Comments Add Comment

विद्यालयहरूलाई खुला पत्र !

विद्यालय विद्यार्थीका लागि सुन्दर संसार हो । त्यो संसारबाट विद्यार्थी प्रमाणपत्र मात्र प्राप्त गर्दैनन् । उनीहरू अनुशासन, मिहिनेत, इमानदारी, सबैसँग मिलेर बस्न, झगडा गरेर पनि मेलमिलाप गर्न आदि थुपै्र कुरा सिक्छन् । जुन जीवन र जगतमा जिउन आवश्यक पर्दछ । त्यो ज्ञान र कुशलता उनीहरूले स्कूलबाटै सिक्छन् ।

शिक्षा र विद्यालयको खण्डीकरण गरिएको छ । शिक्षालाई दुई भागमा बाँडिएको छ– औपचारिक र अनौपचारिक शिक्षा ।

कुनै निश्चित समयसीमाभित्र ग्रहण गरिने शिक्षालाई औपचारिक शिक्षा भनिन्छ । जुन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयभित्र सिकाइन्छ । र, अनौपचारिक शिक्षा भन्नाले कुनै समयसीमा नतोकेर जुन र जतिबेला पनि ग्रहण गर्न सकिने शिक्षालाई अनौपचारिक शिक्षा भनिन्छ । जुन हामी जिन्दगीको गोरेटोमा हण्डर र ठक्कर खाँदै सिक्छौं । शिक्षालाई दुई भागमा बाँड्नु त ठीकै थियो तर, विद्यालयलाई पनि दुई भागमा विभाजन गरिएको छ– सरकारी र निजी ।

सरकारी विद्यालय भन्नाले तीं विद्यालयलाई चिनिन्छ, जो राम्रो पठनपाठनमा कहिल्यै नभएको र जहिल्यै राजनीतीकरण हाबी भएको विद्यालय भनेर चिन्ने गरिन्छ ।

निजी विद्यालय भन्नाले तिनै विद्यालय पर्छन् जुन गुणस्तरीय शिक्षाको नाममा हरेक वर्ष शुल्क बढाइरहन्छन् र चरम गरीबीमा जीविकोपार्जन गरिरहेका वर्गका छोराछोरीका अनुहारहरू कहिल्यै प्रवेश गर्न पाउँदैनन् ।

तिमी कक्षाकोठाको पुस्तकमा फेल भयौ त के भयो, यसमा सबैलाई एउटै प्रश्न सोधिएको हुन्छ । तिमी जिन्दगीका हरेक प्रश्नको उत्तर दिनको लागि जन्मेका हौ भनेर उत्प्रेरणा दिनु एक असल शिक्षकको गुण हो ।

मैले शिक्षक भनेको खरर्र पढ्ने, वार्षिक परीक्षाका लागि परिभाषाहरू रटाउने, कुनै अप्ठ्यारो प्रश्न सोध्योे भने रिसाउने, केही विद्यार्थीलाई पढ्न मन पर्दैन र उनीहरू मूर्ख जस्ता लाग्छन् भने आफू महामूर्ख बन्ने, यसरी बुझेको छैन । र, यही सत्य पनि हो ।

मलाई शिक्षक भनेको सबैभन्दा पहिले संस्कार सिकाउने व्यक्ति लाग्छ । त्यसपछि ती व्यक्ति जसले जिन्दगीका अनेकौं आयामबारे स्पष्ट पार्दछन् । तिमी कक्षाकोठाको पुस्तकमा फेल भयौ त के भयो, यसमा सबैलाई एउटै प्रश्न सोधिएको हुन्छ । तिमी जिन्दगीका हरेक प्रश्नको उत्तर दिनको लागि जन्मेका हौ भनेर उत्प्रेरणा दिनु एक असल शिक्षकको गुण हो ।

सबै शिक्षकले सिकाउनैपर्ने सबैभन्दा महत्वपूर्ण विषय भनेको असफलतासँग लड्न सिकाउनु हो । कुनै व्यक्ति होस् या विद्यार्थी उसले सफलता र असफलतासँग सन्तुलन मिलाउन सक्यो भने सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ ।जिन्दगीको परीक्षामा कसैको प्रश्नसँग पनि तिम्रो प्रश्न मिल्दैन । उक्त प्रश्नको समाधान तिमीले आफैं पत्ता लगाउनुपर्ने हुन्छ र जहाँ कसैले नम्बर दिंदैन, तिम्रो समाधानको परिणामले तिम्रै जिन्दगीलाई सहज बनाउँछ भनेर विद्यार्थीलाई सम्झाउनु र बुझाउनु उत्कृष्ट शिक्षकको खूबी हो ।

मेरो एउटा अनुरोध छ । मैले यति भूमिका नबाँधेको भए मेरो अनुरोध तपाईं समक्ष प्रस्तुत गर्न मलाई अप्ठ्यारो पर्ने थियो । अब म निर्धक्क भन्न सक्छु । किनभने तपाईं मेरा विचारसँग सहमत भइसक्नुभएको छ । मलाई आशा छ ।

सरकारले यसपालिको एसईई पनि नहुने निर्णय गर्‍यो । अघिल्लो वर्ष जस्तै विद्यालयले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने भए । त्यसैले विद्यार्थीको कति जीपीए आउने भन्ने कुरा तपाईंहरूको हातमा छ । नम्बर दिंदा धेरै ख्याल गर्नुहोला । प्रश्नको उत्तरमा नम्बर दिने मौका बारबार मिल्नेछ । तर, यसरी आन्तरिक मूल्याङ्कनबाट यसभन्दापछि नम्बर दिने अवसर नमिल्न सक्छ ।

तपाईंको ठाउँमा म भएको भए कक्षाकोठामा हामी जसलाई सबैभन्दा कमजोर विद्यार्थी भनेर आत्मविश्वासलाई गिराइरहेका हुन्छौं, उसलाई राम्रो अंक दिएर सन्देश दिन्थें– तिमीले विद्यालयस्तरमा राम्रो अंक ल्याउन सकेनौ ।

ठीक छ, आगामी दिनहरूमा मिहिनेत गर्नु र देखाउनु कि तिमी कोही कसैभन्दा कमजोर छैनौ । प्रिय विद्यार्थी ! तिमी कक्षाकोठामा उत्कृष्ट भइनँ भनेर जिन्दगीमा पनि उत्कृष्ट हुन्न कि भन्ने भ्रमबाट चाँडै मुक्त हुनू । कक्षाकोठा र जिन्दगी पूरै फरक संसार हुन् । यहाँ आफैंसँग प्रतिस्पर्धा गर्ने मात्र उत्कृष्ट हुन्छ ।

भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका छन्, ‘देशमा सर्वोत्कृष्ट मस्तिष्कहरू कक्षाकोठाको अन्तिम बेन्चमा पनि हुन सक्छन् ।’

(लेखकः उत्प्रेरक वक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment