Comments Add Comment

फेरि फर्किएला किलाघ: को सांस्कृतिक विरासत ?

हात्तीहरुको झुण्ड बस्ने किसिगःको सांस्कृतिक विरासत

१२ असार, काठमाडौं । नरेन्द्र महर्जन, किलागल टोललाई कंक्रिटको शहरबाट परिवर्तन गरेर सांस्कृतिक टोलको रुपमा पुरानै विरासत कायम गर्न चाहन्छन् । जहाँ फेरि पनि धाः बाजाको धुनसँगै स्थानीयले थकान् मेटून्, खः प्याखंःमा नाच्ने नर्तक र नर्तकीको चालसँगै आगन्तुकहरुलाई मोहनी लागोस् । तर उनको यो सपनाको किलागः धेरै पर पुगिसकेको छ ।

किलागः कुनै समय एउटा बस्ती मात्रै थिएन । काठमाडौंको जीवित सांस्कृतिक संग्रहालय थियो । काठमाडौंका नेवारहरुले बजाउने सम्पूर्ण बाजा यही टोलमा दैनिक घन्किन्थ्यो । मठमन्दिर, सत्तल, चोक र गल्लीहरुले युक्त यो टोल आफैँमा मूल संस्कृतिको पर्याय बनेको थियो । यही टोलबाट गुरुमापालाई भोजन गराउने कार्य पायाँ निकाल्ने गरिन्छ । जात्रामा जीवित कुमारी पनि हुन्छन् र पाहा चह्रेमा गणेशको जात्रा पनि गरिन्छ ।

कुरा धेरै वर्षअघिको पनि होइन । झण्डै आधा शताब्दीअघिलाई फर्किएर हेर्दा लोकेश्वरको मन्दिर छेउमा रहेको सतःमा बसेर बाजा बजाउनेहरु, १२ वर्षमा एक पटक धिमे सिक्ने उत्साह बोकेर आउने युवाहरु र विभिन्न सांस्कृतिक नाचका साथ मण्डलामा उत्रिने नर्तक नर्तकीहरु त्यहाँका गहना थिए । तर नाच हरायो, बाजा हरायो । बिस्तारै किलागः क्षेत्र आफैँमा काठमाडौंकै नजरमा अपरिचित बन्दै गयो ।

५० वर्षीय नरेन्द्र किलागः सांस्कृतिक बस्ती निर्माण अभियानका संयोजक पनि हुन् । ४० वर्षअघि देखेको किलागःलाई अहिलेको किलागःसँग दाँज्दा उनी एकाएक भावुक बन्न पुग्छन् । किलागलको त्यो संस्कृति र अहिलेको संस्कृति, जहाँ आकाश जमिनको फरक छ ।

नरेन्द्र आफूले पनि किलागःको सबै संस्कृति देख्न नपाएको बताउँछन् । तर बुढापाकाका अनुभवलाई शब्दको मालामा उनेर फेरि पुरानै सांस्कृतिक विरासत फर्काउने अभियानमा आफू लागेको उनी बताउँछन् । र त्यो अभियान पूरा हुनेमा विश्वास पनि छ उनमा ।

आफ्नो संस्कृतिप्रतिको यति ठूलो स्नेहलाई अहिले किलागलले जोगाउन सकेको छैन । खः प्याखंको अस्तित्व कथामा सीमित भएको छ । देवीनाच अहिलेसम्म चलिरहेको छ तर पनि पहिलेको जस्तो ऊर्जा यसमा समेत देखिन छाडेको स्थानीय सुनाउँछन्

हराउँदै सांस्कृतिक विरासत

किसिगःवासीको धेरै सांस्कृतिक विरासत लोप भइसक्यो । कतिपय लोपोन्मुख अवस्थामा छन् । तर जुन संस्कृतिले किलागःलाई अरुभन्दा भिन्न बनायो । ती संस्कृति अहिले पुनर्जीवनको पर्खाइमा छन् ।

किलागःले गुमाएको एउटा सांस्कृतिक विरासत हो खः प्याखंः । देवीनाचको समकालीन मानिने खः प्याखंः एउटा सांस्कृतिक नाच हो । पहिले नाचिन्थ्यो रे भन्नेबाहेक यसबारे कुनै प्रमाण भेटिएको छैन । नरेन्द्रले ‘देवी नाच एक परिचय’ नामक पुस्तकमा लेखेका छन्, ‘नासल चोकमा बस्ने नारायण महर्जनका जिजुबाजे ठाकु अबा महर्जन उक्त नाचका पात्र थिए । तर अहिले उक्त नाच कसरी नाचिन्थ्यो भन्न सक्ने व्यक्ति जीवित छैनन् ।’

श्रावण शुक्ल प्रतिपदाको दिनदेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वमा स्वयंभू परिक्रमा गर्दा बजाउनु पर्ने धाः बाजा अहिले बज्न छाडेको छ । देवी नाचका गुरु इन्द्र महर्जनका अनुसार धा: बाजा स्व. धिमां महर्जनको कार्यकालसम्म चलेको थियो । देवी नाचको केही अंशमा अद्यापि बज्ने भए पनि एकमहिनासम्म स्वयंभुमा धाः बाजा बज्न छाडिसकेको छ ।

पहिलेपहिले नासः द्यः मा बली दिनका लागि देवी नाच खलक र खः प्याखं खलकका बीचमा ठूलो प्रतिस्पर्धा हुन्थ्यो । देवी नाच र खः प्याखं दुवै किलागल टोलबाट निस्कने नाच हुन् । देवी नाचको मूल स्थल जामाचो हो । जहाँबाट कुमारी, भैरव, चण्डी सहितका सपरिवार नाचको लागि किसिगःको मण्डलामा आइपुग्छन् भन्ने विश्वास छ । त्यसबखत सेतो ऐरावत हात्तीले निगरानी गर्ने, सेवा टहल गर्ने काम गर्दथ्यो । पछि बस्ती बसाल्ने क्रम बढ्दै गएपछि देवदेवी तथा हात्तीहरू लुप्त हुन गए भन्ने कथन पनि पाइन्छ । यही नाचको आधारमा किलागल क्षेत्रवासीहरु दुईवटा खलकमा विभाजित थिए ।

आफ्नो संस्कृतिप्रतिको यति ठूलो स्नेहलाई अहिले किलागलले जोगाउन सकेको छैन । खः प्याखंको अस्तित्व कथामा सीमित भएको छ । देवीनाच अहिलेसम्म चलिरहेको छ । तर पनि पहिलेको जस्तो ऊर्जा यसमा समेत देखिन छाडेको स्थानीय सुनाउँछन् ।

यही पुरानोपनको पुनर्स्थापनाको खोजीमा छन्, नरेन्द्र । बुबा इन्द्र महर्जनसँगको अमूल्य ज्ञानलाई उनले एक एक गरेर लिपिबद्ध गर्ने कोसिस गरिरहेका छन् । किलागल टोलका बाजा राग, गीत तथा नाचका गुरु इन्द्र महर्जन हालका त्यस्ता जीवित धरोहर हुन् जसले किलागल र आसपासका संस्कृति र परम्परालाई अहिलेसम्म खरर बताउन सक्छन् ।

धेरै अघिको कुरा पनि होइन । करिब ४ दशक अघिसम्म मात्रै पनि किलागल टोलमा अहिले जस्तो सांस्कृतिक उदासिपना थिएन । गुँला पर्वको समयमा बिहान र अरू समय साँझपरेपछि करिब २० थरिका बाजा, विभिन्न गीत एवं रागको तालमा सिंगो टोल कहिले सत्तल त कहिले गुरुको घरमा बसेर झुम्ने गर्थ्यो ।

बाह्रै महिना कुनै न कुनै जात्रा पर्व चलिरहन्थ्यो । हरेक ३ वर्षमा चल्ले विशेष पर्वमा सिँगै टोलले सौहार्दता बाँड्थ्यो । प्रत्येक १२ वर्षमा मनाइने जात्रामा झनै उल्लास छाउँथ्यो ।

किलागलको अस्तित्व किन कम हुँदै गयो त ? महर्जन भन्छन् ‘संस्कृतिलाई निरन्तरता दिन समर्पण चाहिन्छ, समर्पणको लागि जीवन चल्ने आधार । स्थानीय अर्कै पेसामा लागे, कोर बस्तीमा बाहिरी समुदायको सहभागिता धेरै भयो जसले परम्परामा क्रमभंगता देखियो ।

यो टोलमा पहिले गाई, भैंसी र हाँस पाल्ने ज्यापु समुदायको बाक्लो उपस्थिति थियो । ज्यापु समुदायमा पनि कृषि कर्म गर्नेलाई ज्यापु, गाई पाल्नेलाई सापू, भैँसी पाल्नेलाई मेय्पु र हाँस पाल्नेलाई हँय्पु भन्ने गरिन्छ । यो टोलमा बढीजसो ज्यापु र सापुको उपस्थिति देखिन्छ । सापुहरु आफूलाई गोपालवंशीका सन्तान मान्ने गर्छन् । उनीहरुले अहिलेसम्म पनि गाईपाल्ने परम्परा छाडेका छैनन् ।

****

इतिहास, किंवदन्ती र आस्थाको आधारमा किलागल बारे धेरै कथाहरु बुनिएका छन् । जसले यो ठाउँ परापूर्वकालदेखि नै एउटा सुन्दर र महत्वपूर्ण ठाउँ हो भन्ने स्पष्ट संकेत दिन्छ ।

कुनै समय हालको इन्द्रचोक वाग्मती र विष्णुमती नदीको संगमस्थल थियो । जुन संगम अहिले टेकु दोभानमा छ । अझ अर्काे नदी मिसिएर त्यो ठाउँ त्रिवेणीको रुपमा पवित्र स्थल रहेको ऐतिहासिक स्रोतहरुमा उल्लेख छ । स्थानीय भाषामा त्रिवेणीलाई होंगल भन्ने गरिन्छ । त्यसैले अहिले पनि इन्द्रचोकको अर्काे नाम होंग हो । तर अहिले वंध भन्ने गरिन्छ ।

होंगलमा बाग्मतीसँग भेट हुनुपूर्व विष्णुमती नदी किसिगःलाई दायाँ पारेर बग्ने गर्थिन् । छुबि ननिमा रहेको बुद्ध चैत्य निर्माणका लागि जमिन खन्दा खोलाको किनारामा बनाइने ढुंगाको सिँढी भेटिनुले पनि यो कथालाई पुष्टि गरेको स्थानीयको दाबी छ ।

किसिगलको नाम किसिगः कि किसिघः ?

काठमाडौंका हरेक पुराना गल्ली र बस्तीहरुको एउटा विशेषता छ, त्यो हो नामको पछिको ऐतिहासिक आधार । चाहे इतिहासले पुष्टि नगरेर कल्पना मिसिएको किंवदन्तीलाई नै किन आधार नमानियोस्, तर यसको पछि कुनै न कुनै कारण अवश्य हुन्छ ।

पूर्वमा नरदेवी, पश्चिममा भेँडासीं, दक्षिणतर्फ चित्तधर मार्ग र उत्तरमा इटुंबहालले घेरिएको एउटा सानो बस्ती हो किसिगः ।

नेपाली भाषामा सो ठाउँलाई किलागल भन्न थालेपछि किसिगः र किलाघः भनेर कमैले त्यो ठाउँलाई चिन्ने गरेका छन् । किलागल अपभ्रंश नाम हो, त्यसैले नामाकरणको छुट्टै आधार छैन । त्यसैले यो ठाउँलाई या त किसिगः होइन भने किलाघः नै भन्नुपर्ने तर्क गर्छन्, नरेन्द्र ।

सो ठाउँको नाम किसिगः कि किसिघः ? भन्नेमा दुईथरी मत पाइन्छ । एकाथरी भन्छन् कुनै समय घना जंगल रहेको यो ठाउँमा हात्तीको झुण्ड बस्ने गथ्र्याे । यो ठाउँ त्यही नामबाट किसि अर्थात् हात्ती र गः अर्थात् जनावर बस्ने ठाउँको आधारमा किसिगः राखिएको हो ।’

पहिलेपहिले यो क्षेत्रमा घना जंगल थियो । छेवैमा थियो विष्णुमती नदी र अर्काे छेउमा इटुंबहालको भव्य पोखरी ।

हात्तीहरुको क्रिडास्थलको लागि यो क्षेत्र चर्चित थियो । प्राचीन नेपालमा प्रकाशित ‘नेपाल देशको इतिहास’ शीर्षकको लेख अनुसार लिच्छविकालीन राजा अंशुवर्माले कैलाशकुट भवन निर्माण गरेको केही वर्षमा दरबार छाडी लगनखेलको खाण्डवन फाँडेर मति नामको नगर बसाए । सो सुन्दर नगरमा बसेर उनले राज्य गर्थे । उनले एकदिन किसिगः अरण्य नामक जंगलमा हात्ती असंख्य छन् भन्ने खबर सुनी हात्तीको शिकार खेल्नका लागि धेरै फौज साथमा लिएर आएका थिए । यसैमा पनि किसिगःको ऐतिहासिक आधार भेटिन्छ ।

प्राचीन नेपालमा प्रकाशित ‘नेपाल देशको इतिहास’ शीर्षकको आलेखमै भनिएको छ, ‘राजा शंकरदेवले वाग्मती नदीको संगममा इन्द्रचोक भन्ने देश बसाए र त्यहाँ रहेका पीठ र श्मशानसमेत हटाए । इन्द्रचोक क्षेत्रको बस्तीलाई पूर्णवती शहरको नामबाट पनि चिनिन्छ ।’

इन्द्रचोकमा पूर्णवती शहर बसाउने बेलासम्म पनि किसिगः जंगलकै रुपमा थियो । उक्त जंगलमा ३ किसिमका हात्तीहरु थिए । जसमध्ये सेतो हात्तीको प्रतीक अहिले पनि इन्द्र जात्रामा समावेश गरिन्छ । रातो हात्तीको प्रतीकलाई किलागलमै मन्दिर बनाएर राखिएको छ ।

यस्तै, अर्काे पक्षले भन्छ, ‘यो ठाउँको नामाकरण हात्तीको बासस्थानसँग नभएर किलाघः अर्थात् ठूलो ढुंगाबाट बनाइएको गाग्री (घः) को आधारमा राखिएको हो । किलागल टोलको छुबि ननिभित्र रहेको नासल चोकको स्थित एउटा सत्तलमा ढुंगाको घः अर्थात् गाग्री अहिले पनि देख्न सकिन्छ ।

त्यसैले यो ठाउँको नाम किसिगः वा किलाघःमध्ये जुनसुकै प्रयोग गर्न सकिने बताउँछन् काठमाडौं महानगरपालिका वडा नं १८ का वडाध्यक्ष न्हुँच्छेकाजी महर्जन ।

कान्छी रानीको दर्शनका लागि किसिगः घुमाउने इन्द्र जात्राको चलन

काठमाडौंको प्राचीन ३२ टोलमध्ये किलागः पनि एक हो । इन्द्रजात्राको क्रममा एक दिन किलागःमा पनि जात्रा ल्याउने चलन छ । त्यसमा पनि एउटा विश्वास जोडिएको छ ।

इन्द्रजात्राको सुरुवात गर्ने राजाकी दुईवटी रानीहरु थिए । जसमध्ये एउटी हनुमानढोका क्षेत्रमा रहेको दरबारमा बस्थिन् भने अर्की रानीलाई राजाले किसिगः टोलमा दरबार बनाएर राखेका थिए ।

जब उनले जात्रा सुरु गरे । सोही जात्रा कान्छी रानीलाई पनि देखाउनको लागि एक दिन किलागः लैजाने बन्दोबस्त मिलाए । त्यही समयदेखि किलागल घुमाएर जात्रा लैजाने परम्परा बसेको बताउँछन् १८ नं वडाका वडाध्यक्ष समेत रहेका स्थानीय महर्जन ।

महर्जनका अनुसार किसिगःको कथा इन्द्रकी आमा बसुन्धरासँग पनि जोडिएको छ, जुन हामीले इन्द्रजात्राको कथामा पनि भेट्न सक्छौं ।

किंवदन्ती अनुसार आमा बसुन्धराले इन्द्रलाई पारिजात फूल लिनको लागि अहिलेको काठमाडौं पठाइन् ।

ऐरावत हात्तीमा चढेर आएका इन्द्रले कसैलाई पनि नसोधी पारिजात फूल टिपेर जानै लाग्दा स्थानीयले हात्ती सहित इन्द्रलाई पक्रिए । साथै, इन्द्रलाई हालको किलागल क्षेत्रमा नै हात्तीसहित थुनेर राखे । पछि स्वयं वसुन्धरा आएर इन्द्र जात्राको अन्तिम दिन हात्ती सहित इन्द्रलाई छुटाइन् र थानकोटमा रहेको इन्द्रदहमा नुहाएर उनीहरु स्वर्गलोक तिर गए भन्ने अर्काे किंवदन्ती पनि यस क्षेत्रमा रहेको महर्जन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन अर्याल

ट्रेन्डिङ

Advertisment