छैनौं । हाम्रो ध्यान जहाँ हुनुपर्ने हो, त्यहाँ नभएर राजनीतिक किचलोमा छ, राजनीतिक मुद्दाहरु सुल्झाउनमा छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण भयो भने विश्वले पनि जुन गम्भीरतापूर्वक हाम्रो परिस्थितिलाई लिएर विभिन्न किसिमको पहलकदमीहरु गरिरहेको छ, त्यसमा ह्रास पनि आउन सक्छ ।’

उनले अहिलेको प्राथमिकता विषम परिस्थितिबाट गुज्रिएको नेपाल र नेपालीलाई कसरी पार लगाउन सकिन्छ भन्ने रहेकोले सरकारलाई त्यसमै सम्पूर्ण उर्जा र बुद्धि–विवेक खर्चिन अनुरोध गरे ।

उनले अहिलेको परिस्थितिलाई लिएर नेपाल गम्भीर छ भन्ने कुरा विश्वमा सम्प्रेषण गर्न जरुरी रहेको बताए । ‘त्यो सम्प्रेषण गर्न सक्यौं र हाम्रो कूटनीतिक सम्बन्धहरुलाई सशक्त रुपले अगाडि बढाउन सक्यौं भने विश्वको ध्यान हामीमाथि अझ सशक्त रुपले जानेछ’ उनले भने ।

हमालले अहिलेको परिस्थितिबाट उम्किने सशक्त समाधान खोप रहेको बताउँदै भने– ‘मास्क लगाउनुहोस्, हात धुनुहोस् । सामाजिक दूरी कायम गर्नुहोस् भनेर कतिञ्जेल यो परिस्थितिलाई अगाडि बढाउने ? कमसेकम एकतिहाई जनसंख्यालाई सरकारले खोप लगाउन सक्यो भने शायद अहिलेको विषम परिस्थितिबाट पार लाग्नेछौं ।’

त्यसैले सरकारले बेलैमा ध्यान दिएर आफ्नो कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्ने हमालको आग्रह छ । अमेरिका, बेलायत, चीन, भारत, जर्मनी जस्ता राष्ट्रसँग कोरोना महामारीमा नेपाल गम्भीर भएर लागिरहेको छ भन्ने सन्देशहरु सम्प्रेषण गर्नुपर्ने हमालको तर्क छ ।

उनले अगाडि भने–‘त्यो गर्यौ भने मलाई लाग्दैन कि एक करोड जनसमुदायलाई खोप लगाउन ठूलो चुनौती रहनेछ ।’

फेसबुक लाइभमा हमालले बोलेका कुराहरु जस्ताको जस्तैः

सबैमा मेरो नमस्कार
केही दिन अगाडि मैले बेलायतको संसदमा भएको छलफल कार्यक्रम हेर्ने मौका पाएको थिएँ । त्यहाँ ब्रिटिश सांसद्हरुले आफ्नो उप–प्रधानमन्त्रीलाई अहिले हाल कोभिड १९ को नयाँ भेरियन्टको जुन चुनौती नेपालले सामना गरिरहनुपरेको छ, त्यसको लागि बेलायत सरकारले के–कस्तो पहलकदम उठाइरहेको छ भन्ने विभिन्न सांसद्बाट प्रश्नहरु र जिज्ञासाहरु उठेका थिए ।

कि नेपालको अहिलेको विषम परिस्थितिमा बेलायत सरकारले के गरिरहेको छ ? र, जे जति गरिरहेको छ, त्यो प्रयाप्त छ /छैन ? यो गम्भीर परिस्थितिलाई मनन गरेर अझ बढी सहयोग र मद्दत बेलायतले गर्नुपर्ने हो कि ? भन्ने कुराहरु पनि उल्लेख गर्नुभएको थियो ।

नेपाल र बेलायतको विशेष सम्बन्धको बारेमा पनि उहाँहरुले उल्लेख गर्नुभएको थियो ।

खाली एउटा पुरानो कूटनीतिज्ञ सम्बन्ध मात्र नभएर बेलायतको रक्षाका लागि, बेलायतको सुरक्षाका लागि २०० वर्ष भन्दा पनि बढी नेपाली दाजुभाइ, दिदीबहिनीहरुले आफ्नो रगत पसिना बगाउनुभएको छ । त्यसलाई पनि त्यसका सांसदहरुले उल्लेख गर्नुभएको थियो ।

त्यो मानेमा पनि नेपाल र बेलायतको सम्बन्ध असाध्यै नजिकको छ । आत्मीयताको सम्बन्ध छ । विशेष सम्बन्ध छ । त्यसैले पनि बेलायतले अहिलेको परिस्थितिमा नेपालको लागि आफ्नो सम्पूर्ण ध्यान कसरी मद्दत गर्ने भन्नेमा जानुपर्छ । र, जेजति भ्याक्सिन बेलायतले उपलब्ध गराएको छ, त्यो  पर्याप्त छ, छैन भन्ने कुराहरु पनि उठाउनुभएको थियो । यो अत्यन्त नै प्रशंसनीय छ । यस्तो किसिमको चासो विश्वले देखाउनु, मित्र राष्ट्रले देखाउनु भनेको । त्यही सत्रमा एउटा सांसदले यो पनि भन्नुभयो कि, नेपालको कोभिड १९ को परिस्थितिमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिनुभयो ? के हाम्रो प्रधानमन्त्रीले त्यस्तो परिस्थितिमा राजीनामा दिन सक्नुहुन्छ त भनेर पनि प्रशंसा गर्नुभएको थियो ।

तर, नेपालको राजनीतिक वास्तविकता के हो भन्ने कुरा हामी सबैलाई थाहा छ । हामी सबैले नजिकबाट हेरेका छौं । हामी सबैका गुनासो पनि छ । अहिलेको यस्तो विषम परिस्थिति, चुनौतीपूर्ण परिस्थितिमा पनि हाम्रो नेपाली राजनीति गञ्जागोल छ । न अगाडी बढ्न सकेको छ, न यथास्थितिमा सहज रुपमा काम गर्न सकिरहेको छ । यो निकै ठूलो विडम्बना हो । किनकि नेपाली राजनीतिज्ञ, नेपाल सरकारले आजको प्राथमिकता के हो ? भन्ने कुरामा मनन गर्नुपर्ने हो, त्यसमा गम्भीरता देखाउन सक्नुपर्ने हो । जबकि विश्वले यस्तो किसिमको गम्भीरता देखाइरहेको अवस्थामा यदि हामीले लापरवाही देखायौं, यदि हामी यसमा त्यति गम्भीर छैनौं । हाम्रो ध्यान जहाँ हुनुपर्ने हो, त्यहाँ नभएर राजनीतिक किचलोमा छ, राजनीतिक मुद्दाहरु सुल्झाउनमा छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण गर्यौ भने फेरि विश्वले पनि जुन गम्भीरतापूर्वक हाम्रो परिस्थितिलाई लिएर विभिन्न किसिमको पहलकदमहरु गरिरहेको छ, त्यसमा ह्रास पनि आउन सक्छ ।

त्यसैले नेपालको राजनीतिज्ञहरुलाई, नेपाल सरकारलाई मेरो विनम्र अनुरोध छ कि आजको प्राथमिकता के हो ? आज सम्पूर्ण नेपाल सरकार र नेपाली राजनीतिज्ञको ध्यान के मा केन्द्रित हुनुपर्ने हो ? भन्ने कुरामा हामी मनन गरौं । हाम्रो प्राथमिकतामा ध्यान दिऔं । हाम्रो प्राथमिकता भनेको जुन विषम परिस्थितिबाट नेपाल गुज्रिरहेको छ । त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ ? कसरी उम्काउन सकिन्छ भन्नेमै सम्पूर्ण उर्जा र बुद्धि विवेक खर्चिनुपर्ने हो । तर, त्यो नभएर हाम्रो सरकार, राजनीतिक राजनीतिक मुद्दामै रुमल्लिरहेको छ । न अगाडि बढ्न सकिरहेको छ, न यथास्थितिमा आफ्नो कार्यहरु सशक्त रुपमा अगाडि बढाउन सकिरहेको छ ।

त्यसैले मेरो विनम्र अनुरोध छ, नेपाल सरकारलाई, राजनीतिज्ञहरुलाई । बल हाम्रै कोर्टमा छ । हामीले नै आफ्नो परिस्थितिलाई हामी कति गम्भीर छौं भन्ने कुरा विश्वमा सम्प्रेषण गर्न अत्यन्त जरुरी छ । त्यो सम्प्रेषण गर्न सक्यौं र हाम्रो कूटनीतिज्ञ च्यानलहरुलाई हामीले सशक्त रुपले अगाडि बढाउन सक्यौं भने मलाई लाग्छ कि विश्वको ध्यान हामीमाथि अझ सशक्त रुपले जानेछ ।

बेलायत, अमेरिका, जर्मन, इण्डिया, चीन जस्ता राष्ट्रहरुमा हामीले हाम्रो कूटनीतिज्ञ च्यानलहरुलाई सशक्तसाथ अगाडि बढाउन सक्यौं र नेपालको अहिलेको परिस्थितिमा नेपाली, नेपाल सरकार लगायत सबै राजनीतिज्ञहरु कति गम्भीर हुनुहुन्छ र सबैको ध्यान यसमै, यही मुद्दामा केन्द्रित छ कि नेपाली जनसमुदायहरुलाई अहिलेको परिस्थितिबाट कसरी उकास्न सकिन्छ भन्नेमा छ भन्ने भयो भने विश्वको ध्यान अझ थप हामीमाथि जानेछ । अझ गम्भीरपूर्वक विश्वले हाम्रो परिस्थितिलाई लिनेछ ।

किनकि अहिलेको परिस्थितिबाट हामी उम्किने भनेकै सक्दो धेरै नेपालीलाई खोप लगाउनु हो, भ्याक्सिनेटेड गर्नु हो ।

कमसेकम एक तिहाई जनसमुदायलाई नेपाल सरकारले खोप लगाउन सक्यौं भने शायद अहिलेको विषम परिस्थितिबाट पार लाग्नेछौं ।

नत्र मास्क लगाउनुहोस्, हात धुनुहोस्, सामाजिक दूरी कायम राख्नुहोस्, शारीरिक दूरी कायम राख्नुहोस् भनेर मात्रै कतिञ्जेल यो परिस्थितिलाई अगाडि बढाउने ? यसको सशक्त समाधान भनेको भ्याक्सिन नै हो । र जबसम्म हामीले कमसेकम एक करोड नेपाली जनतालाई भ्याक्सिनेटेड गर्दैनौं तबसम्म शायद हाम्राे परिस्थिति चुनौतीपूर्ण नै रहनेछ ।

नेपाल लगायत नेपाली जनसमुदायले एउटा सामान्य विषम परिस्थितिबाट गुज्रिनुपर्नेछ ।

त्यसैले बेलैमा ध्यान दिऔं, आफ्नो कूटनीतिक च्यानलहरुलाई सशक्त रुपमा अगाडि बढाऔं । अमेरिका, बेलायत, चीन, भारत, जर्मनी जस्ता राष्ट्रलाई आफ्नो सन्देशहरु सम्प्रेषण गरौं ।

हामी कति गम्भीरतापूर्वक यसलाई लिइरहेका छौं भन्ने कुरा सम्प्रेषण गरौं । त्यो गर्याैं भने लाग्दैन कि एक करोड जनसमुदायलाई खोप लगाउन त्यत्रो ठूलो चुनौती रहनेछ । त्यसैले सम्पूर्ण राजनीतिज्ञ र नेपाल सरकारलाई मेरो यही अनुरोध छ, हाम्रो प्राथमिकता के हो ? त्यसमा यहाँहरुले ध्यान दिनुस् । जति समय बेलायत संसदले नेपालको कोभिड १९ को न्यू भेरियन्टलाई लिएर समय खर्चियो छलफलमा, शायद म गलत हुँला तर त्यति छलफल मैले हाम्रै संसदमा भएको देखेको छैन । यो विडम्बना हो ।

नेपाल सरकार र नेपाली राजनीतिज्ञहरुले कत्तिको आफ्नो कार्यदक्षता देखाउनुहुनेछ, आफू कति गम्भीर छु भन्ने कुरा विश्वमा देखाउनुहुनेछ त्यसपछि मात्रै हामीप्रति विश्वको ध्यान अझ अग्रसर रुपमा जान्छ ।

भारतमा पनि ठूलो चुनौती छ । त्यो हुँदाहुँदै पनि विभिन्न राष्ट्रको पोलिसी पनि यही छ कि आफ्नो गृहमा समस्या गम्भीर भएपछि आफ्नो मित्रराष्ट्र, छिमेकीहरुलाई पनि केही न केही मद्दत गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने पोलिसी हरेक राष्ट्रमा हुनेछ । शायद त्यही पोलिसी अनुसार विश्वले नेपाललाई सहयोग गर्नेछ ।

किनकि हामी सबैलाई थाहा छ । विश्वलाई थाहा छ । हरेक राष्ट्रलाई थाहा छ । जबसम्म कोही सेफ छैन तबसम्म कोभिड १९ हामीबीच रहिरहने सम्भावना भइनै रहन्छ ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?