Comments Add Comment

जोर्डनसँग ९ गोल खाएको साक्षी बन्दा …

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै छ । नेपालले जोर्डनसँग खेल्ने दिन मलाई १० वर्षअघि नेपाल र जोर्डनबीचको खेल सम्झना आयो ।

सन् २०१४ को विश्वकप छनेट खेलमा नेपालले दोस्रो चरणमा जोर्डनलाई प्रतिद्वन्द्वी पाएको थियो । जसअनुसार नेपालले सन् २०११ को जुलाई २३ मा जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा पहिलो लेग खेलेको थियो । त्यो खेलको रिपोर्टिङका लागि मैले जोर्डन जाने मौका पाएको थिएँ ।

त्यतिबेला जोर्डन फिफा वरियतामा ९१ औं स्थानमा थियो भने नेपाल १ सय ३६ औं स्थानमा । नेपालले पहिलो पल्ट वरियतामा सयभित्र परेको टोलीसँग खेल्दै थियो ।

जोर्डनसँग होम एण्ड अवेमा २ खेल हुने र यी खेलमा जोर्डनलाई जित्न सके नेपालले विश्वकप छनोटको तेस्रो चरण पुग्ने थियो । तेस्रो चरणमा समूहगत खेल हुने थियो । समूह चरणमा ३ वटा प्रतिद्वन्द्वीविरुद्ध ६ खेल खेल्न पाउने हुँदा टोलीले जोर्डनलाई उसकै घरेलु मैदानमा बराबरीमा रोक्ने र त्यसको ५ दिनपछि काठमाडौंको दशरथ रंगशालामा हराउने रणनीति बनाएको थियो ।

यो रणनीतिका सूत्रधार थिए तत्कालीन नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्राहम रोबर्टस् । उनले अम्मान रंगशालामा खेल शुरु भएको सिठ्ठी फुक्नुअघिसम्म पनि खेलाडीलाई यो रणनीति सम्झाउँदै उत्साह थपिरहेका थिए ।

तर, उत्साहसँगै नेपाली टोलीलाई फराकिलो अन्तरले पराजित हुन्छौं कि भन्ने डर थियो । त्यसैले होला विदाई गर्ने बेलामा नै अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले जोर्डनसँग बराबरी गरे जित सरह हुने बताएका थिए । मुख्य प्रशिक्षक ग्राहम रोबर्टसले पनि नेपाली टिमले फराकिलो हार व्यहोर्दैन भनेर विश्वस्त पारेका थिए ।

त्यतिमात्रै होइन उनले नेपाली टिमका डिफेन्डर रोहित चन्दलाई इंग्लिस क्लब आर्सनल र टोटेनह्याम क्लबले चासो देखाएको र ती क्लबका प्रतिनिधि चन्दको खेल हेर्न रंगशालामा आउने सूचना दिएर खेलाडीको उत्साह थपेका थिए ।

नेपालसँगको खेलअघि जोर्डनका मुख्य स्ट्राइकर युदम सेफी र डिफेन्डर खलिल बानी अतिया घाइते थिए । उनीहरूले नेपालसँग खेल्न नसक्ने भएपछि जोर्डनका सहायक प्रशिक्षक अहमद अल चादर निक्कै चिन्तित थिए । जुन कुरा नेपाली टिमका लागि प्लस प्वाइन्ट बनेको थियो ।

तर, सन् २०११ को २३ जुलाईमा अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल नेपालले सोचे जस्तो भएन, जोर्डनको समयअनुसार बेलुकी ७ बजे शुरु भएको खेलको सातौँ मिनेटमा नै जोर्डनका अब्देल फताहले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गरेर जोर्डनलाई अग्रता दिलाए ।

१७ हजार घरेलु दर्शकले भरिएको रंगशालामा यो गोलले जोर्डनको टिममा उत्साह थप्यो भने नेपाली टिममा दवाब । ७२ औं र ८३ औं मिनेटमा थप गोल गरेर ह्याट्रिक गरेका उनले ९० औं मिनेटमा व्यक्तिगत चौथो र जोर्डनको तर्फबाट नवौं गोल गरे र नेपाललाई त्यतिबेलासम्मकै फराकिलो अन्तरले हराए ।

यो खेलमा जोर्डनका अमिर दीबेले २० औं र ५७ औं तथा हयेलले ३१ औं र ६२ औं मिनेट गोल गरे । अब्दल्लाह दीबले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

नेपाललाई फराकिलो अन्तरले हराउने जोर्डनको टिमलाई शारीरिक रुपमा अग्ला र बलिया खेलाडीले मात्र हैन, रंगशालामा उपस्थित १७ हजार घरेलु समर्थकले पनि उत्तिकै साथ दिएका थिए । अनि त्यहाँको मौसमले पनि नेपालको खेललाई असर गरेको थियो ।

१८ हजार क्षमताको यो रंगशालामा नेपालको हौसला बढाउन झण्डै ५ सय जना समर्थक पुगेका थिए । खेल शुरु हुनुअघि निक्कै उत्साही देखिएका उनीहरु नेपालको पोष्टमा गोल थपिँदै जाँदा रंगशालाबाट बाहिरिन थालेका थिए ।

अन्तिमसम्म मैदानमा रहेर नेपाली टिमलाई भेट्न आएका केही समर्थक निक्कै निराश थिए, र उनीहरुभन्दा बढी निराश थिए नेपाली खेलाडी ।

नेपालका गोलकिपर किरण चेम्जोङ जसले होटलदेखि रंगाशालासम्म पुग्ने क्रममा बसमा खेलाडीको हौसला बढाएका थिए, पशुपतिनाथदेखि बुढासुब्बासम्मलाई भाकेका थिए, उनलाई नै मैले सबैभन्दा दुखी देखेँ । उनी खेलपछि मैदानमै रोएका थिए । आफ्नै कारणले ९ गोल खाएको उनको ठम्याई थियो ।

काठमाडौंको दशरथ रंगशालमा त्यसको ५ दिनपछि भएको दोस्रो लेगमा जोर्डनलाई १-१ को बराबरीमा रोकेर नेपालले यसलाई प्रमाणित गरेको थियो । पहिलो खेलमा जसरी ९-० को अप्रत्याशित हार नेपालले व्यहोरेको थियो, त्यसैगरी यो बराबरी अर्को अप्रत्याशित नतिजा थियो ।

उनै किरणको चेम्जोङको कप्तानीमा नेपालले जोर्डनको त्यही रंगशालामा २ वर्षअघि खेलिसकेको छ । ९-० ले हारेको ८ वर्षपछि १५ अक्टुबर, २०१९ मा भएको विश्वकप छनोटकै खेलमा नेपाल ३-० ले पराजित भयो । ९-० को नतिजालाई ७ वर्षपछि ३-० मा झारेको नेपाललाई त्यसको दुई वर्षपछि नतिजा उल्टाउने अवसर छ ।

१० वर्षअघि ९-० र दुई वर्षअघि ३-० ले हार्दाका साक्षी चेम्जोङ आजको खेलमा पनि कप्तान छन् । तर टिममा रहेका अधिकांश खेलाडीले जोर्डनसँग पहिलो पल्ट खेल्दै छन् ।

कुवेती प्रशिक्षक मोहमद अलुमुताइरीले प्रशिक्षणको जिम्मेवारी सम्हाले लगत्तै टिममा परिवर्तन गरेका छन् र रक्षात्मक खेल्ने नेपाललाई आक्रामक बनाएका छन् ।

यसअघि कुवेतसँगको मैत्रीपूर्ण र चाइनिज ताइपेईसँग भएको विश्वकप छनोटको खेलमा देखाएको प्रदर्शन दोहोर्‍याउँदै र त्यसमा केही सुधार गरेमा जोर्डनसँग बदला लिने अवसर नेपालले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment