Comments Add Comment

स्मृतिमा भीमदर्शन : घाम डुबी तारा नउदाएका कवि !

नेपाली साहित्यमा थोरै लेखेर नामी हुने साहित्यकारको चर्चा गरिँदा सबैले अग्रपंक्तिमा लिने नाम कथाकार पुष्कर शम्शेर हो । तर थोरै लेखेर नेपाली वाङ्मयमा दरो उपस्थिति जनाउने कवि लेखक अरू पनि छन्, दृष्टान्तका लागि भीमदर्शन रोका ।

मुक्तक र मुक्त छन्दका प्रयोक्ताका रूपमा उनको योगदान नेपाली साहित्यको ईतिहासमा पढिंदै आएको छ । उनी देवकोटा, शङ्कर लामिछानेकालीन कवि थिए । थोरै लेखे तर वेजोडको लेखे । पुस्तक प्रकाशन गर्न पनि चासो देखाएनन् । उनले त चासो देखाएनन् नै, यति महत्वपूर्ण कविको पुस्तक प्रकाशन गर्न नेपालका कुनै पनि संघ-संस्थाले चासो नदिनु बहुत उदेकलाग्दो कुरा थियो र अन्तमा वि.सं २०५६ सालमा उनकी श्रीमती मीना रोकाले प्रकाशन गरिन् उनको एकमात्र २७ कविताको सङ्ग्रह ‘घाम डुवी तारा नउदाएको आकाश हुँ म ।’

यस्ता कविसँग आफूले भेट्न पाएको, एकपल्ट होइन पटकपटक भन्ने सम्झँदा पनि गौरव बोध हुन्छ । अहिले नारायणगोपाल चोक नामाकरण गरिएको महाराजगञ्ज चौकबाट बुढानीलकण्ठ जाने वाटोतिर अगाडि गएपछि दाहाँतिर अलिक भित्र उनको घर थियो । पहिलोपल्ट र धेरैपल्ट म अनि किशोर पहाडी उनलाई भेट्न गएका थियौं २०३६ सालपछि । त्यतिबेला अग्रज साहित्यकारको घरघरमा गएर भेट्ने लालसा बोकेको समय थियो । राम्रो कुराकानी र सद्भाव पाइने ठाउँमा बारम्बारर पनि गइन्थ्यो । भीमदर्शन रोकाकहाँ पनि किशोर र म पटक-पटक गएका थियौं ।

उनी कार्यक्रमहरूमा कतै जान्नथे । उनी धेरैजनासँग घुलमिल हुन रूचाउन्नन् भन्ने सुनिन्थ्यो । उनी कविता कसैलाई सुनाउने गर्दैनन् भन्ने पनि सुनिन्थ्यो । तर गजव के भयो भने हामीसँग उनी मजाले घुलमिल भए । फरासिलो ढङ्गले कुरा गर्थे । हामी घण्टौं बस्थ्यौं र फर्कन्थ्यौं । एक दिन उनलाई के मूड आयो कुन्नी उनी आफैंले हाम्रो अनुरोध विना नै यौटा वा दुईटा कविता सुनाए । हामी विभोर भयौं । उनको मुखारवृन्दबाट कविता सुन्न पाइएको त्यही नै पहिले र अन्तिम अवसर थियो ।

एकपल्ट तिहारअघि किशोर म पुग्यौं । त्यतिखेर फोन सेवा सुलभ नभइसकेको समय थियो । सिधै घरघरमा जाने चलन थियो । हामी खानासाना खाएर हिंडेका थियौं । घरमा तिहारका लागि भर्खरै फलफूल किनेर ल्याइएको रहेछ । हामी पुगेको एकछिनपछि भाउजुले स्याउ सुन्तला काटेर प्लेटमा राखेर ल्याउनु भो ।

हामी सामान्यतया कसैकहाँ जाँदा केही खानेकुरा दिइयो भने नाईं, भर्खरै खाएको, भैगो नखाउँ भन्ने संस्कृतिमा हुर्केको । चियालाई त नाईं भनिन्नथ्यो, हामीले नाईं भन्न छाडेका थियौं । तर फलफूललाई हामीले ‘भर्खरै खाना खाएर आएको’ भनेर नाईं भन्ने वहाना गर्यौं ।

भीम दर्शन रोकाले हाँसेर भने, ‘तपाईंले खाना खानु भएको छैन, भोकै हुनुहुन्छ भनेर हो त ? यो त शिष्टाचार हो, खानुस् खानुस् ।’
हामी एकप्रकारले लज्जितजस्तो भयौं र खायौं फलफूल । अनि पछि त नाईंनुईं नगरी खाजासमेत खाने भयौं । यो मजाको शिक्षा पाएका थियौं हामीले ।

उनी शंकर लामिछानेप्रति अति श्रध्दाभाव देखाउँथे । शंकरको प्रतिभा सम्झँदै भावुक हुन्थे । हुन पनि शंकर लामिछाने भीमदर्शन रोकाप्रति अति मित्रभाव राख्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठित काव्य प्रतिष्ठानमा उनी पनि सदस्य थिए बालकृष्ण सम र केदारमान व्यथितको साथमा । सचिव थिए शंकर लामिछाने । अनि काव्य प्रतिष्ठानको मुखपत्र ‘इन्द्रेनी’ कविता पत्रिकाको सम्पादक थिए कविवर माधव घिमिरे । यस्तो साहित्यिक समूहमा थिए रोका । यसप्रति उनी गौरव गर्थे ।

बायाँबाट भीमदर्शन रोका, शंकर लामिछाने र भूपी शेरचनको अटोग्राफसहितको तस्वीर।

२०१३ साल पुस ९ गते भारतको नयाँ दिल्लीमा हुने ‘एशियाली लेखक सम्मेलन’का लागि इण्द्रेनी पत्रिकाको अङ्ग्रेजी अनुवाद सहितको ‘एशियाली लेखक सम्मेलनांक’ प्रकाशित गरिएको थियो । अनुवादको काम मुख्यत: महाकवि देवकोटाले गरेका थिए, तर भीमदर्शन रोकाले पनि अनुवादमा सघाएका थिए । सो अनुवादको काम ताहाचलको शंकर लामिछानेको डेरामा हुन्थ्यो । कैयन् दिन सो अनुवादको काम चलेको थियो ।

भीमदर्शन रोकाको बारेमा शंकर लामिछानेले आफ्नो पुस्तक ‘विम्व प्रतिबिम्ब’मा यस्तो शव्द चित्र कोरेका थिए, ‘ऊ जातैले मात्र मगर होइन, अनुहारले पनि, मिजासले पनि । (माउत्सेतुङसँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा देखिन्छ । उसको अनुहार र तिनताकको व्यवहारअनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने । परम्परागत सिपाही परिवारमा जन्मेर कविताजस्तो कोमल कला अपनाउनु तथा मास्टर जस्तो पेशाद्वारा जीविका चलाउनु नै उसको जीवनमा ठूलो क्रान्ति हो ।

विदेशिएका नेपाली परिवारले भोग्ने क्रमबध्द कष्ट उसको परिवारले पनि भोग्यो । व्यारेकको जीवन र धर्मशाला छेउछाउको उसको बाल्यावस्था निकै रोचक रूपमा ऊ वर्णन गर्छ । पंजावी (भनौं भाक्सु) लहजामा बोल्ने उसको तिनताकको नेपाली मीठो सुनिने, यारों !’

हस्तलाल रोका र वसन्तदेवीका सुपुत्रका रूपमा काठमाडौंको कालधारामा १९८७ साल पुस ५ गते जन्मेर तीन वर्षको छँदा भाक्सु पुगेका थिए उनी । कारण थियो, उनका बाबु भारतीय सेनामा थिए । उनले काँगडाको सरकारी स्कूलमा पढाई गरेका थिए ।
२००८ सालमा नेपालमा विद्यार्थी सममेलनमा भाग लिन आएका उनी यतै रमाए र नेपालमै बस्न थाले । उनले शुरूमा पोखराको कन्या मन्दिरमा शिक्षकको रूपमा काम गरेका थिए । पछि सिध्दार्थ वनस्थली स्कूलमा पढाउन थालेका थिए ।

सिध्दार्थ वनस्पती स्कूलमा पढाउन पाउँदा उनी यसकारण खुशी थिए कि उनको रोगको लागि उपयोगी हुने वनस्पति स्कूलको कम्पाउण्डमा पाइन्थ्यो र त्यसले जाती भएको बताउँथे । उनले हामीसँग भनेका थिए, ‘जागिर पनि पाइयो, नि:शुल्क औषधी पनि । म त्यहाँ पढाउन पाउँदा अति खुशी छु ।’

महाकवि देवकोटाले भनेका थिए, ‘भीमदर्शन रोका वास्तवमै उच्च कोटीका भावनात्मक कवि हुन् जसले नेपाली छोटा गीति उडानमार्फत पाठकलाई रोमाञ्च र आश्चर्यानुभूति दिन्छन् । उनले नेपालीमा आदर्श र मौलिक सिर्जना गरेका छन् ।’

रोकाको मास्टरी जागिरलाई शंकर लामिछानेले यौटा लेखमा यसरी उल्लेख गरेका थिए’ ‘र मलाई संझना आइरहेथ्यो मेरो साथी एक कविको । जो कविता गर्न छाडेर मास्टरी गर्न थाल्यो । र जो अब माष्टर मात्र भएको छ । नाउँ उसले नकमाएको होइन, स्वयम् यौटा स्कूल बनायो कविता क्षेत्रमा । लेख्न छाडे पनि, आजसम्म तर जसको वरावर चर्चा भइरहन्छ । उ वरावर भन्छ-कविता लेखिन्छ आत्मतृप्तिका लागि होइन त ? तँ केटाकेटीका घेरामा एकछिन वस् त, कस्तो आत्मतृप्ति हुँदोरहेछ ।’

उनले साँच्चै नै शिक्षणमा निकै प्रतिवध्द भएर जीवन समर्पण गरे । झण्डै पाँच दशक शिक्षण पेशामा जीवन विताउनु कुनै पनि हिसावले चानचुने कुरा होइन । त्यसैले त उनको कविता लेखन निकै पातलो भयो । तर पातलो भएर के गर्नु, उनको काव्यलेखनको योगदानको उल्लेख नभए नेपाली साहित्यको इतिहास अधूरो, अपूरो र खण्डित देखिन्छ ।

महाकवि देवकोटाले भनेका थिए, ‘भीमदर्शन रोका वास्तवमै उच्च कोटीका भावनात्मक कवि हुन् जसले नेपाली छोटा गीति उडानमार्फत पाठकलाई रोमाञ्च र आश्चर्यानुभूति दिन्छन् । उनले नेपालीमा आदर्श र मौलिक सिर्जना गरेका छन् । यौटा वास्तविक कविमा हुने स्वाभाविक नैतिक साहस सहित उनी मानवता र न्यायका पक्षपाती हुन्।’

इन्द्रेनी पत्रिकाको दोश्रो अङ्कमा कवि परिचय दिने क्रममा ईश्वर वरालले लेखेका थिए, ‘भीम दर्शन रोका उर्दूको खानीवाट जुहार लिएर नेपाली काब्याकाशमा झुल्किनु भएको छ । उहाँका कवितामा अचारको चटक्कता छ । उहाँका कवितामा एक झुल्का हुन्छ, एक उफ्राई । त्यसैले उहाँका कविता छरिता र साना हुन्छन् । रोका विशेषत बोलीचालीको भाषामा लेख्नुहुन्छ । यस प्रकार उहाँ फूलको मुस्काईमा तलवारको चोट गर्नुहुन्छ । उहाँका कवितामा विशेषत: प्रेमालु भावनाको सरसता पाइन्छ । भीमदर्शन एउटा खास किसिमको मस्ती तथा भाषाको खानी लिएर आउनु भएको छ ।’

२०५६ सालमा उनको कवितासङ्ग्रह ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ प्रकाशित भएपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा यौटा समारोहको आयोजना गरिएको थियो । त्यतिवेला रोका अशक्त अवस्थामा थिए । उनी वोल्ने अवस्थामा थिएनन् । उनी मञ्चमा भावुक भएको दृष्य मार्मिक थियो । दुइ दशक अघि आफूले नियमित भेटघाट गरेका कविको त्यो अवस्था देख्दा म आफैं भावुक बनेको थिएँ ।

मैले कार्यक्रम सकिएपछि नजिक गएर अभिवादन गरें । उनको आँखामा प्रशन्नता उदायो, तर उनले मलाई ठम्याए होलान् भन्ने लागेन । त्यो कार्यक्रममा लोचन भट्टराइले उनको कविता गाएकी थिइन् ।

खासमा भीमदर्शन रोकाको कविताले प्रभावित भएर सोधखोज गर्दै अस्वस्थ अवस्थामा अस्पतालमा गएर उनले कविता गाउन अनुमति लिएकी थिइन् र उनका कवितालाई संगीतबध्द गरेर स्वर दिएकी थिइन् जसलाई म्युजिक नेपालले ‘तारा नउदाएको आकाश’ शिर्षकमा प्रकाशन गरेको थियो ।

‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ कवितासङ्ग्रहमा रोकाका २७ कविता छन् । ती कविताहरूमध्ये २४ पूर्वप्रकाशित हुन् भने ३ कविताचाहिँ पहिलोपल्ट सिधै पुस्तकमा आएका हुन् । पूर्व प्रकाशित २४ कविताहरू विसं २०१० सालदेखि २०४३ सालसम्म प्रगति, शारदा, इन्द्रेनी, रूपरेखा कविता र गरिमामा प्रकाशित भएका थिए ।

कलाकार तथा कवि उत्तम नेपाली पनि भीमदर्शन रोकासँग नजिक थिए । त्यसो त शंकर लामिछाने र उत्तम नेपाली पनि घनिष्ठतम् नै थिए, पछिल्लो समयमा । आफ्नी पहिलो पत्नी रत्नालाई यौटा चिट्ठी छोडेर गृहत्याग गरेका शंकर ताहाचलबाट उत्तम नेपालीकहाँ पहिला पुगेका थिए ।

यिनै कलाकार तथा कवि उत्तम नेपाली नेपालीले २०३१ साल असोजको ‘रूपरेखा’ मासिकमा भीम दर्शन रोकावारे यौटा कविता लेखेर छपाएका थिए, ‘भीम दर्शन रोका आकाश जस्तो एकोहोरो, मायाँ झैं दोहोरो’ शिर्षकमा । उनले कवितामा रोकालाई यसरी चित्रण गरेका थिए:

टलपल टलपल
टक्क अडेको
अडिने आँखा
स्वच्छ आवरणको ठूलो पुस्तक
दुईटा आँखा दुइटा नानी र एक प्रकाशन
प्रतिक्षण प्रतिकण एउटा मधुवन
कैयन् रेखामा अल्झेको एउटा मन
जनम मरणबाट टाढा जीवन
ज्ञान ध्यान र चिन्तन
स्वच्छ पवित्र निश्चिन्त परिधिमा
प्रतिपल रोदन
प्रतिदिन चेतन
चार परखालमा अनन्त दर्शन ।

आफ्नै हृदयभित्र
हरियो पातमा लुकेको रातो रङ्गजस्तो
नाता तोड्ने तिमी नाता जोड्ने तिमी
कस्तो कस्तो लाग्ने
कोमलतामा अतिशय कोमल
भीमजस्तो दर्शन
भरिदिने प्रत्येक रित्तो शिशीमा
एक आश
पियक्कडको अनुहार बोकेर हिंड्ने
नसाको बिरोधी
नसामा नै चुर्लुम्म डुब्ने
आकाश जस्तो एकोहोरो
मायाँ झैं दोहोरो ।

बदलिने जमाना
नबद्लिने तिम्रो अनुहार
चिम-चिमे आँखामा
ज्योति अग्निको
आध्यात्मिक र भौतिक
सहारा मन मस्तिष्कको
एउटा शरीर बोक्ने
मनलाई तोडेर
कवितालाई छोडेर
एउटा मामूली-समाजको मान्छे
सानो परिवार
भविष्यको अनुहार
भीम दर्शन रोका
मायाप्रीतिको ठेकेदार
माष्टरहरूको हवलदार
रोका-रोका-रोका
रोकिएको रोका
भीम दर्शन रोका ।

रोकालाई २०५६ सालको युगकवि सिध्दिचरण पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी उनलाई राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यसकै तीन वर्षपछि २०५९ साल चैत २४ गते काठमाडौंमा निधन भयो उनको।

उनको निधनसँगै नेपाली साहित्यमा मुक्तक तथा मुक्त छन्दका मोहक छोटा लयात्मक गेयात्मक कविता सर्जक रोकाले निर्माण गरेको सुन्दर युगको अवसान भयो, तर उनका रचना भने युगयुगसम्म साहित्यको वागमा मग्मगाइरहनेछन्, नयाँ युगका नयाँ लोचन भट्टराईहरूले संगीत भर्नेछन् र मधुर स्वरमा गुन्जिरहनेछ ।

(२०७८ असार २, काठमाडौं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment