Comments Add Comment

के माइक्रोसफ्टले बन्द गर्दैछ स्काइपी ? विन्डोज ११ बाट किन हटाइयो ?

माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो ।

नयाँ अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आफ्नो भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स डिफल्ट रहेको छ । तर त्यस्तै खालको अर्को फिचर स्काइपी चाहिँ पहिलोपटक माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा राखेको छैन ।

माइक्रोसफ्टको यो कदमले के संकेत गर्दछ भने अब माइक्रोसफ्ट टिम्स कम्पनीको छनोट(फेबराइट चाइल्ड) बनेको छ र कुनै बेला भिडियो कलिङ एपको क्षेत्रको राजा रहेको स्काइपीको अन्त्यको सुरुवात भएको छ ।

यद्यपि पछिल्लोपटक लामो समयदेखि स्काइपीका प्रयोगकर्ताहरु निकै कम हुनका साथै नयाँ नयाँ भिडियो कलिङ एपहरु आएसँगै स्काइपीको सान्दर्भिकता पनि गुम्दै गएको थियो ।

स्काइपीको भविष्य

माइक्रोसफ्टले १० वर्षअघि साढे ८ अर्बमा स्काइपी खरिद गरेको थियो । त्यस बेला स्काइपीको खरिद सम्झौता माइक्रोसफ्टका लागि सबैभन्दा महंगो खरिद बनेको थियो । विश्लेषकहरुले माइक्रोसफ्टले अनावश्यक रुपमा धेरै रकम तिरेको टिप्पणी पनि गरेका थिए ।

तर त्यतिबेला स्काइपी निकै लोकप्रिय थियो । उक्त एप १ अर्ब भन्दा धेरैले डाउनलोड गरेका थिए भने दैनिक करोडौं प्रयोगकर्ता थियो ।

स्काइपी खरीदसँगै माइक्रोसफ्टका प्रमुख स्टिभ बाल्मरले भनेका थिए ः हामीले सँगै रियल टाइम सञ्चारको भविष्य सिर्जना गर्नेछौँ ।

माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टममा स्काइपीलाई डिफल्ट गराएसँगै यसका प्रयोगकर्ता पनि झनै बढ्दै गएका थिए ।

तर स्काइपीले सूचना प्रविधि क्षेत्रमा भएको तीव्र परिवर्तन र प्रयोगकर्ताको रुची र आवश्यकता अनुरुप आफुलाई अपडेट गर्न सकेन । फलतः दशकको मध्यतिर इन्टरनेट फोरममा स्काइपीप्रति प्रयोगकर्ताको तीव्र आलोचना सुरु भयो । यसको डिजाइन तथा पर्फमेन्सबाट पनि प्रयोगकर्ताहरु खुसी हुन सकेनन् ।

त्यहीँ समय ह्वाट्सएप, फेसबुक मेसेन्जर लगायतका मोबाइल मेसेजिङ एपहरुले विस्फोटक लोकप्रियता हासिल गरिरहेका थिए र स्काइपीसँग प्रतिस्पर्धा गर्नेगरी भिडियो कलिंग फिचर पनि सुरु गरे ।

स्काइपीको पहिलो संस्करण सन् २००३ मा लञ्च गरिएको थियो । निरन्तर अपडेटका बाबजुत यसले आफुलाई लामो समयसम्म तन्नेरी राख्न सकेन । स्काइपीको लोकप्रियता घटेसँगै माइक्रोसफ्टले आधुनिक प्रविधिमा आधारित बिजनेस च्याट एपको रुपमा रहेको टिम्स सार्वजनिक गर्‍यो, सन् २०१७ मा ।

विश्लेषक भन्छन् : माइक्रोसफ्ट अहिले स्काइपीलाई धेरै वर्ष पछाडि छाडेर अगाडि बढिसकेको छ । टिम्स नै नयाँ युगको लागि उसको रणनीतिक भ्वाइस तथा भिडियो प्रविधि बनेको छ ।

सबैका लागि टिम्स

वास्तवमा माइक्रोसफ्ट टिम्सले स्काइपीकै प्रविधि प्रयोग गरेको छ । सुरुमा बिजनेस एप क्बिअप को प्रतिस्पर्धीको रुपमा टिम्सको डिजाइन गरिएको थियो । तर यही बीच कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइदियो ।

यसअघि खासै नाम नसुनिएको भिडियो कन्फ्रेन्सिङ एप जुम रातारात हरेक घरको अनिवार्य आवश्यकता बन्यो । र, माइक्रोसफ्ट टिम्स नै जूमको मूख्य प्रतिस्पर्धी बनेको छ ।

विश्लेषकहरुका अनुसार गत वर्ष माइक्रोसफ्ट टिम्सको लोकप्रियता आकाशिएसँगै स्काइपीको ओहोदा माइक्रोसफ्टका लागि केवल लिगेसीको रुपमा मात्रै बाँकी रहेको छ ।

माइक्रोसफ्टले टिम्स एपको पर्सनल भर्सन ल्याएसँगै त्यसले स्काइपीको सान्दर्भिकता समाप्त भएको हो । टिम्सको अत्यधिक सफलतासँगै माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टममा यसलाई डिफल्ट बनाएको छ । यो सँगै नयाँ विन्डोजमा प्रि इन्स्टल्ड एपको सूचिबाट स्काइपीलाई हटाउनुले माइक्रोसफ्टका लागि स्काइपीको साटो टिम्स नै छनोटको प्रडक्ट रहेको र स्काइपीको भविष्य अन्त्य हुन लागेको सहजै अनुमान गर्न सकिन्छ ।

गत सेप्टेम्बरमा माइक्रोसफ्ट स्वामित्वको लिंक्डइनले आफ्नो च्याट फिचरमा भिडियो मिटिंग सुरु गर्ने घोषणा गरेको थियो । उक्त भिडियो मिटिंगमा लिंक्डइनले स्काइपी नभै टिम्सको प्रयोग गर्ने बतायो । बरु जूम तथा ब्लुजिन्स लगायतका अन्य लोकप्रिय प्लाटफर्महरु पनि विकल्पका रुपमा राख्यो ।

अक्टोबर महिनामा माइक्रोसफ्टका वरिष्ठ कार्यकारी जिम गेनरले स्काइपी यदि विस्तार हुने हो भने यो वर्ष नै उसका लागि अन्तिम समय भएको बताएका थिए । उक्त समय कुनैपनि अनलाइन कम्युनिकेसन प्लाटफर्मका लागि उल्लेख्य रुपमा वृद्धि तथा विस्तार भएर लोकप्रियता हासिल गर्ने समय रहेको भन्दै यदि यस्तो समयमा पनि त्यस्तो गर्न सकिएन भने ढिलो भैसक्ने उनले बताए ।

यद्यपि महामारीको समयमा स्काइपीका प्रयोगकर्ताको संख्यामा भारी वृद्धि पनि भयो । दैनिक प्रयोगकर्ताको संख्या ७० प्रतिशतले बढेर ४ करोड पुग्यो । तर यो वृद्धि उसका प्रतिस्पर्धीहरुको तुलनामा निकै कम थियो । महामारीको बेलामा संसारका सबै मान्छे भर्चुअल दुनियामा प्रवेश गरेको बेला विश्वभरी नै कलिङ एपको खाँचो परेको बेला मानिसहरुले स्काइपीको साटो अन्य विकल्प नै रोजेको देखियो ।

टिम्सको लोकप्रियता सँगै माइक्रोसफ्टले स्काइपीलाई आफ्नो विन्डोज ११ को डिफल्ट एपबाट हटाएपनि यसलाई पूर्णरुपमा अन्त्य गरेको भने छैन । विन्डोज ११ प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरबाट यसलाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्दछन् ।

हुनत विन्डोज ११ मा प्रि इन्स्टल्ड एपको सूचिमा अट्न नसकेर माइक्रोसफ्ट स्टोरमा धकेलिन बाध्य एपहरुको सूचिमा स्काइपी मात्र एक्लो छैन । माइक्रोसफ्टको भर्चुअल एसिस्टेन्ट कोर्टाना देखि इन्टरनेट एक्सप्लोररका साथै वन नोट, पेन्ट थ्री डी तथा विन्डोज थ्री डी भ्यूअर जस्ता एपलाई पनि प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरबाटै डाउनलोग गर्नुपर्ने भएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment