Comments Add Comment

सर्लाहीमा यसरी गरियो जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यास

५ असार, वीरगञ्ज । मनसुनको न्यून चापीय रेखा नेपालको पहाडी भूभाग आसपास छ । विगत ७ दिनदेखि मेघगर्जनसहित पानी परिरहेको छ । अधिकांश पहाडी भूभागमा वर्षा हुँदा बाढी आएर तराई क्षेत्र जलमग्न छ । बागमती नदीमा बाढी उच्च विन्दुमा पुगेको छ । नदीको तटमा रहेको बगर गाउँमा पसेर गाउँ नै बगाएको छ । सयौंको संख्यामा मानिसहरु बेपत्ता भएको खबर प्रदेश २ को आपतकालीन सूचना केन्द्रमा आउँछ । केन्द्रले ‘सिचुएसन कमाण्ड’ पोष्टबाट तत्काल उद्धारकहरुलाई पठाउन अनुरोध गर्छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय सेवा दलको संयुक्त उद्धार टोली घटनास्थलमा पुग्छ ।

‘गुहार, गुहार, बचाऊ बचाऊ’का आवाजसँगै केही मानिस र घरहरु बागमती नदीको धमिलो पानीमा बगिरहेको देखिन्छ । आफ्नो जीवन रक्षाका लागि उनीहरु अनुनय विनय, अलापविलाप गरिरहेका छन् । संयुक्त सुरक्षा फौज रबर बोट, डोरीलगायत उद्धारका लागि आवश्यक समान लिएर पुग्छ । घाइतेहरुको पहिचान गरेर पहिला उद्धार गर्छन् । अलिअलि पौडिन जानेकाहरुलाई डोरी फालेर तान्छन् । कतिपयलाई एयरट्युब दिन्छन् ।

अरुलाई उद्दार गर्दागर्दै उनीहरु ट्युबमा तैरिएर बस्छन् । पछि उनीहरुको पनि उद्धार हुन्छ । घाइतेहरु मलाई मात्र बाँचेर के गर्नु मलाई पनि मर्न दिनुस्, म मर्न चाहन्छु भन्छन् । तर उद्धारकर्मीहरुले नआत्तिन आग्रह गर्छन ।

परिवारका सबै सदस्यलाई बचाउने आश्वासन दिन्छन् । घाइतेलाई सुरक्षित स्थानमा राखिन्छ । रेडक्रसकर्मी लगायतले स्टेचरमा राखेर घाइतेलाई मेडिकल फष्ट रेस्पोन्स कक्षमा लग्छन् । स्वास्थ्य संवेदनशीलता, प्राथमिक उपचार र अभिलेखीकरणको काम हुन्छ र गम्भीर अवस्थाकालाई एम्बुलेन्समा राखेर अस्पताल पठाइन्छ । गोताखोर, डिप डाइभिङ रेस्क्यु टोलीले बाढीले बगाएर ल्याएको शवको खोजी गरेर बाहिर निकाल्छ ।

०००

मनसुन सुरु भइसकेको सिन्धुपाल्चोकको मेलम्चीलगायत देशका विभिन्न स्थानमा बाढीजन्य विपद् आइसकेको अवस्थामा यो दृश्य वास्तविक जस्तै लाग्न सक्छ । तर यो प्रदेशस्तरीय जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यासको काल्पनिक घटना हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिबार सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा संयुक्त उद्धार अभ्यासको आयोजना गरेको थियो । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, प्रमुख सचिव गोकर्णमणि दवाडीलगायत अन्य मन्त्रालयका सचिव, सिरहा, धनुषा, सर्लाही, रौतहट र बाराका प्रमुख जिल्ला अधिकारीहरु, बागमती नगरपालिकाका नगर प्रमुखलगायतको उपस्थितिमा उक्त उद्धार अभ्यास गरिएको हो ।

उद्धारका क्रममा तीव्र गतिमा बगिरहेको पानीमा समेत बोटलाई आफ्नो बशमा राखी सही दिशा कसरी दिने ? डुंगा पल्टिंदा कसरी जोगिने ? पानीमा करेन्ट प्रवाह भएको अवस्थामा कसरी बच्ने ? उद्धारकर्मीकै उद्धार गर्नुपर्दा कसरी गर्ने ? गोताखोरले कसरी पानीको सतहमुनि फसेको मृत शरीर उद्धार तथा खोजी गर्छन् ? अभ्यासमार्फत देखाइएको सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

‘आगो लागेपछि बाल्टिन खोज्न जानुभन्दा आगो लाग्नुपूर्व नै बाल्टिनमा पानी भरेर राख्नुपर्छ,’ उनले भने, ‘बाढी, डुबान अघि नै पूर्वतयारी अवस्थामा रहन प्रदर्शनी, पूर्व अभ्यासले मद्दत गर्छ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले प्रदेश २ बाढी, डुबान, आगलागी, लु, शीतलहर जस्ता प्राकृतिक विपदको जोखिममा रहेको बताए । प्रदेश सरकार विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा गम्भीर भएर लागेको उनले बताए ।

‘प्रदेश सरकार गठन भएकै वर्ष ठूलो बाढी आयो, आवश्यक उपकरण नहुँदा पनि सुरक्षाकर्मीले ज्यान जोखिममा राखेर ८३ जनाको उद्धार गरेका थिए, मन्त्री यादवले भने, ‘त्यसपछि हामीले विपद् व्यवस्थापनका लागि आवश्यक ऐन नियम बनाउने, रबर बोट, मोटर बोटजस्ता उपकरण खरिद गर्ने कार्यहरु गरेका छौं । संयुक्त विपद् व्यवस्थापन संयन्त्र छ ।’

कटान र डु्बान हुन सक्ने जोखिम क्षेत्रमा रहेका परिवारलाई बेलैमा सुरक्षित स्थानमा राखेर राहतको व्यवस्था मिलाउन मन्त्री यादवले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

तस्वीर : गौतम श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment