+
+
Shares

महामारी, स्वास्थ्य प्रणाली र उज्ज्वल

आमोद प्याकुरेल, चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल, चिकित्सा समाजशास्त्री
२०७८ जेठ १९ गते १४:०५

महामारीले धेरै ठूला, साना, धनी, गरीब, सर्वसाधारणदेखि पहुँचवालालाई अस्पताल पुर्‍यायो, कतिले अकालमै ज्यान गुमाउनुपर्‍यो । कोरोनाले भर्खरै हामी माझबाट खोसेर लगेको अभियन्ता र विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको अस्वस्थताले ओइरिएको सद्भाव, सुस्वास्थ्यको कामना र देश–विदेशबाट जुटेको आर्थिक सहयोगले उनीप्रतिको स्नेह र सद्भाव अद्वितीय छ यो कालखण्डको लागि ।

उज्ज्वल को हुन् र उनले सामाजिक मुद्दाहरूको लागि लडेको यथार्थ सबैलाई थाहा छ । त्यो यहाँ दोहोर्‍याइरहनु परेन । उनले पार्टी नेतृत्वमा निस्वार्थ त्याग गरेको तथ्य पनि थाहा नै छ । तर उनले र उनको पार्टीले अघिल्लो चुनावमा पाएको मतसंख्यालाई लिएर अहिलेका ठुला पार्टीले आफू विस्थापित हुन नसक्ने दम्भ लिएर बसेको हो भने अस्पतालकै शय्याबाट पनि उज्ज्वलले आजको नेपाली समाजले साथ दिने गुणहरू देखाइदिएर गए ।

उनले निश्चय पनि सबै पार्टीका युवा पुस्तालाई प्रेरित चाहिं गरेका छन् । आजका पार्टीहरूले आफ्नो तौरतरिका नबदले यो छालले बगाउने संकेत मान्नुपर्छ यसलाई ।

उज्ज्वलको कोरोनासँगको आफ्नै लडाइँले उनी र नयाँ पुस्ताले देशमा खोजेको अनेक सुधारमध्ये स्वास्थ्य प्रणालीको कमी–कमजोरी पनि टड्कारै देखाएको छ । महामारीले नेपाली जनस्वास्थ्यमा पूर्व–तयारी कति फितलो रहेछ भन्ने देखाइदियो भने स्वास्थ्यमा भइरहने भ्रष्टाचारलाई  झन् अगाडि ल्याएको छ । व्यवस्थापन, सरकार र आफ्नै मन्त्रालयको समन्वयको कमी पनि प्रष्ट देखाएको छ ।

थापालाई त नेपालको निजी स्वास्थ्य सेवा लिन गाह्रो थियो भने आर्थिक स्रोत वा उनले जसरी आर्जेको सामाजिक पूँजी र संजाल नभएकाले त कि भएभरको धन सम्पत्ति बेच्नुपर्‍यो कि भगवान भरोसे हुन बाध्य हुनुपर्‍यो । यति असंगत छ नेपाली स्वास्थ्य प्रणाली ।

अहिले फर्केर हेर्दा जनस्वास्थ्यमा नेपालले गरेको प्रगति केवल विदेशी दातृ संघसंस्थाले दिएको टेम्प्लट र जानकारीकै आधारमै मात्र भएको हो त ? किनकि अहिले स्वास्थ्यसेवाको परीक्षण भएको बेलामा हाम्रो स्वास्थ्य मन्त्रालयको डोर पकडिएकाले आफ्नो कुशलता त देखाएनन् । तर अहिले कार्यरत कर्मचारीलाई मात्र दोष दिन पनि मिल्दैन किनकि अहिले स्वास्थ्य सेवामा देखिएका कमी–कमजोरी र अभाव पहिलेदेखि नै थिए । यो पनि स्पष्ट भयो कि निजी सेवा केन्द्रलाई अनुमति दिने प्रक्रिया र आवश्यक अनुगमनमा नगण्य वा सारै कमजोरी रहेछन् ।

शायद नियमित अनुगमन भएको भए आज जस्तो आधारभूत सेवा दिने उपकरणहरूको कमी हुँदैनथ्यो होला । अक्सिजनको कमीले एकै अस्पतालमा एकै रातमा बहुसंख्यामा बिरामीहरू मर्दैनथे होला । अस्पतालहरूको अनुगमन भएको भए संचालन गर्न दिएको अनुमति अनुसार न्यूनतम आवश्यक सेवाहरू सुचारु हुन्थे होला ।

नेपालमा स्वास्थ्य सेवमा पहुँच भौगोलिक, शैक्षिक, आर्थिक जस्ता सामाजिक निर्धारकले निर्धारण गर्छ भन्ने यथार्थ नयाँ होइन । तर हाम्रो स्वास्थ्य नीतिमा ती बाधा हटाउने नीतिको कमी सधैं थियो । सरकारी सेवा आर्थिक हिसाबले उपयुक्त भए पनि पहुँच नभएकालाई यो सेवा सुलभ र सहज छैन । अनि बाध्य भएर सकी–नसकी निजी सेवा लिनेलाई अधिकतम आर्थिक भार पर्न आउँछ ।

वास्तवमा स्वास्थ्य सेवाको खर्च बढ्दै गएको गुनासो समाजमा भएको धेरै भइसकेको थियो । तर सुनुवाइ हुने निकायले कानमा तेल हालेर बसेपछि सेवाग्राहीलाई लाचार बनाएको छ । कोरोनाको उपचारक्रममा त झन् धेरैले असामान्य तवरले आकाशिएको खर्च बारे भनिरहेका छन् ।

उज्ज्वल थापा एक मध्यम–वर्गीय परिवारको शिक्षित व्यवसायी, समाजसेवी अनि अलि स्वच्छ छविका राजनीतिज्ञ थिए । उनी थिएनन् त एक भ्रष्ट नेता वा नैतिकता गुमाएका व्यापारी । तर पनि उनी धनी रै’छन् ! उनी असीमित स्रोत भएको व्यक्तित्व रहेछन । किनकि अधिकांश नेपालीको जस्तै उनको उपचारको खर्च उनको आर्थिक क्षमताभन्दा धेरै टाढा रहँदा पनि उनले आर्जन गरेका स्नेहीहरूले स्वस्फूर्त चन्दा संकलन गरेर दुई दिनमा पचास लाख रुपैयाँ उठाए उपचारको लागि ।

थापालाई त नेपालको निजी स्वास्थ्य सेवा लिन गाह्रो थियो भने आर्थिक स्रोत वा उनले जसरी आर्जेको सामाजिक पूँजी र संजाल नभएकाले त कि भएभरको धन सम्पत्ति बेच्नुपर्‍यो कि भगवान भरोसे हुन बाध्य हुनुपर्‍यो । यति असंगत छ नेपाली स्वास्थ्य प्रणाली ।

नेपाललाई इतिहासकै सबैभन्दा जटिल स्वास्थ्य समस्याले ग्रसित बनाइरहेको बेला सरकारको आगामी वर्षको बजेटमा स्वास्थ्यमा कुल बजेटको ७.५५ प्रतिशत ऐतिहासिक विनियोजन गरेर केही गम्भीरता देखाएको छ । हुन त बजेटमा महामारी नियन्त्रणले प्राथमिकता पाएकोले बजेटको आकार सामान्य बेला भन्दा निश्चय नै भिन्न छ ।

महामारीकै  नाममा भए पनि केही पूर्वाधारलाई प्राथमिकता दिनु पनि राम्रै हो । यो महामारीले सामान्य बेलामा पनि चाहिने कति सेवा, सामान, पद्धतिको विकास गर्नुपर्ने औंल्याएको छ । सबैभन्दा महत्वपूर्ण त स्वास्थ्य प्रणालीमै पाराडाइम शिफ्ट गर्नु अति जरूरी भइसक्यो । नभए स्वास्थ्यसेवा अधिकांशलाई आर्थिक क्षमता बाहिर हुन्छ ।

उज्वल कोरोनासँगको लडाइँ हारे पनि म विश्वस्त छु भोलि उनको बाटो अनुसरण गरेका युवा पुस्ता यही स्वास्थ्य क्षेत्र र अन्य बिग्रेका पद्धति सुधार्न लड्ने छन् ।

गत वर्ष महामारीलाई देखाएर सरकारले एकाएक ३०० भन्दा बढी आधारभूत अस्पतालको एकैदिन शिलान्यास गर्‍यो । तर ती शिलान्यास गरेका खाडलहरू खाडल नै मात्र छन् । कहीं फोहोर थुपारिएर त कहीं पानी जम्मा हुने खाडलमै सीमित छन् । बिडम्बना, भोलि त्यही खाडलमा जम्मा भएको फोहोर र पानीले समुदायमा रोग फैलाउने कारक हुन सक्छन् ।

भूत नै भविष्यको सबैभन्दा राम्रो पूर्वसूचक भनिन्छ । विगतका यस्ता लोकप्रिय चुनावमुखी कार्यक्रम त्यतिमै सीमित रहन्छ भन्ने थाहा हुँदाहुँदै पनि विश्वास गरेर उत्साही हुनेमध्ये म पनि परेछु । तर बजेटमा फेरि पनि उल्लेख भएकोले आशावादी चाहिं रहिरहन्छु ।

अहिलेको बजेटले विभिन्न कार्यक्रम र अस्पतालको परिकल्पना गरेको जसरी काम भएको खण्डमा स्थानीय तहबाट नै स्वास्थ्यसेवामा सुधार आउने सम्भावना चाहिं पक्कै देखिन्छ । महिला स्वयंसेविकाहरूलाई मासिक भत्ताले प्रोत्साहन चाहिं दिन्छ तर भौतिक पूर्वाधारको विकास गरे पनि स्वास्थ्यकर्मी र अरू प्रशासनिक र व्यवस्थापन पक्षलाई सुदृढ गर्न बजेट विनियोजन भएको छैन ।

अहिलेको महामारीले व्यवस्थापनको कमजोरीले हुने समस्या स्पष्ट देखाउँदा पनि बजेटले त्यो पाटोलाई अँगालेको छैन । त्यस्तै सुरक्षित र दक्ष सेवा प्रदान गर्न स्वास्थ्य केन्द्रहरूको विद्युतीय रेकर्ड राख्ने पद्धतिको विकास गर्न अति आवश्यक भए तापनि बजेटले समेटेको छैन ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विकास र विस्तार गर्न जति बजेट भए पनि नपुग नै हुन्छ । अरूको अनुदानमा कार्यक्रमलाई भर गर्नुपर्ने देशमा सीमित स्रोतलाई मितव्ययिता अपनाउनुपर्नेमा कुनै व्यक्ति वा राजनीतिक पार्टीको स्वार्थपूर्तिलाई एउटै शहरमा एकपछि अर्को अस्पताल खोल्ने र विस्तार गर्नाले देशका ग्रामीण भेगका नागरिकहरू चाहिं सेवाबाट बञ्चित भइराख्नु परेको छ । हामीलाई सीमित बिरामी संख्याको निदान र उपचारको लागि सुपर स्पेशलिस्ट अस्पतालमा केन्द्रित हुँदा पहुँच नभएका नागरिक संविधानले प्रावधान गरेको स्वास्थ्य सेवाको हकबाट बञ्चित भएका छन् ।

यो बजेटले पनि गत वर्षको जस्तै स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ । त्यो शायद अहिलेकै अवधारणाको स्वास्थ्य बिमा सेवालाई पर्याप्त होला तर यथास्थितिको बिमा आफैंमा नै पर्याप्त छैन । अहिलेको बिमा रकमले साधारण आधारभूत सेवा बाहेक अरू सेवालाई पर्याप्त हुँदैन । यो स्वास्थ्य र बिमा क्षेत्रका जानकारहरूलाई थाहा भएकै कुरा हो ।

प्रत्येक नेपालीलाई सुलभ स्वास्थ्य सेवा सुरक्षित गर्ने एक मात्र उपाय राष्ट्रिय बिमा सेवा नै हो । तर यसको लागि बिमा शुल्क र बिमा रकमको दायरा र सिलिङ बढाउनुपर्छ । बिमा सेवाको शुल्क आयले निर्धारण गर्ने अनि देशका सबै नागरिकलाई निःशुल्क सेवा उपलब्ध हुनुपर्छ । अनि भोलि कुनै पनि बिरामी अस्पताल भर्ना गरेर आफन्तको उपचार खर्चको पीर गर्नुको सट्टा बिरामीको शीघ्र स्वास्थ्य लाभमा केन्द्रित हुनसक्छन् ।

यो लेखमा उल्लिखित कुराहरू वर्षौं मन्त्रालयमा कार्यरत विज्ञदेखि राजनीतिज्ञलाई थाहा नभएको होइन । उनीहरूको इच्छाशक्ति भ्रष्टाचारले दबिएको छ । त्यसैले नेपाललाई उज्ज्वल थापा ब्राण्डबाट प्रेरित युवाले राजनीतिको नेतृत्व गर्नुपर्ने खाँचो छ । उनीमा जुन सम्मान र स्नेह नेपालीले अहिले देखाएका छन् त्यो चुनावमा उपयुक्त प्रयोग हुनुपर्‍यो । आज उज्वल कोरोनासँगको लडाइँ हारे पनि म विश्वस्त छु भोलि उनको बाटो अनुसरण गरेका युवा पुस्ताले यही स्वास्थ्य क्षेत्रदेखि अन्य बिग्रेका पद्धति सुधार्न लड्ने छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?