Comments Add Comment

प्रदेश २ सरकार : कांग्रेसको साथ खोज्दै जसपाको दुबै पक्ष

२० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको फुटको असर प्रदेश २ सरकारमा देखिएको छ । सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारेका हुन् ।

जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा जसपा पार्टी एक भएपछि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।

यससँगै प्रदेश २ को सत्ता समीकरण हेरफेर हुने संकेत देखिएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा गठबन्धन बनाएर चुनाव लडेका थिए । दुबै दल मिलेर प्रदेश सरकार बनाए । वैशाख २०७७ मा दुबै पार्टीबीच एकता भएर जसपा बनेको थियो ।

तर एक वर्षमै फुटतिर लागेका उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष प्रदेश सरकार गुमाउन चाहँदैनन् । त्यसैले विपक्षी दलसँग सत्ता गठबन्धनबारे छलफल थालेका छन् ।

दुबै पक्षका नेताहरुले सत्ता सहकार्यका लागि आफूसँग छलफल कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन् । उनका अनुसार मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सत्ता सहकार्यका लागि छलफल गरेका छन् । ‘दुबै जनाले सत्ता सहकार्यका लागि आग्रह गर्नुभएको छ’ नेता यादव भन्छन्, ‘पार्टी फुटिनसकेको अवस्थामा कसरी सहकार्य गर्ने ? दुबै जनालाई यही भनेको छु ।’

मुख्यमन्त्री राउत तत्कालीन सपा पक्षका हुन् भने मन्त्री सोनल तत्कालीन राजपा पक्षका नेता हुन् ।

संसदीय दलका नेता यादवका अनुसार जसपा फुटेको अवस्थामा सहकार्य गर्न कांग्रेस तयार छ । ‘दुबै नेताले सत्ता सहकार्यबारे गरेको कुरा पार्टीको माथिल्लो निकायसम्म पुर्‍याउँछौं’ उनले भने, ‘उताबाट आउने निर्देशनअनुसार आफूहरु अघि बढ्छौं ।’

जसपाका एक सांसदले पनि नयाँ सत्ता समीकरणका लागि प्रयास भइरहेको स्वीकार गर्छन् । उनका अनुसार उपेन्द्र यादव पूर्व राजपालाई सरकारबाट निकालेर कांग्रेस, माधव नेपाल समूहको एमाले र माओवादीसँग सरकार बनाउन खोजेका छन् ।

केन्द्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको पूर्व राजपा पक्षले भने एमालेको साथ लिएर सरकार बनाउन चाहेको छ ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भने तत्काल सरकार परिर्वतनको सम्भावना नभएको दाबी गर्छन् । ‘हामी नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छौं’ उने भने ।

कांग्रेस बन्नसक्छ निर्णायक

प्रदेशमा कुल १०७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १०४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।

यसैगरी नेकपा एमालेको कुल २१ सांसद छन्, जसमध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

यदि सत्तारुढ दलमा विभाजन आयो र तत्कालीन सपा र साजपाले आफ्नो सांसद संख्या कायमै राखेमा दुई दल मिलेर सरकार बन्दैन । उपेन्द्र यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्छ । त्यसो भएमा सहजै सरकार बन्छ । तर राजपाले एमालेको मात्र साथ पाएर सरकार बनाउन सक्दैन । कांग्रेस वा माओवादी केन्द्रमध्ये कम्तीमा एक दलको समर्थन जुटाउनुपर्छ । जुन सहज देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment