+
+

बजेट सक्न पर्साको एउटै कार्यक्रममा दुई ब्यानर

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असार १६ गते २०:२६

१६ असार, वीरगञ्ज । मंगलबार स्वास्थ्य कार्यालय पर्सामा ‘राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जिल्ला स्तरीय सरोकारवाला अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरिएको थियो ।

सवा ११ बजेदेखि कार्यक्रम शुरु भयो । कार्यक्रम अधिकृत मीरा यादव अनुपस्थित भएपछि स्वास्थ्य कार्यालयकै पशुपति यादवले सहजीकरण गरे । यो कार्यक्रम सकिएलगत्तै हलमा अर्को ब्यानर टाँगियो ।

न आयोजक फेरिए, न सहभागी । मात्र सहजकर्ता फेरिए । दोस्रो व्यानर आईएमएनसीआई सम्बन्धी समता पहुँच र उपयोगीता कार्यक्रमको एक दिने अभिमुखीकरण कार्यक्रमको थियो । आईएमएनसीआई नवजात शिशु र बालापनमा आउने विभिन्न रोगको एकीकृत व्यवस्थापनसम्बन्धी कार्यक्रम हो । स्वास्थ्य कार्यालयका बालकिशोर यादवले यसको सहजीकरण गरे ।

दुईवटै कार्यक्रम पौने १ बजेसम्ममा सकिएको थियो । सहभागीलाई पहिलो कार्यक्रमको तर्फबाट ५ सय रुपैयाँ र दोस्रो कार्यक्रमको तर्फबाट ६ सय रुपैयाँ यातायात खर्च दिइएको एक सहभागीले बताए । स्टेशनरी र खाजा भने एक पटक मात्र दिइएको थियो ।

‘असारको कार्यक्रम भएर होला औपचारिकता मात्रै पूरा गर्ने खालको थियो’ ती सहभागीले भने, ‘पछिल्लो कार्यक्रममा त ब्यानर टाँस्ने काम मात्रै भयो भन्दा पनि हुन्छ ।’

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, दिव्य युवा क्लब, वीरगञ्ज महानगरपालिका कार्यालय, नारायणी अस्पताल, विद्यार्थी जागरण मञ्च विजाम, मेरिस्टोप्स सेन्टरलगायत स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले छोटो कार्यक्रम भनेर दोस्रो कार्यक्रममा आफूलाई सहभागी गराइएको बताए । ‘किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोलाएकोले गएको हुँ’ उनले भने, ‘त्यो कार्यक्रम सकिनेवित्तिकै अर्को कार्यक्रम गरे । आयोजकले जानकारी मात्रै गराउने हो भनेर बसाएका हुन् ।’

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहभागी भएकाले बीचैमा उठेर नहिँडेको उनले बताए । प्रशासकीय अधिकृत श्रीवास्तवले ब्यानर माथि अर्को ब्यानर राखेर दुईवटा कार्यक्रम भएको र दुवै कार्यक्रममा आफू सहभागी भएको स्वीकार गरे ।

‘किशोर किशोरीको प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम थियो । अलि ढिलो पुगें, कार्यक्रम शुरु भइसकेकोले गएर बसे । त्यही ब्यानरमाथि अर्को ब्यानर टाँगेर अर्को कार्यक्रम गरे, दोस्रो कार्यक्रम छोटो समयमा सकियो, दुवै कार्यक्रमको यातायात खर्च बुझेर म बाहिर निस्किए ।’

निमित्त स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले भने सहभागीसँग अनुमति लिएर कार्यक्रम गरिएको बताए । ‘कार्यक्रम एउटै सेट भएको हो, तर सकिनै लाग्दा बालकिशोरजीले मेरो पनि कार्यक्रम छ भनेर ब्यानर लिएर आउनुभयो’ उनले भने, ‘मैले नै अर्को एक डेढ घण्टाको कार्यक्रम छ बस्नुहुन्छ कि के गर्नुहुन्छ भनेर सहभागीलाई सोधेर गराएको हुँ ।’

कोभिड महामारीको कारणले गर्दा यो वर्ष सञ्चालन गर्ने भनिएका ४० प्रतिशत मात्रै कार्यक्रम सकिएकाले हतारमा कार्यक्रम गर्नुपरेको उनको भनाइ छ ।

‘असार २४ भित्र कार्यक्रम नसकेको खण्डमा भुक्तानी नदिने भनेर कोलोनिकाले भनेको छ । कोभिडले गर्दा ४० प्रतिशत पनि काम भएको छैन’ उनले भने, ‘माथिबाट काम किन भएन भनेर सोध्छन्, सरोकारवाला मिल्ने भएकाले एकै दिन दुईवटा कार्यक्रम गरेका हौं ।’

निमित्त प्रमुख जिल्ला अधिकरी भीमकान्त पौडेलले लक्षित समूह मिलेको अवस्थामा दुईवटा कार्यक्रम एकै ठाउँमा गर्नु सामान्य कुरा भएको बताए ।

‘कस्तो कार्यक्रम हो, लक्षित समूह एउटै हुन् वा होइनन् कार्यपत्रहरु कति घण्टा प्रस्तुत भए भन्ने कुराहरु हेर्नुपर्ने हुन्छ’ उनले भने, ‘लक्षित समूह मिल्दा कार्यक्रम गरिन्छ, हामीले पनि तीन चार वटा बैठक एकैपटक गरिरहेका हुन्छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?