Comments Add Comment

भारतमा कोरोनासँग सम्बन्धित जोखिममा बालबालिका

१४ असार, काठमाडौं । यसै महिना भारतको महाराष्ट्रमा श्वासप्रश्वाससम्बन्धी र रक्तचाप घट्ने समस्या देखिएका चार बालबालिका अस्पताल भर्ना भए । ती बालबालिकाका आमाहरु एक महिनाअघि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका थिए ।

ती बालबालिकामा भने कोरोनाको कुनै लक्षण देखिएको थिएन । सेवाग्रामस्थित एक हजार बेड क्षमताको कस्तुर्ब अस्पतालमा भर्ना भएका बालबालिकामा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो । यसले उनीहरु यसअघि नै कोरोना संक्रमित भइसकेको संकेत गर्छ ।

अहिले ती बालबालिका दुर्लभ र प्राणघातक हुनसक्ने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएस–सी)सँग जुधिरहेका छन् । यो समस्या बालबालिका तथा किशोरकिशोरीहरु कोरोना संक्रमणबाट मुक्त भएको चारदेखि ६ सातामा देखिन्छ ।

कस्तुर्ब अस्पतालमा भर्ना भएकामध्ये दुई जना निको हुने क्रममा छन् भने अन्य दुई जनाको आईसीयूमा उपचार भइरहेको छ । ‘म यो अवस्थाबारे चिन्तित छु । हामीलाई सामान्य रुपमा भन्नुपर्दा यो समस्या कति जटिल बन्छ भन्ने थाहा छैन । हामीसँग अझै पनि ठूलो संख्यामा यो रोगबारे तथ्यांक उपलब्ध छैन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एसपी कलान्त्रीले भने ।

भारतमा कोरोनाको दोस्रो लहरमा कमी आएसँगै भारतभर यो दुर्लभ तर गम्भीर किसिमको रोगका संक्रमितको संख्या बढ्न थाल्यो । चिकित्सकहरुले यसको संक्रमण बढिरहेको बताए पनि अहिलेसम्म भारतमा यो रोगबाट संक्रमित हुनेको संख्या कति छ भन्ने यकिन छैन । अमेरिकाले अहिलेसम्म चार हजारभन्दा धेरै संक्रमित भेटिएको र ३६ जनाको मृत्यु भएको बताएको छ ।

दिल्लीको गंगाराम अस्पतालका डाक्टर धीरेन गुप्ताका अनुसार अस्पतालमा उक्त रोगका ७५जना बिरामी आएका छन् । उनीहरुको उमेर चारदेखि १५ वर्ष छ । यो आँकडा गत मार्चमा भारतमा कोरोनाको दोस्रो लहर सुरु भएयताको हो । गंगाराम अस्पतालमा १८ बेडको एमआईएस–सी वार्ड पनि खोलिएको छ । उनका अनुसार राजधानी र यसको आसपासका क्षेत्रमा यस्तो समस्या पाँच सयभन्दा धेरैमा देखिएको छ ।

चिकित्सकहरुका अनुसार यो अवस्था भाइरसविरुद्ध शरीरले आवश्यकताभन्दा धेरै प्रतिरोधी क्षमता देखाउँदा उत्पन्न हुन्छ । जसका कारण शरीरका महत्वपूर्ण अंगहरु सुनिने गर्छन् ।

भारतको पश्चिमी क्षेत्रमा रहेको पुनेको सरकारी मेडिकल कलेज तथा अस्पतालमा काम गर्ने डाक्टर आरती किनिकर आफूले गत अप्रिलयता यो रोगका ३० संक्रमित भेटिसकेको बताउँछिन् । अहिले पनि चारदेखि १२ वर्ष उमेर समूहका १३ बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये अधिकांशमा मुटुको मांसपेशी सुन्निने समस्या देखिएको छ । ‘यो संख्या दोस्रो लहरपछि उल्लेख्य रुपमा बढेको छ,’ डा. किनिकरले भनिन् ।

महाराष्ट्रको सानो शहर सोलापुरका डाक्टर दयानन्द नाकटेले पनि गत महिनामा मात्र यो समस्या भएका २० बिरामी भेटेका थिए । जसमध्ये अधिकांशको उमेर १० देखि १५ वर्षको छ । केही समयअधि मात्र महाराष्ट्रको सरकारले एमआईएस–सीलाई ‘सूचना दिनुपर्ने रोग’को सूचीमा राखेको छ । यससँगै अब यो रोगबारे नियामक अधिकारीहरुलाई कानूनी रुपमा नै जानकारी गराउनुपर्ने हुन्छ ।

चिकित्सकहरुका अनुसार यो अवस्था भाइरसविरुद्ध शरीरले आवश्यकताभन्दा धेरै प्रतिरोधी क्षमता देखाउँदा उत्पन्न हुन्छ । जसका कारण शरीरका महत्वपूर्ण अंगहरु सुनिने गर्छन् ।

शुरुमा यो रोगबाट संक्रमित भएका मानिसमा लगातार ज्वरो आउने, आँखा रातो हुने, पेट दुख्ने, रक्तचाप घट्ने, जीउ चिलाउने र शरीरमा थकान महसुस हुने समस्या देखिन्छ । केही लक्षण कावासाकी रोगको लक्षणसँग मिल्दोजुल्दो हुन्छ । कावासाकी रोग विशेष गरी पाँच वर्षमुनिका बालबालिकामा बढी देखिन्छ ।

शरीरका महत्वपूर्ण अंग सुनिने समस्याले श्वासप्रश्वास रोकिने, झड्का लागेको जस्तो हुने र मुटु, मिर्गौला र कलेजोमा असर गर्ने समस्या देखिन्छ । अमेरिकामा गरिएको एक अध्ययनमा यस्तो अवस्थामा पुगेका बालबालिकामा मस्तिष्कसम्बन्धी समस्या पनि देखिन सक्छ ।

डाक्टर गुप्ताका अनुसार उनको अस्पतालमा आएका अधिकांश बालबालिकालाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएको छ । एकतिहाइ मानिसलाई एक सातासम्म भेल्टिलेटरमा राख्नुपर्ने देखिएको छ । विशेषज्ञहरुका अनुसार स्टेरोयड, एन्टिबायोटिक्स, इम्युनोग्लोबुलिन, अक्सिजन सपोर्टजस्ता उपचार विधि यो रोगबाट निको हुन आवश्यक पर्छ ।

गुप्ताका अनुसार यो समस्या लिएर आएका ९० प्रतिशत बालबालिका कोरोना संक्रमित भए पनि उनीहरुमा कुनै लक्षण भने देखिएको थिएन । ‘अभिभावकले कोरोनाबाट निको भएका बालबालिकामा त्यस्तो किसिमको कुनै समस्या देखिन्छ कि देखिंदैन भन्ने विषयमा ध्यान दिनुपर्छ,’ गुप्ताले भने, ‘यदि यस्तो समस्या हुनेको संख्या बढ्यो भने हामीसँग भएको स्रोत र साधनले धान्छ कि धान्दैन भन्ने मेरो अर्को चिन्ता हो ।’

यो समस्या निकै दुर्लभ हो । साथै समस्यामा नै उपचार पाएको अवस्थामा बिरामीलाई बचाउन पनि सकिन्छ । यो संक्रमणबाट मृत्यु हुने दर पनि कम छ । अध्ययनमा सहभागी भएका मुम्बईको चार अस्पतालमा भर्ना भएका २३ संक्रमितमध्ये एक जनाको मृत्यु भएको थियो । पुनेमा यो समस्या देखिएका बालबालिकालाई घरमा नै उपचार दिन सकिने गरी अभिभावकलाई प्रशिक्षण दिने काम भइरहेको छ । अझै पनि यो समस्याको विषयमा धेरै कुरा थाहा हुन बाँकी रहेकाले पनि अन्योलता अझै बढाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment