Comments Add Comment

एनआरएनए स्पेनको सातौँ अधिवेशन : नेतृत्वमा तीन जनाको दाबी

बार्सिलोना । आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिवेशनमा नयाँ नेतृत्वको लागि तीनजनाले दाबी गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय उत्तरकुमार राई, दिनेशकुमार गिरी र कार्यसमितिका सदस्य शालिकराम डुम्रेले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।

दुई दशकभन्दा लामो समय म्याड्रिडमा बसोबास गर्दै आएका वर्तमान कार्यसमितिका उपाध्यक्ष उत्तरकुमार राईले पहिलो पटक बार्सिलोना सहरबाहिरबाट नेतृत्वमा दाबी गरेका छन्। ‘स्पेनको राजधानी म्याड्रिड भए पनि नेपालीहरुको बाक्लो जनघनत्व भएको बार्सिलोनालाई एनआरएनको केन्द्र मान्दै आइरहेको हुँदा यतिबेला बाहिरबाट उमेदवारी दिदाखेरी पनि यहाँहरुले कन्जुसाई नगरिकन सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु।’

अध्यक्षका उम्मेदवार राईले अनलाइनखबरलाई बताए । अहिलेसम्म कै इतिहासमा संघको नेतृत्वका लागि राजनीतिक संस्थाहरुको हाबी भएको हुँदा यसलाई अलि फरकढंगले स्वतन्त्ररुपमा लैजाने उनको तर्क थियो ।

झन्डै २ दशकदेखि बार्सिलोनामा बस्दै आएका अर्का उम्मेदवार डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष समेत हुन्। ‘अहिले सामाजिक संस्थाहरु प्रतिको रुचि घट्दै गएको छ। यसलाई ठूलो चुनौती ठान्दै एनआरएन स्पेनको नेतृत्वको लागि आफूलाई अघि सारेको छु। सके सहमतिमा नभए निर्वाचन प्रक्रियाका लागि पनि तयार छु। मेरो उम्मेदवारी पक्का नै हो,यहाँहरुको साथ सहयोगको अपेक्षा राखेको छु,’ डुम्रेले भने ।

यता कार्यसमितिमा सचिव हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालेका गिरीले आफ्नो उम्मेदवारी स्वभाविक रहेको बताएका छन्। ‘उम्मेदवारीमा दाबीमात्रै होइन समुदायमा दिदै आएको योगदान पनि महत्वपूर्ण हो जस्तो लाग्छ। व्यक्तिवादी र पार्टीगत राजनीतिभन्दा माथि उठेर विदेशमा सबै नेपालीहरु एक हुनुपर्दछ भन्ने मान्यताका साथ अघि बढ्ने निर्णयमा पुगेको हुँ, ‘ गिरीले बताए।

संघसंस्थाहरुको समर्थन कता ?

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले आफ्नो संगठनको उम्मेदवारको रुपमा डुम्रेलाई अघि सारेको बताएका छन्। उनले भने, ‘हामीले बैठकबाट औपचारिक निर्णय भने गरिसकेका छैनौँ तर मोटामोटीरुपमा उहाँ संगठनको पूर्वअध्यक्ष समेत रहेकाले उहाँकै नेतृत्वमा साथीहरुलाई समेटेर एनआरएन अधिवेशनमा जाने मौखिक सहमति भएको छ।’

तर प्रवासी नेपाली मञ्च स्पेन,जनप्रगतिशील मञ्च स्पेन तथा अन्य जातीय तथा क्षेत्रीय संस्थाहरुले हालसम्म अध्यक्ष पदका लागि नै आफ्नो उम्मेदवार खडा गर्नेबारे चर्चा छैन। केही संस्थाका अध्यक्षहरुसँगको जिज्ञासामा आफ्नोत्तर्फवाट नेतृत्व खडा गर्नेबारे अनुत्तरित रहे। तर उनीहरुले अन्तिम समयमा गर्ने संस्थागत समर्थनले भने निर्वाचनको मोड निर्णायक बन्ने आकलन गरिएको छ।

विगतकोभन्दा फरक परिदृश्य

एनआरएनए स्पेनको सातौँ अधिवेशनको परिदृश्य विगतभन्दा अलिकति फरक देखिएको छ। हालसम्म चार वटा क्षेत्रीय समितिहरुसमेत विस्तार भइसकेको संघमा यसपटक केन्द्र (बार्सिलोना) र क्षेत्रहरुबीचको (बार्सिलोना बाहिर) प्रतिस्पर्धा हुने परिदृश्य देखिएको हो।

एनआरएनए क्षेत्रीय समितिका पूर्वअध्यक्षसमेत रहेका राईले आगामी नेतृत्वको लागि म्याड्रिडबाट उम्मेदवार दिने बताएपछि केन्द्र भर्सेस क्षेत्रको चर्चा चुलिएको छ। संघको इतिहासमा नै बार्सिलोना बाहिरबाट एनआरएनए स्पेनको नेतृत्वमा दावी गरेको यो पहिलो पटक हो ।

होला त भागबण्डाको सहमति ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आँफूलाई स्वतन्त्र, गैरनाफामुलुक,गैरराजनीतिक,गैरसरकारी संघको रुपमा व्याख्या गर्दै आएको छ। तर यो केवल विधानको पानामा मात्रै सिमित रहेको छ। प्रत्येक दुई वर्षमा राष्ट्रिय समन्वय परिषद्हरुको अधिवेशनमा राजनीतिक दलका प्रवासस्थित संगठन वा भातृसंस्थाहरुको प्रभाव छरप्रष्ट देखिदै आएको छ। यसमा स्पेन पनि अछुतो छैन।

विगतका ६ वटा अधिवेशनमध्ये दुईवटा अधिवेशनमात्र निर्वाचनमार्फत सम्पन्न भएका हुन्। बाँकी अधिवेशनहरु मुलत: राजनीतिक दलका प्रवासस्थित संगठनहरुले भागबण्डामा पद बाँड्दै सहमतिको नाममा कार्यसमिति चयन गर्दै आएको इतिहास छ। सहमतिका लागि भन्दै संघले वर्तमान कार्यसमितिका अध्यक्ष दिनेश गुरुङ देउकाजीको संयोजकत्वमा समन्यव समितिसमेत गठन गरिसकेको छ।

चुनाव गर्नुपरे केन्द्रको सहयोग लिन्छौँ :- अध्यक्ष गुरुङ

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले चुनावी प्रक्रियामा जानुपर्ने अवस्था आए केन्द्रको सहयोग लिने बताएका छन्। कोभिडको कारणले प्रत्यक्ष सहभागी भएर मतादान गर्ने अवस्था नरहेको बताउँदै उनले केन्द्रको सहयोग लिने बताएका हुन्। ‘अनलाइन भोटिङको प्रक्रियामा जानुपर्ने अवस्थामा हामी केन्द्रको सहयोग लिन्छौँ। थर्ड पार्टीसँग सम्पर्क गर्दैनौँ।आईसीसीले नै उपलब्ध गराउने प्रविधिलाई प्रयोग गरेर चुनाव गराउछौँ। उहाँहरुले कम्तिमा १५-२० दिनअघि खबर गर्नुपर्छ भन्नुभएको छ। त्यही अनुसार अगाडि बढ्छौँ।’ उनले भने।

जुन २५ सम्म एमआईएस सिष्टमबाट पंजीकृत सदस्यता दर्ता गर्ने समयसीमा रहेको गुरुङले बताए। ‘समयसिमाभित्र नै सदस्यता लिन स्पेनबासीलाई अनुरोध गर्दछु । २५ जुन अन्तिम मिति हो। त्यसपछि लिइएको सदस्यतालाई यसपटक मतादानमा सहभागी गराउन सक्तैनौ।’

संघले निर्वाचन प्रक्रिया सम्पन्न गर्न हेम शेर्पाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। समिति गठन प्रक्रियामा नेपाली जनसम्पर्क समिति स्पेनले असन्तुष्टि व्यक्त गरेको छ। समितिका अध्यक्ष इन्द्र शर्माले प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्षलाई नै समितिको संयोजक बनाउनु निष्पक्ष नरहेको प्रतिक्रिया दिए। उनले भने, ‘निर्वाचन प्रक्रिया निष्पक्ष रहनुपर्छ। राजनीतिक दलसँग सम्बन्धित संस्थाको अध्यक्ष नै निर्वाचन समितिको संयोजक हुनु आफैमा विवादस्पद रहेका छ,’ उनले थपे।

तर संघका अध्यक्ष गुरुङले एकपटक निर्वाचन समितिको संयोजक रही काम गरेको अनुभवी मान्छेलाई आफूले समितिमा ल्याएको बताएका छन्। ‘पाँचौ अधिवेशनमा उहाँले निर्वाचन समितिको संयोजक रही कसरी काम गर्नुभएको थियो स्पेनवासी नेपालीहरुलाई थाहा नै छ। कार्यसमितिको निर्णयले उहाँलाई जिम्मेवारी दिएको हो। उहाँमात्र होइन एउटा सिंगो टिम छ। यसमा विवाद गर्नुपर्ने त्यस्तो केहि देख्दिन।’

हालसम्म ६९५ जना पंजीकृत सदस्य, ७० प्रतिशत बार्सिलोना बाहिर

पंजीकृत सदस्यता वितरणको अन्तिम मिति २५ जुन रहेपनि हालसम्म ६ सय ९५ जना एमआईएस प्रणालीमार्फत सदस्य बनेको संघले जनाएको छ। दर्ता भएका सदस्यहरु मध्ये ७० प्रतिशत बार्सिलोना बाहिर क्षेत्रीय समितिहरुबाट रहेका छन् ।

गत अधिवेशनमा २ हजार ३ सय ९६ पंजीकृत सदस्यता भएपछि इतिहासमै पहिलोपटक स्पेनलाई दुई आईसीसी पद प्राप्त भएको थियो। तर यसपटक २ हजार सदस्यहरु एमआईएस प्रणालीमा अनलाइन दर्ता गर्न कठिन रहेको कार्यसमितिमा एक सदस्यले बताएका छन्।

केन्द्रले यसअघिको अधिवेशनमा एमआईएस प्रणालीमा दर्ता नभएका सदस्यहरुलाई पनि मान्यता दिएको थियो। तर यसपटक अनिवार्य दर्ताको प्रावधान रहेको छ। तीन साताभित्र २ हजार बढी सदस्यहरु नबने एनआरएनए स्पेनले एकजना मात्र अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) प्राप्त गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment