Comments Add Comment
प्रतिनिधिसभा विघटनको मुद्दा :

वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा, को-को न्यायाधीश पर्लान् ?

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् । उनका अनुसार जेठ २३ गते आइतबार नयाँ इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । २३ फागुनमा नेकपाको एकता खारेज गर्ने फैसला सुनाएको संयुक्त इजलासमा रहेका न्यायाधीश श्रेष्ठ र त्यसविरुद्ध पुनरावेदन नलाग्ने फैसला दिएका न्यायाधीश केसीले संसद विघटनको मुद्दा हेर्न नमिल्ने तर्क रिट निवेदकतर्फका कानून व्यवसायीहरुले गरेका थिए ।

आइतबार दिनभर बहस सुनेका प्रधानन्यायाधीश जबराले सोमबार सर्वोच्चका न्यायाधीशहरुसँग परामर्श गरेका थिए । न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलासमै राय दिने बताए ।

मंगलबारको इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूलाई इजलासबाट अलग नगर्ने बताए ।

तर न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले विवादको निष्पक्ष निर्णय गर्न नसक्ने भनेर विवाद भए, प्रश्न उठे वा आशंका व्यक्त भएमा न्यायाधीश आफैं अलग हुनुपर्ने बताए । यो मुद्दामा अदालतको सर्वोच्चताका लागि न्यायाधीशद्वय केसी र श्रेष्ठ अलग भएको भए हुन्थ्यो भन्दै उनीहरुले यही इजलासको संरचनाबाट अगाडि बढ्दा विश्वसनीय हुन्छ भन्ने नदेखिएको भन्दै आफैं अलग हुने घोषणा गरे ।

इजलास नछाड्ने केसी र श्रेष्ठको अडान तथा संवैधानिक इजलासमा नबस्ने कार्की र भट्टराईले घोषणा गरेपछि प्रधानन्यायाधीश जबराले दुवै पक्षलाई त्यसभन्दा अगाडि नबढ्न आग्रह गरे । उनले २३ गते वरिष्ठताका आधारमा संवैधानिक इजलास बनाउने बताए ।

त्यसअघि प्रधानन्यायाधीश जबराले मंगलबार बिहान मात्र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीसँग भएको छलफलमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली नै संशोधन गरेर वरिष्ठताका आधारमा बेञ्च बनाउने व्यवस्था गर्ने सहमति भएको थियो ।

वरिष्ठताका आधारमा को को पर्लान् ?

संविधानअनुसार गम्भीर संवैधानिक व्याख्याको विषय हेर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । जसमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेका छन् । संवैधानिक इजलासमा रहनका लागि न्यायपरिषदले १४ जना न्यायाधीशको सूची बनाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीले अवकाश पाएपछि यो सूचीमा १३ जना न्यायाधीश छन् ।

वरिष्ठताका आधारमा पाँच जना न्यायाधीश रहँदा प्रधानन्यायाधीश जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहनेछन् । तर यसअघि गत पुस ५ गतेको संसद विघटन मुद्दा सुनुवाइका लागि गठन गरिएको इजलासमा न्यायाधीश हरिकृष्ण  कार्कीमाथि प्रश्न उठेको थियो ।

विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्री विपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए । प्रधानन्यायाधीशले अब वरिष्ठताका आधारमा गठन गर्ने इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले  बस्न नमानेमा त्यसपछिको वरीयतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सहभागी हुन्छन् ।

यो पनि पढ्नुहोस न्यायाधीश कार्की र भट्टराईको रायः संसद विघटनको मुद्दा नेकपा विवादकै ‘बाइप्रोडक्ट’ हो यो पनि पढ्नुहोस संवैधानिक इजलास छाड्न न्यायाधीश केसी र श्रेष्ठले गरे अस्वीकार यो पनि पढ्नुहोस न्यायाधीशद्वय केसी र श्रेष्ठमाथि किन उठ्यो प्रश्न ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रघुनाथ बजगाईं

ट्रेन्डिङ

Advertisment