Comments Add Comment

रोनाल्डोले बने तीन फरक लिगमा गोल्डेन बुट जित्‍ने पहिलो खेलाडी

१० जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०२०-२१ को सिजन सिरी ए को सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते ।

पहिलो पटक सिरी ए मा गोल्डेन बुट जितेका रोनाल्डो युरोपको तीन फरक लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बने । उनले यसअघि प्रिमियर लिग र स्पानिस ला लिगामा पनि सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।

३६ वर्षीय रोनाल्डोले यस सिजन युभेन्ट्सका लागि २९ गोल गरे । युभेन्ट्सले अन्तिम खेलमा बोलोग्नालाई ४-१ ले हराउँदै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्दा भने रोनाल्डो बेन्चमा थिए । युभेन्ट्सको ९ वर्षको अधिपत्य अन्त्य गर्नै यस सिजन इन्टर मिलानले सिरी ए जितेको छ ।

इटलीमा तेस्रो सिजन खेलिसकेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । उनले २०१८/१९ मा २१ र २०१९/२० मा ३१ गोल गरेका थिए ।

रोनाल्डोले सिरी ए मा अहिलेसम्म ९७ खेल खेल्दै ८१ गोल गरेका छन् भने युभेन्ट्सका लागि कूल १०२ खेलमा १०१ गोल गरेका छन् । उनले पछिल्लो दुई सिजन फुटबलर अफ दि इअर अवार्ड जितेका थिए ।

रोनाल्डोले यसअघि सन् २००७/०८ मा प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि ३१ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।

त्यसपछि स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडबाट खेल्दै तीन पटक सर्वाधिक गोलकर्ताको अवार्ड पीचीची अवार्ड जिते । रोनाल्डोले युरोपियन गोल्डेन बुट पनि चार पटक जितेका छन् । लिओनल मेसीले सर्वाधिक ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment