Comments Add Comment

राजनीतिज्ञलाई गाली मात्र गर्ने कि आफू अघि बढ्ने ?

प्रकाश सपूतको पछिल्लो पटक बजारमा आएको गीत ‘मेरो पनि होइन र यो देश … सक्नेले गर नसक्ने पर’ले शायद धेरै नेपालीको मनको भाका बोलेको छ ।

राजनीतिक स्थायित्व, विकास, समृद्धि, रोजगारी प्रत्येक नेपालीको चाहना हो तर विडम्बना थुप्रैपटक राजनीतिक परिवर्तन भए पनि जनताले महसूस गर्न पाएनन् ।

२००७ सालको परिवर्तन, २०४६ सालको बहुदलीय व्यवस्था, सशस्त्र जनयुद्धको अन्त्य, गणतन्त्रको स्थापनासहित प्रत्येक नेपालीको सुखी र सम्पन्नताको सपनाले थुप्रै नेपालीले आफ्नो ज्यानको बलिदानी दिए ।

संभवतः २०६२/६३ को जनआन्दोलनमा स्वेच्छिक, नैतिक र भौतिक रूपमा सम्पूर्ण नागरिकले सहभागिता जनाए । राजतन्त्रको अन्त्य सँगसँगै राजनीति र प्रशासनिक रूपमा आमूल परिवर्तन आयो तर जनताले के पाए ?

हो प्रश्न यहींनेर छ । के नेपाल सतीले सरापेको देश हो त ? होइन भने अब के गर्ने त ? हामी प्रत्येक नागरिकलाई आफ्नो भविष्य सुमधुर बनाउन र नेपाललाई समृद्ध राष्ट्रको रूपमा चिनाउन मन छ । नेपालमा बस्ने नेपालीलाई मात्र होइन विदेशमा बस्ने एनआरएनलाई पनि नेपाल विकसित भएको हेर्न मन छ, किनकि उनीहरूलाई सुखी जीवन सँगसँगै इज्जत, सम्मान र राष्ट्रिय गौरवको खाँचो छ ।

अब गर्ने के त ? प्रत्येक नेपालीले अब प्रण गर्नुपर्ने बेला आइसकेको छ । म कसैको दास होइन; मेरो विवेक छ, गलत र सही छुट्याउन सक्छु । विवेकहीन, स्वार्थी नेताको भजन गाउन्नँ, विद्रोह गर्छु । आफ्नो क्षणिक स्वार्थको लागि कुनै पनि गलत नेताको पछि लाग्दिनँ, भन्न सक्नुपर्छ ।

युवालाई अनुरोध

‘आई हेट पोल्टिक्स’ भन्ने अधिकांश युवाले बोल्ने वाक्य हो । यसो होइन युवाहरू अब ‘आई लभ पोल्टिक्स बट आई हेट सेल्फिस पोल्टिसियन्स’ भन्नुपर्दछ । युवा राजनीतिमा सकेसम्म आफैं सहभागी हुनुपर्दछ । होइन भने पनि राजनीतिक विषयमा चासो राखेर अबको राजनीति तथा राजनीतिज्ञहरूलाई सही बाटोमा ल्याउन विवेकको प्रयोग गर्नै पर्छ । होइन भने राजनीतिक पार्टी र राजनीतिज्ञहरूलाई गाली गर्ने अधिकार हामीसँग छैन ।

हामीलाई कुनै न कुनै पार्टी वा नेताप्रति व्यक्तिगत आशा, भरोसा र स्वार्थ छ, हामी त्यो निहित स्वार्थभन्दा माथि उठ्न सक्दैनौं, चाहँदैनौं र खोज्दैनौं । तर हाम्रो आत्माले हामीलाई बारम्बार धिक्कारिरहेको छ

मैले हिजोका दिनमा कुनै राजनीतिक पार्टीसँग आवद्ध भई नेतृत्वले गरेका हरेक निर्णयमा मौन भई गल्ती गरेकोले आत्मालोचनासहित आफूलाई स्वरोजगार बनाइरहेको छु र अब स्वरोजगारलाई व्यवसायमा परिवर्तन गरी राजनीतिमा लाग्ने प्रण गरिसकेको छु ।

अब सोच्ने पालो तपाईंहरूको । के हामी सधैं यी गैरजिम्मेवार, अनुत्तरदायी, स्वार्थी नेता र गुटहरूको पछि लागिरहने कि आफैं योे समाज, देश तथा भावी सन्ततिको लागि सुनौलो नेपाल बनाउन लागिपर्ने ? अब हामी जाग्नुपर्छ, ब्युँझनुपर्छ, हामीले चाहेजस्तो देश बनाउन लागिपर्नुपर्छ ।

जबसम्म प्रत्येक विवेकशील नेपालीले आफ्नो देश र भावी पुस्ताको लागि सोच्दैनौं तबसम्म यस निहित स्वार्थपूर्ण राजनीतिज्ञको दबदबाबाट उम्किन सक्दैनौं । अब उठ्ने, जाग्ने बेला भइसक्यो नत्र भने भोलिका दिनमा हामीले अझै ठूलो मूल्य चुकाउनुपर्नेछ ।

अहिलेको वास्तविकता के हो ?

नेपालको राजनीति मूलतः चार वटा राजनीतिक दलको वरिपरि केन्द्रित छ । हामीले एकपटक यी दल तथा यिनीहरूका मुख्य नेता र उनीहरूले विगत र वर्तमानमा गरिरहेका गतिविधिलाई सूक्ष्म ढंगले नियालौं र विश्लेषण गरौं ।

के उनीहरूले साँच्चिकै देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर कार्य गरे ? आफूले आफैंलाई सोधौं ‘मैले यिनीहरूलाई किन भोट हालिरहेको छु र भोलिका दिनमा पनि किन भोट हाल्ने ?’ हामी भन्ने गर्छौं आखिर जित्ने यिनीहरू नै हुन् । हामी प्रत्येक सचेत नेपालीले अब त अति भो म यिनीहरूलाई भोट हाल्दिनँ तपाईं पनि नहाल्नुस् भन्न किन नसकेको ?

हो महत्वपूर्ण प्रश्न र रहस्य यही छ । हामीलाई कुनै न कुनै पार्टी वा नेताप्रति व्यक्तिगत आशा, भरोसा र स्वार्थ छ, हामी त्यो निहित स्वार्थभन्दा माथि उठ्न सक्दैनौं, चाहँदैनौं र खोज्दैनौं । तर हाम्रो आत्माले हामीलाई बारम्बार धिक्कारिरहेको छ ।

अर्कोतिर यी राजनीतिक पार्टीहरूले धेरै नेपालीलाई विभिन्न संगठनका नाममा पद बाँडेका छन् र दास बनाइरहेका छन् ।

हाम्रो विवेक र स्वाभिमानमाथि जहिले पनि दबदबा छ र हामी नै भन्ने गर्दछौं उनीहरूको यस्तो संगठन छ, उनीहरूबाहेक कसले चुनाव जित्छ र ? हो यही मानसिकताका कारण, उनीहरूले हामीहरूलाई दिने सस्तो भुलभुलैया, धार्मिक, साम्प्रदायिक तथा कथित राष्ट्रवादको नाराले गर्दा गलत मानिसहरूले हाम्रो नेतृत्व गरिरहेका छन् । देश र देशवासीहरू झन्झन् गरीबीको चंगुलमा फसिरहेका छन् ।

हामीहरूलाई कतिसम्म मूर्ख बनाइराखेका छन् भने सांसद विकास अथवा अन्य योजनाका नाममा अहिलेका राजनीतिज्ञहरूले बजेट ल्याउँछन् र भन्ने गर्दछन् मैले बजेट ल्याएँ, विकास गरें ।

कस्तो विडम्बना उक्त विकास बजेट हामीहरूले तिरेको पैसा हो कि उनीहरूको व्यवसायबाट आर्जन गरेर ल्याएको हो ? हो, यो कुरा हामीले बुझ्नुपर्ने हो तर हामी उनीहरूप्रति अनुगृहीत भएर धन्यवाद दिन्छौं र विकासप्रेमी नेता भन्छौं ।

विडम्बना उक्त विनियोजित बजेटमा सम्बन्धित क्षेत्रको नेताको कमिसन छुट्याउन अनिवार्य नै मानिन्छ ।

हुनुपर्ने के हो त ?

कुनै पनि सरकारी वेतन/तलब खाने पेशाकर्मीले राजनीतिक पार्टीसँग कुनै पनि तरिकाले सहभागी र आवद्ध हुनुहँुदैन । स्थायी सरकार र स्थायी संयन्त्र बनाउने; नियम, कानून, विधि प्रक्रिया बनाएर हरेक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने जिम्मा हो ।

देशमा व्याप्त भ्रष्टाचार हटाउनुपर्छ, यसको लागि कर्मचारीहरूलाई जीविकोपार्जनको लागि आवश्यक पारिश्रमिक प्रदान गर्ने एउटा उपाय हो भनी भ्रष्टाचार विरुद्धका कानूनहरूको प्रभावकारी कार्यान्वयन अर्को पाटो हो ।

केही सरकारी कार्यालयहरूमा जरा गाडेर बसेको भ्रष्टाचारतन्त्रले कर्मचारीको बद्नाम गर्ने त छँदैछ जसले गर्दा सर्वसाधारणले सहजै पाउनुपर्ने सेवा पनि प्राप्त गर्न कठिन भइरहेको छ ।

वर्तमान क्रियाशील मूलतः चार वटा राजनीतिक पार्टीहरू जसले जनताको लागि राजनीति गरेनन् र उक्त पार्टीहरूमा आवद्ध युवाले नेतृत्वले गरेका गलत कार्यहरूको आलोचना तथा खबरदारी गर्न सकेनन्, जसले गर्दा जहिले पनि गलत मानसिकता भएका मानिसहरूले नेतृत्व गरिराखेका छन् ।

त्यसले राज्यलाई सही मार्गमा डो¥याउन सक्दैन । युवाहरूले जबसम्म राजनीतिमा चासो राख्दैनन् र राजनीतिक पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्दैनन् तबसम्म नेपालको राजनीति सही ट्र्याकमा जान सक्दैन ।

तसर्थ नेपाल तथा नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर राजनीतिमा होमिएका युवा वर्गलाई नेपालको राजनीतिको नेतृत्व हस्तान्तरण गर्नुपर्छ । तसर्थ युवा वर्गहरूको नयाँ तथा सकारात्मक सोचका साथै व्यावसायिक तथा उद्यमशील चरित्रले मात्र समृद्ध नेपालको निर्माण हुनसक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment