Comments Add Comment

रिसको राजनीतिकरण !

रिसको राजनीतिकरण ! यी दुई शब्द फ्याट्ट मनमा आएपछि लाग्यो, कस्ता-कस्ता कुरा पनि सोच्न पुगिन्छ ! भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई राजनीतिक जिम्मेवारीमा रहेकाको नेतृत्वमा एक समूहले कुटपिट गरेको थियो ।

डाक्टर रामेश कोइराला सो विषयमा एउटा अन्तर्वार्तामा भन्दै थिए– ‘हाम्रो दुई पुस्ता समृद्धिको आसमै बितिसकेको छ । आस गरेको छ, आन्दोलन गरेको छ । यसले पो हुन्छ कि, वा त्यसले पो गरिहाल्छ कि भनेर नेतृत्व मात्रै होइन, राजनीतिक प्रणाली नै पटक–पटक परिवर्तन गर्दा पनि समृद्धि नदेखेको समाजमा आक्रोश छ, निराशा छ, क्षोभ छ । त्यो आक्रोश, निराशा, क्षोभले कहीँ न कहीँ निकास खोज्छ ।’

उनको विचार पढ्दै गर्दा मेरा मनमा रिसको राजनीतिकरण भन्ने शब्द आएको थियो । एकछिन रिसको राजनीतिकरणमा घोत्लिएँ । दुई शब्दबीचमा सम्बन्ध छ कि, छ कि झैं लाग्न थाल्यो । सबैचिजमा राजनीति घुस्छ भनिन्छ नैं । रिसमा राजनीति घुस्यो कि, राजनीतिमा रिस ? त्यसबारे चर्चा गर्ने नै छु, सुरुमा केहि प्रसंगहरूः

३० वर्षअघि सुनेको प्रसंग

चुनावको माहोल थियो । गाउँमा घरको दोस्रो तल्लामा एउटा पार्टीको बैठक थियो । उम्मेदवार पनि बैठकमा थिए । बैठक सकेर तलाबाट ओर्लने क्रममा उनी भर्‍याङमा अल्झेर लडे । सामान्य चोटपटक लाग्यो । भोलीपल्टदेखि भाषणमा तीं नेता भन्न लागे ‘मलाई विपक्षीहरूले आक्रमण गरे ।’ यही आक्रमणको झुटो मुद्दा बेचेर उनी चुनावमा विजयी भए ।

२० वर्षअघि भोगेको प्रसंग

उच्च सुरक्षा व्यवस्था भएको मानिने नारायणहिटी दरबारमा हत्याकाण्ड भयो । एकथरीले त्यसमा दिपेन्द्रको हात देखे । अर्काथरीले पारसको । दिपेन्द्रको हात हो भनेर सुरुवाती समाचार दिनेमध्येका एक सम्पादकले २ वर्षअघितिर भने ‘मानिसहरू यत्ति धेरै सडकमा आएका थिए कि, त्यसले के गर्छ भन्ने आंकलन गर्न नसकिने अवस्था रह्यो । त्यो साम्य भयो भने बाँकी कुरा हुँदै गर्छ भन्ने मान्यता राखियो र केहि सम्पादकहरूसँग सल्लाह गरेर दिपेन्द्रको हात हो भन्ने एंगल छनौट गरियो । सहि के हो भन्ने कुरा अहिले आयो भने पनि हामी आत्मालोचित हुन्छौं र सहि कुरा छाप्छौँ ।’

राजनीतिक दलका नेताले चियागफमा भने ‘घटना कसले गरायो थाहा भएन । तर दलहरूले पारसलाई दोष लगाउँदा त्यसले दलका लागि फाइदा हुन्थ्यो । तर मलाई के लाग्छ भने घटना पारसले नगराएका हुनसक्छन् ।’

१० वर्षअघि अनुभव गरेको प्रसंग

गाउँमा पञ्चायत उही जातले जितेको थियो। वहुदलपछि गाविस अध्यक्ष पनि उही जातको भयो, नागरिकले मतदान गरेर । नयाँ नेपाल बनाउने अभियानमा नारा आयो –आप्रवासी र आदिवासी । शोषक र शाषित । उसका घरमा गएर बनी गर्ने शोषक भो । चुनाव जितेर शासन गर्ने शोषित ।

अलिक केलाएर हेर्ने हो भने यी सबै नारा दिनेहरू एकै छन् । हिजो पञ्चायतमा खाइपाइ आएको मान्छे व्यवस्था परिवर्तन हुनेवित्तिकै उग्र क्रान्तिकारी भएको छ ।

कति वर्षदेखि त्यहाँ बसेको जानकारी नभएको मान्छे आप्रवासी भयो । २ वर्ष अघि बसाइँ आएको आदिवासी ! गज्जब गज्जबका बहस सुनेपछि लाग्थ्यो यस्ता दिन सधैं होलान् कि ? वर्षौं बसिआएको ठाउँ त पराई भयो, आफ्नो भन्ने ठाउँ चैं कता होला ?

२–३ वर्षअघि पढेका प्रसंग

माओवादी जनयुद्धको सुरुवात राँकुली चौरबाट भएको थियो । त्यो कुनै राजनीतिक कार्यक्रम थिएन । गाउँमा लाग्ने परम्परागत जात्रा थियो । एकजना लेखकले लेखेको पढियो । अझ माओवादीका इमान्दार नेतामध्ये मानिने अमिक शेरचनका भनाइमा रोल्पाको एउटा ‘जात्रा’मा नेपाली कांग्रेस र हाम्रा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भयो । नेपाली कांग्रेसका केटीहरूसँग हाम्रा कम्युनिष्ट केटाहरूले गीत गाएपछि उत्पन्न भएको घटनाले पार्टीभित्र निकै ठूलो अन्तसंर्घष ल्यायो ।

अब सबैलाई एकै ठाउँमा राखेर घोत्लिऔं, कस्तो देखिन्छ । हाम्रा मान्यताहरू । हामीले बुझेका तथ्यहरू । भएका तथ्यहरू ।

विकास के हो ? यसलाई कति वर्ष समय दिनुपर्छ ? के कुरा पुरा भए विकास हुन्छ ? कम्युनिस्टले शासनसत्ता चलाउँदा विकास हुने हो कि ? कांग्रेसले शासनसत्ता चलाउँदा ? राजाले चलाउँदा हुने हो कि ? जनताका छोराले चलाउँदा ? बहसहरू जारी छन् । समस्या एकातिर, समाधान अर्कातिर भएपछि न बहस सिद्धिन्छन् न विकास हुन्छ । मात्रै रमिता हुन्छ ।

राजनीतिले मात्रै सपना देखाएको छ । सपना कसरी पुरा गर्ने भन्नेमा ऊ आफैं अलमलमा छ । इमान नभएपछि राजनीतिले समाजमा रिसलाई हतियार बनाएको छ । मानिसहरू नजिक पर्लान । कुरा गर्लान । सत्य पहिल्याउलान् भन्ने बुझेर ऊ समाजमा बिग्रह सिर्जना गरिरहेको छ । हामी आफ्नै दारा किटेर आफ्नै अनुहार विगार्दै छौँ ।

राजनीति सबैतिर यस्तै हुन्छ कि यता मात्र हो, म जान्दिन । एकजना न्यायाधिसले विदेश जाँदाको कुरा कतै लेखेका थिए । त्यहाँको एकदमै विवादित मानिएको फैसलाका बारेमा उनले अर्का न्यायाधिको टिप्पणी सुन्न चाहेका रहेछन् । जवाफ पाएछन्–हामीसँग कुराकानी गर्नका लागि अनेकौं विषयहरू छन् । फैसला भइसकेको विषयमा टिप्पणी गर्न मेरो मर्यादाले दिँदैन ।’

रिस व्यक्तिगत विषय हो । भनेकोजस्तो भएन भने हरेक मानिस रिसाउँछ । त्यसपछि उसले जुनसुकै प्रतिक्रिया जनाउन सक्ला । यही रिसका कारण उसले आफ्ना सीमा तथा परिधिहरू निर्माण गर्छ । यसैलाई राजनीतिले उपयोग गरिरहेको छ । बहुदल÷निर्दल, पञ्चायत÷प्रजातन्त्र, प्रजातन्त्र÷गणतन्त्र, एकात्मकता÷संघीयता यस्तै यस्तै नाममा ।

यसलाई अलिक केलाएर हेर्ने हो भने यी सबै नारा दिनेहरू एकै छन् । हिजो पञ्चायतमा खाइपाइ आएको मान्छे व्यवस्था परिवर्तन हुनेवित्तिकै उग्र क्रान्तिकारी भएको छ । उही पात्रले उही परिवेशमा उही सामथ्र्ये अझ घटेको बेला परिवर्तनको छनक दिन सक्दैनथ्यो, सकेन ।

त्यसपछि उमाथि नै औंला उठ्ने भएपछि उसले विभिन्न बहानाबाजीहरू खोज्यो । उसले हामीलाई हिजो खत्तमै थियो भनेर त्यसमाथि रिस उठायो । हामी रिसले उफ्रिन थाल्यौं । उसले आफू बसेको आसन अझै बलियो बनायो । हामीमा रिस थियो, एकअर्कामा कुस्ती खेलेर बस्यौं । ऊ अझै बलियो भयो ।

महाकाली सन्धी भएमा नेपाललाई फाइदै फाइदा हुन्छ भन्नेहरू अहिले के भन्छन् ? तिनीहरू या सत्तामा छन्, नभए पनि मुलधारको राजनीतिमा छन् । फलानो नेता यति भ्रष्टचारी हो भनेर पुस्तकै प्रकाशन गरेकाहरू अहिले उसँगै काँध थापेर हिँड्न किन तयार छन् ?

यसलाई पुष्टि गर्न केही उदाहरण हेरौं । महाकाली सन्धी भएमा नेपाललाई फाइदै फाइदा हुन्छ भन्नेहरू अहिले के भन्छन् ? तिनीहरू या सत्तामा छन्, नभए पनि मुलधारको राजनीतिमा छन् । फलानो नेता यति भ्रष्टचारी हो भनेर पुस्तकै प्रकाशन गरेकाहरू अहिले उसँगै काँध थापेर हिँड्न किन तयार छन् ?

फलानो पार्टी-नेताले रजगज गर्न नपाए नेपाल सकिन्छ भनेर पानाका पाना लेख्न सक्ने विद्धान अहिले कहाँ छन् ? गाउँमा जनतालाई लगेर भारतविरुद्ध बंकर युद्ध गर्ने भनेर बंकर खनाउनेहरू त्यसैबेला यो केही हैन है भनेर भारतीय गुप्तचर संस्थालाई किन चिठी लेख्थे ?

सबै हेरेपछि लाग्छ हामीमा रिसका लागि आवाश्यक तर्क–प्रमाण भरिदिएर उनीहरू भोज खाइरहेका छन् । त्यो पनि हाम्रो भागमा परेको अन्नको !

अन्तमा, वालुवाटार जग्गामा मुछिएकाहरूको नामलिष्ट हेरेपछि म चकित परेँ । त्यसमा समाज परिवर्तनको जिम्मा पाएका राजनीतिक व्यक्ति, ठूला व्यापारी, उच्च पदस्थ कर्मचारी थिए । सँगसँगै आएको वाइडबडी काण्डमा पनि ठूला दलहरू मुछिएका थिए ।

यो पढेपछि चिया गफमा मैले एकजना राजनीतिज्ञलाई सोधेको थिएँ– ‘भद्रगोल मात्रै पो देखिन्छ त ? यो भर्खरैको सुरुवात हो कि अन्तिम अन्तिम ?’ उनले जवाफमा भनेका थिए– ‘यो सुरुवात मात्रै हो अर्जुन । अन्तसम्ममा त के के देख्नुपर्नेछ पर्नेछ ।’ उनले भनेकैजस्तो हुँदै गएको त छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment