Comments Add Comment

एमालेले सुदूरपश्चिमका ६ मन्त्रीलाई सोध्यो स्पष्टीकरण

फाइल तस्वीर

१५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गर्‍यो ।

शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment