Comments Add Comment

दीपक बोहरालाई प्रश्न : के राप्रपा सरकारमा जाँदै हो ?

२४ जेठ, काठमाडौं । यतिबेला चर्चा छ– राष्ट्रिय प्रजातन्त्र पार्टी केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदैछ । साथै, सरकारमा जाने विषयमा पार्टीभित्र विवाद उत्पन्न भइसकेका खबर पनि सार्वजनिक भएका छन् ।

यद्यपि पार्टीका नेताहरूले भने यस विषयमा कुनै पनि छलफल नभएको बताएका छन् । ‘के राप्रपा सरकारमा जान लागेको हो’ भन्ने विषयमा अनलाइनखबरकर्मी कमलदेव भट्टराईले राप्रपा नेता दीपक बोहरासँग गरेको कुराकानी :

राप्रपा सरकारमा जाँदैछ भन्ने चर्चा छ, के त्यसै हो ?

कतैबाट खबर आएको छैन । बाहिर आएको हल्लामा कुनै पनि सत्यता छैन ।

यो विषयमा पार्टीभित्र औपचारिक वा अनौपचारिक केही छलफल भएको छ ?

सर्वप्रथम त प्रधानमन्त्रीले आग्रह नै गर्नुभएको छैन । त्यो आग्रह नगरिसकेको कुरामा पार्टीभित्र छलफल गर्नुपर्ने कुनै औचित्य नै छैन ।

प्रधानमन्त्रीले सरकारमा आउनुस् मिलेर चुनावमा जाऊँ भन्नुभयो भने सरकारमा जानुहुन्छ ?

चुनावमा जाने त हामीले भनिसक्यौं । यद्यपि कोभिड छ, सकभर सबैलाई कोरोना खोप लगाएर मात्र चुनावमा जानुपर्छ । यो हाम्रो माग पनि हो । चुनावमा त हामी जान्छौं नै, जानुपर्छ । यो अवस्थामा प्रधानमन्त्रीले बोलाउनुभयो भने हाम्रो पार्टीभित्र छलफल हुन्छ र हामी सामूहिक निर्णय लिन्छौं । सामूहिक निर्णयले जे गर्छ, हामी त्यही अनुसार गर्छौं ।

प्रधानमन्त्रीले सरकारमा आउनुस् भनेर औपचारिक रूपमा आग्रह गरेको खण्डमा जाने सम्भावना कत्तिको छ ?

उहाँले आह्वान गर्नुभयो भने हाम्रो पार्टीको उच्चस्तरमा छलफल गरेर जानु उचित छ कि अनुचित छ भनेर सल्लाह गरेर एकमत भएर निर्णय गर्छौं ।

उसो भए राप्रपा सरकारमा जाँदैछ भन्ने होइन त ?

त्यसमा कुनै पनि सत्यता छैन ।

अहिले दुई धार छ, एउटा प्रधानमन्त्रीले नेतृत्व गरेको र अर्काे कांग्रेसले नेतृत्व गरेको गठबन्धन । राप्रपा त दुवैतिर देखिएन नि ?

हाम्रो फरक एजेण्डा छ, हामीले राजा सहितको लोकतन्त्रको कुरा गरेका छौं । हाम्रो एजेण्डा हिन्दू राष्ट्र रहेको छ । हाम्रो पहिचान नै पृथक् भएकाले हामी दुवै समूहमा छैनौं ।

राप्रपाभित्र पछिल्लो समयमा नेतृत्वमा खट्पट बढेको देखिन्छ, के कारणले हो ?

हाम्रो सम्झौता अनुसार वैशाख २७ गते अधिवेशन गर्नुपर्दथ्यो । त्यसपछि हामीले जेठको २२ गते अधिवेशन गर्ने भन्यौं । अधिवेशन नभएको अवस्थामा अब अगाडि कसरी बढ्ने भन्ने विषयलाई हामी सबैले मनन गर्नुपर्ने भएको छ । तर पार्टी फुट्ने र समस्या आउने कुनै सम्भावना छैन ।

अब फेरि आमचुनाव हुने अवस्थामा हामी चुनावपछि महाधिवेशन गर्छौं, यदि संसद पुनर्स्थापना भएको खण्डमा दुई–चार महीनापछि महाधिवेशन गर्छौं । अधिवेशनले मात्रै पार्टीलाई एकल नेतृत्वमा लैजान्छ । विभिन्न अवस्थामा हामी मिलेर आएका छौं, यसको निकास नै अधिवेशन हो ।

पार्टीको लाइन चुनाव हो कि पुनर्स्थापना ?

यो विषय अदालतमा विचाराधीन अवस्थामा रहेको छ । त्यसमा हामीले केही बोल्दा अदालतको मानहानि हुन्छ । अदालतले जे निर्णय गर्छ, त्यो हामीलाई स्वीकार्य छ ।

अब चुनावमा जाँदा तपाईंहरूको गठबन्धन कोसँग हुन्छ, केपी ओली कि कांग्रेससँग ?

पहिलो त विकल्प खुल्नुपर्‍यो अर्थात् चुनाव के हुन्छ अदालतले निर्णय गर्नुपर्‍यो । त्यसपछि हामीले पार्टीलाई सहज हुने के अवस्था सिर्जना हुन्छ, छलफल गरेर टुंगोमा पुग्छौं ।

संसद भंगपछि राजतन्त्रको बारेमा नेताहरूले धेरै अभिव्यक्ति दिएका छन्, के हो यो विषय ?

पार्टीको आधिकारिक लाइन राजासहितको लोकतन्त्र हो, त्यसमा कुनै विवाद छैन । पार्टीको आधिकारिक लाइन अनुसार नै नेताहरूले बोलेका छन् । धर्मको बारेमा जनमतसंग्रह गरियोस् भन्ने पार्टीको लाइन हो । राजा हटाउने लगायत विषयहरू जनताको माग होइन ।

केही समूहको स्वार्थले राजतन्त्र पनि हटाइयो, हिन्दू राष्ट्रलाई पनि खारेज गरियो । रातारात भएको खेलमा जनताको अभिमत छैन, त्यसैले हामीले खोजेको जनमत संग्रह हो । अथवा राउण्डटेबल गरेर राजालाई पनि ठाउँ दिनुपर्छ र हिन्दू राष्ट्र पनि कायम राख्नुपर्छ भन्ने हाम्रो माग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment