
३० जेठ, काठमाडौं । यस वर्ष पनि हज यात्रामा विदेशी नागरिकले अनुमति नपाउने भएका छन् । साउदी अरेबियाले लगातार दोस्रो वर्ष विदेशी नागरिकलाई हजयात्राको लागि विदेशी नागरिकलाई अनुमति नदिने भएको हो ।
साउदी अरेबियाले आफ्नो मुलुकका ६० हजार मानिसलाई मात्र यस वर्षको हजयात्राको लागि अनुमति दिने निर्णय गरेको हो । शनिबार साउदीको सरकारले हजयात्रामा सहभागी हुने मानिसहरुमा पनि कुनै किसिमको दीर्घरोग हुन नहुने र कोरोनाविरुद्धको खोप लिएको हुनुपर्ने बताएको छ ।
‘अहिले समग्र विश्व नै कोरोना भाइरसको महामारीको सामना गरिरहेको र नयाँ भेरियन्टहरु देखिइरहेको अवस्थामा सम्बन्धित विभागले अहिले विश्व स्वास्थ्यको अवस्थालाई नियाल्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ । गत वर्ष साउदी अरेबियाले एक हजार साउदी नागरिक तथा बासिन्दाहरुलाई हज यात्राम जाने अनुमति दिएको थियो ।
यसवर्ष जुलाईको मध्यबाट हज सुरु हुनेछ । हज यात्रा साउदी अरेबियाको लागि आम्दानीको पनि महत्वपूर्ण स्रोत हो । कोरोना भाइरसको महामारी आउनुभन्दा पहिला हज यात्रामा करिब २५ लाख मानिसहरु सहभागी हुने गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4