Comments Add Comment

भारतमा कोरोनाको दोस्रो लहरमा बालबालिका धेरै संक्रमित भएका हुन् ?

२६ जेठ, काठमाडौं । भारतमा पछिल्लो केही समययता कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा निरन्तर कमी आइरहेको छ । यद्यपि बुधबार भारतमा देखिएको ९२ हजार संक्रमितको संख्या विश्वका अन्य मुलुकको तुलनामा धेरै हो ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकामा धेरै संक्रमण देखिएको थियो । बालबालिकामा कोरोनाको जोखिम कम हुने भनिएकोमा दोस्रो लहरमा संक्रमित बालबालिकाको संख्या धेरै देखिएपछि पुरानो तथ्यमा प्रश्न उठेको छ । यो प्रश्नको उत्तरका लागि भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्नु जरुरी हुन्छ ।

भारतमा सन् २०२१ मा कोरोनाबाट संक्रमित हुनेमध्ये २.९७ प्रतिशत १० वर्षभन्दा कम उमेरका बालबालिका छन् । यो संख्या सन् २०२० मा ४.०३ प्रतिशत थियो । त्यस्तै सन् २०२१ मा समग्र कोरोना संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मानिसको हिस्सा ८.५ प्रतिशत छ । सन् २०२० मा उनीहरुको हिस्सा ८.०७ प्रतिशत थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कोरोनाबाट संक्रमित हुने १० वर्षमुनिका बालबालिकाको संख्या कम छ । यस्तै ११ देखि २० वर्ष उमेर समूहमा पनि संक्रमित हुनेको संख्यामा धेरै बढेको देखिंदैन । समग्र कोरोना संक्रमितमध्ये यो उमेर समूहका मानिसको हिस्सा सन् २०२० को भन्दा ०.४३ प्रतिशत मात्र बढी हो ।

‘प्रतिशतको तुलनामा खासै फरक नभए पनि पहिलो र दोस्रो लहरमा कोरोनाबाट संक्रमित हुने बालबालिका तथा किशोरको संख्यामा भने ठूलो अन्तर छ,’ मुम्बईकी बाल रोग विशेषज्ञ डा. इन्दु खोस्ला भन्छिन्, ‘किनभने दोस्रो लहरमा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् ।’

यो तथ्यांकलाई आधार मान्दा कोरोनाको पहिलो र दोस्रो लहरमा भारतमा बालबालिका तथा किशोरहरुको संक्रमित हुने दर धेरै भिन्न छैन ।

‘प्रतिशतको तुलनामा खासै फरक नभए पनि पहिलो र दोस्रो लहरमा कोरोनाबाट संक्रमित हुने बालबालिका तथा किशोरको संख्यामा भने ठूलो अन्तर छ,’ मुम्बईकी बाल रोग विशेषज्ञ डा. इन्दु खोस्ला भन्छिन्, ‘किनभने दोस्रो लहरमा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् ।’

भारतभरका सबै चिकित्सकहरुको छलफलको क्रममा पनि यस्तै आँकडा र सिद्धान्त देखिएको उनको भनाइ छ । यद्यपि यो तथ्यांक अप्रिल २१ सम्मको मात्र हो । त्यसयता भारतमा निकै ठूलो संख्यामा कोरोनाका संक्रमित थपिएका छन् । सो अवधिमा भने कुन उमेर समूहका कति संक्रमित थपिए भन्ने तथ्यांक उपलब्ध छैन ।

भारतमा कोरोनाको दोस्रो लहरमा समग्र कोरोना संक्रमितको संख्या अघिल्लो लहरको तुलनामा तीन गुणा धेरै देखिएको थियो । यसको एउटा कारण कोरोनाको नयाँ भेरियन्ट पनि हुन सक्छ ।

यो भेरियन्ट निकै संक्रामक रहेको मानिएको छ । भारतमा बालबालिका तथा युवाको संख्या धेरै रहेकाले पनि धेरै बालबालिकाहरु कोरोनाबाट संक्रमित भएको अनुमान छ । जबकि प्रतिशत अंकको हिसाबमा पनि खासै ठूलो अन्तर छैन ।

त्यसका साथै भारतमा दोस्रो लहरमा धेरै नै बालबालिका तथा युवाहरु संक्रमित भए भन्ने तथ्यलाई साबित गर्ने कुनै अध्ययन वा तथ्यांक पनि सार्वजनिक भएको छैन ।

बालबालिकामा कोरोना संक्रमण धेरै देखिए पनि उनीहरुमा कोरोनाको गम्भीर लक्षण देखिने जोखिम भने निकै कम देखिएको छ । ‘संक्रमित हुनेको संख्या धेरै छ तर स्पष्ट रुपमा गम्भीर लक्षण देखिनेको संख्या भने बढेको छैन,’ डा. खोस्ला भन्छिन्, ‘केही मानिसमा कोरोना संक्रमणका कारण जटिलता उत्पन्न भएको छ तर उनीहरुमध्ये अधिकांशमा यसअघि नै अन्य समस्या थियो ।’

मृत्युदरको तथ्यांक हेर्ने हो भने पनि खासै ठूलो अन्तर देखिंदैन । सन् २०२१ मा कोरोना संक्रमण भएका १० वर्षमुनिका बालबालिकाको मृत्युदर ०.३४ प्रतिशत छ । सन् २०२० मा यो दर ०.२७ प्रतिशत थियो ।

भारतको दिल्लीमा बसोबास गर्दै आएकी १७ वर्षीया टियालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई अस्पताल जानुपर्ने अवस्था आएन । उनी आफू संक्रमित हुँदा पनि स्वास्थ्य बिग्रिएला भन्ने डरमा नभएको तर आफ्नो पढाइको विषयमा भने चिन्तित बनेको बताउँछिन् ।

यद्यपि आफूलाई कोरोनाका केही लक्षण भने अझै पनि देखिएको उनको भनाइ छ । कोरोना परीक्षण नेगेटिभ आए पनि त्यसको असर भने लामो समयसम्म पनि देखिएको उनले बताइन् ।

भारतमा अझै पनि १८ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई कोरोना खोप लगाउन अनुमति दिइएको छैन । यसले भारतमा कोरोनाको अर्को लहर आए बालबालिका सबैभन्दा धेरै प्रभावित बन्न सक्ने आशंका बढाएको छ ।

भारतको महाराष्ट्र र दिल्लीजस्ता राज्यले बालबालिकाको लागि एक टास्क फोर्स बनाएका छन् । उक्त टास्क फोर्स सरकारको निगरानीमा रहनेछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment