Comments Add Comment
विश्लेषण :

कांग्रेसको १४ औं महाधिवेशन र भावी नेतृत्व

नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । कोठे बैठक भएका छन् । डिनर र लन्च पार्टी चलेका छन् । नेताहरूको घरमा भीड जुटेका छन् । जित र हारका हिसाबकिताब खुलेका छन् ।

‘भर्चुअल प्रविधि’ जुमबाट मतदातासँग जोडिने र विचार प्रवाहलाई अगाडि बढाउने ऊर्जावानदेखि अल्छी सबै थरीका कांग्रेसजन क्रियाशील छन् । कांग्रेसको क्रियाशील सदस्यदेखि गाउँ, नगर, जिल्ला र केन्द्रसम्म नेतृत्वबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । अर्थात् जनमानसमा कांग्रेसप्रतिको आकर्षण कम भएको छैन ।

उदाहरणीय कांग्रेस महायज्ञ

नेपाली कांग्रेसलाई जीवन्त पार्ने यो ‘महायज्ञ’ निर्वाचनको जित–हार भन्दा माथि देखिन्छ । कांग्रेसमा आन्तरिक लोकतन्त्रले जरा गाड्दैछ । यो अनुपम र अद्भुत उदाहरण नेपाल र दक्षिणएशियाका अन्य पार्टीहरूको लागि सिक्ने विश्वविद्यालय हुँदैछ ।

कांग्रेसको आन्तरिक लोकतन्त्रको महायज्ञलाई अन्तर्राष्ट्रिय राजनीतिका खेलाडीले पनि चासोका साथ हेरेका छन् । दक्षिण एशियाको दलगत राजनीतिमा विरलै देखिने आन्तरिक लोकतन्त्रको यो अभ्यासलाई भारत लगायत अन्य देशहरूमा प्रशंसायुक्त चर्चा चल्दैछ । कांग्रेस महाधिवेशन दक्षिण एशियाका देशहरूमा भएका राजनीतिक दलहरूको लागि उदाहरण पेश गर्दैछ ।

मलाई केही देशी, विदेशी मिडिया र मित्रहरूले कांग्रेसको भावी नेतृत्वमा को पुग्ला भनी जिज्ञासु भएर प्रश्न गर्छन् । संभवतः कांग्रेसको इतिहासमै भावी नेतृत्वलाई लिएर आम नेपाली र अन्तर्राष्ट्रिय समुदायबीच अहिले जस्तो चासो विगतमा कहिल्यै पनि मैले देखेको थिइनँ ।

पौडेलको लोकतान्त्रिक आन्दोलनमा त्याग असाधारण छ । उनी सत्तामा बसेर पनि वेदाग झैं छन् । यो सामान्य कुरा होइन । कांग्रेसले पौडेलको कद होचो गरेर पार्टीको उँचाइ बढाउन सक्तैन, पौडेल अझै गहना हुन् कांग्रेसको ।

कांग्रेसको आधादर्जन भन्दा बढी महाधिवेशनमा म आफैं प्रत्यक्ष र परोक्ष रूपमा संलग्न भएको छु । अहिले नेतृत्वको लागि पार्टी बाहिरबाट भइरहेका अड्कलबाजी विगतका महाधिवेशनमा फिटिक्कै देखिएको थिएन । अर्थात् कांग्रेसको भावी नेतृत्व चयन कांग्रेसजनको मात्र विषय रहेन । यो आम नेपालीको र अन्तर्राष्ट्रिय चासो पनि यसमा जोडिएको छ ।

देशभित्र संचार क्षेत्रले जति महत्वका साथ सर्वोच्च अदालतमा चलिरहेको संसद पुनस्र्थापनाको बहसलाई संप्रेषण गरिरहेका छन्, कांग्रेसभित्र हुन गइरहेको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धालाई पनि कम महत्व दिएको म देख्दिनँ ।

कांग्रेस कस्तो हुनुपर्छ र यसको नेतृत्व कस्ताले लिनुपर्छ भन्ने कुरा अब आदर्शवादी गफ हुन गयो । अब कांग्रेसको आन्तरिक राजनीतिमा गुट र उपगुटको समीकरण कसरी अगाडि बढदैछ ? र, त्यसबाट नेतृत्वमा को पुग्ला चार वर्षको लागि चासो यतिमा सीमित छ र यो लेख यसैमा केन्द्रित छ ।

कांग्रेस नेतृत्वको विश्वविद्यालय

विगतमा कांग्रेसभित्र नेतृत्वको लागि दुईवटा विश्वविद्यालय निर्माण भए । विगत भन्नाले २०२५ सालमा बीपी कोइराला आठ वर्ष सुन्दरीजल जेल बसेर भारत प्रवासमा गएपछिको काललाई ‘विगत’ मानिएको हो । प्रवास कांग्रेस यसकालमा निर्माण भए बीपी कोइरालालाई धुरी बनाएर ।

यसमा सुवर्णशम्शेर, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला गणेशमान सिंह लगायत कैयन् प्रवासमा बस्ने कांग्रेस समूह थिए । यद्यपि योभन्दा अगाडि स्थापनाकै प्रारम्भिक चरणमा कांग्रेसभित्र प्रवासवादी र स्वदेशवादी कांग्रेसबीच नेतृत्व लिने ‘हल्का प्रतिस्पर्धा’ थियो । कैयन् मूर्धन्य व्यक्तिहरू हल्का प्रतिस्पर्धा र व्यक्तित्वको टकरावको कारण कांग्रेस छाडेर गए । यो विषय लामो हुन्छ र कांग्रेसको चौधौं महाधिवेशनसँग यी कुराहरू जोडिन जरूरी नभएकोले यसलाई पछि विस्तारमा लेखौंला ।

कृष्णप्रसादको स्वदेश कांग्रेस

प्रवासमा बस्नेहरू बीच कांग्रेस नेतृत्व अलमलिइरहँदा कांग्रेसका संस्थापक नेताहरूमध्ये एक कृष्णप्रसाद भट्टराईको सक्रियतामा युवाहरूको ‘स्वदेश कांग्रेस’ निर्माण भयो नेपालभित्रै । नेपालको लोकतान्त्रिक आन्दोलनको लागि यो ‘टर्निङ प्वाइन्ट’ नै भयो । यो कारखाना भयो नेपालमा प्रतिबद्ध लोकतान्त्रिक युवा नेतृत्व विकास गर्ने । यसको नाम ‘नेपाल विद्यार्थी संघ’ राखियो । हिजोआज यो आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत छ । तर कांग्रेस राजनीतिमा यसैको प्रभाव छ अझै ।

प्रवास कांग्रेसमा हुर्किएको नेतृत्व सुशील कोइरालाको अन्त्यसँगै सदाको लागि समाप्त भयो भन्दा हुन्छ । एकथरी कांग्रेस प्रवास र स्वदेशबीच तालमेल मिलाएरै हिंड्न सकेका थिए विगतमा । धेरैजसो प्रवासमा बस्ने कांग्रेसहरू अल्छी र नेतृत्वको वरिपरि झुुम्मिएर आफ्नो दायित्व पूरा गर्थे कांग्रेस भएको । ती अहिले रित्तिएका, निख्रिएका छन् । तिनको अवशेष केही अझै छ । डा. शशांक कोइरालालाई प्रवास कांग्रेसको ‘सहउत्पादन’ सम्म मान्न सकिन्छ ।

अधिकांश स्वदेश बसेर राजनीति गर्नेहरूको प्रेरणाको स्रोत बीपी कोइराला भए पनि भौतिक रूपमा कृष्णप्रसाद भट्टराई यिनका मार्गदर्शक थिए । भट्टराई स्वयंले पनि बीपीलाई नेता मानेपछि कांग्रेसमा देखिने गरी स्वदेश र प्रवास राजनीतिको विभाजन कहिल्यै सतहमा आएन ।

पहिलो पुस्ता स्वदेशको

माथि नै भनिए झैं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको कारखानाबाट उत्पादन भएका नेता हुन् । यिनी मात्र होइन अहिले यिनका प्रतिस्पर्धी रामचन्द्र पौडेल पनि त्यही कारखानाबाट निस्किएका हुन् ।

सुशील कोइराला र शेरबहादुर देउवाबीच कांग्रेसको १२औं महाधिवेशनसम्म नेतृत्वको प्रतिस्पर्धा बुझ्न सकिन्छ । यी दुई फरक विश्वविद्यालयका हेड मास्टरहरू नदीका दुई किनारा जस्ता थिए । यी कहिल्यै पनि मिल्न सक्दैनथे । यी दुईबीच सोच, आचरण, शैली र समग्रमा मुलुक र राजनीति बुझ्ने दृष्टिकोणमा व्यापक फरक थियो । यिनको जीवनदर्शन नै फरक थियो ।

तर देउवा र पौडेलबीच चिन्तन र आचरणमा फरक छ बाँकी दुवैको शिक्षा–दीक्षा एउटै विश्वविद्यालयबाट भएको हो । तसर्थ यी दुईबीच प्रतिस्पर्धा होइन, यतिखेर समझदारी खोजेको छ ।

देउवा आकर्षक र प्रभावकारी नेता हुन सकेनन् । नेपालको विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा देउवा उदाए, कैयन् अवसर पाए । देउवाको पाँच वर्षको सभापतिकालमा उपलब्धि सम्झनयोग्य छैन । देउवासँग केही बाँकी छ भने त्यो हो उनले लोकतान्त्रिक आन्दोलनमा खेलेको संघर्षमय इतिहास । यो अतुलनीय छ ।

देउवाको सभापतित्वकालमा कांग्रेस सफाया भयो प्रत्यक्ष निर्वाचनमा । स्थानीय निकायमा पूरै खुम्चियो र सातमध्ये एउटा पनि प्रदेश सरकार निर्माण हुन सकेन । देउवाको असफल नेतृत्वलाई कांग्रेस कार्य समितिले जिम्मेवारी लिएर उनलाई ठूलो अभयदान गरेको छ र अझै उनी कांग्रेस सभापति छन् ।

देउवा प्रतिपक्षको भूमिकामा पनि असफल भए । उनको अप्रभावकारिताले गर्दा प्रम ओली निरंकुश र स्वेच्छाचारी भए । देउवा यी असफलताहरू बोकेर राजनीतिमा अस्ताए भने आफ्नै इतिहासप्रति उनले न्याय गरेको हुँदैन । तसर्थ, देउवाले राजनीतिमा खेल्ने भूमिकालाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।

नयाँ भूमिकाका देउवा

देउवालाई विघटित संसद पुनर्स्थापना भएमा प्रमको लागि सबै विपक्षी दलहरूले सहमति गरेको अवस्था छ । देउवाको राजनीतिक जीवनको उत्तरार्धमा आएको यो असाधारण अवसर हो ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्दा यस्तै अवसर उपलब्ध भएको थियो । त्यो अवसरलाई कोइरालाले खेर जान दिएनन् । विघटित संसद पुनर्स्थापना गराउनुका साथै माओवादीलाई शान्तिवार्तामा ल्याएर कोइरालाले विगतमा गरेका आफ्ना तमाम कमी–कमजोरीलाई धोइपखाली गरे । इतिहास नै नयाँ रचे ।

कांग्रेसले गएको आम निर्वाचन हारेपछि शेखर धेरैजसो जिल्ला पुगेर कार्यकर्तालाई निराश हुनबाट जोगाएका छन् । शेखरको सक्रियता र ऊर्जा देखेर नै होला कांग्रेसका युवा र भविष्यका नेता शेखरसँग जोडिन पुगेका छन् ।

देउवाको लागि नयाँ इतिहास रच्ने अवसर आएको छ प्रम भएर वा नभएर । उनले कांग्रेस सभापतिमा पुनः उठ्ने इच्छालाई त्याग्ने वित्तिकै उनी फेरि ‘फ्रेस’ देउवा हुन सक्छन् । उनको ओज र भूमिका राजनीतिको केन्द्रमा आइपुग्छ । उनलाई देश मिलाउने, संविधानलाई ट्रयाकमा राख्ने र कांग्रेस पार्टीलाई नयाँ नेतृत्व र नयाँ उचाइमा पुर्‍याउने अवसर प्राप्त हुन्छ । जीवनको उत्तरार्धमा प्राप्त यो अवसर उनले खेर जान दिने कि सदुपयोग गर्ने यसैमा उनले रच्ने नयाँ इतिहास र कांग्रेसको भविष्य छ ।

रामचन्द्र किन नहुने ?

देउवाको लागि स्वाभाविक रूपमा आफू सभापतिमा नउठे रामचन्द्र पौडेललाई उनी कांग्रेसको १४ औं महाधिवेशनमा अगाडि सार्न सक्छन् सभापतिमा । पौडेल उनका समकक्षी हुन् र दक्षिणएशियामा अहिले पौडेलको जस्तो इतिहास भएको अरू नेता भेटिंदैन । पौडेलको लोकतान्त्रिक आन्दोलनमा त्याग असाधारण छ । उनी सत्तामा बसेर पनि वेदाग झैं छन् । यो सामान्य कुरा होइन । कांग्रेसले पौडेलको कद होचो गरेर पार्टीको उँचाइ बढाउन सक्तैन, पौडेल अझै गहना हुन् कांग्रेसको ।

कांग्रेसभित्र मध्यमवर्गीय ‘लुक’ र समाजवादको अन्तिम विम्ब झैं पौडेल देखिन्छन् । देउवाले आफ्नो सहयोग र समर्थन पौडेलमा विश्वास गर्दा नेपाली कांग्रेसभित्र अहिले सभापतिमा देखिएका धेरै आकांक्षी सुस्ताउँछन् । कांग्रेस सत्ता र राज्यसत्तामा विगत तीन दशकदेखि रजगज गरेकालाई एकैठाउँमा उभिन सहज हुनसक्ने अनुमान छ रामचन्द्रलाई धुरी बनाएर । कम्तीमा पनि विमलेन्द्र निधि र प्रकाशमान सिंहलाई आफ्नो सभापतिको उम्मेदवारी माथि पुनर्विचार गर्न सहज मात्र हुने होइन, पौडेललाई ‘नेता’ मान्न पनि सहज हुनेछ ।

पौडेलले अवसर पाउँदा देउवा र उनको पुस्ताबाट उनी अन्तिम कांग्रेस नेता बन्नेछन् । र उनीसँगै एकतह तलको पुस्ता जस्तै निधि, सिंह, सिटौला, महत, केसी, आचार्य सबैले ‘नेता’ पाउनेछन् । तीन दशकदेखि पार्टी सत्तामा र राज्यसत्तामा रजगज गर्ने कांग्रेससँग पौडेलको विकल्प म देख्दिनँ । तर पुराना पुस्ताका यी सबैले पौडेललाई काँधमा बोके पनि कांग्रेस नयाँ पुस्तामा झर्न १४ औं महाधिवेशनमै पनि अथक प्रयत्न गर्दैछ र त्यसको लागि शेखर कोइरालाले मोर्चा सम्हालेका छन् ।

शेखर होलान् सभापति ?

डा. शेखर कोइरालाले कांग्रेसभित्र नेतृत्वमा पुग्ने पुरानो परम्परालाई तोड्दै यतिखेर नयाँ ढंगबाट प्रस्तुत भएर सभापतिमा उठ्ने हैसियत बनाएका छन् । शेखरको सभापतिमा उम्मेदवारीको घोषणा कांग्रेसभित्र ‘जमुवा पोखरी’ लाई तरंगित गर्ने शक्तिशाली ढुङ्गा प्रहार हो । शेखर कोइरालाको उम्मेदवारीको तरङ्ग र हलचल मेचीदेखि महाकालीसम्म छ ।

कांग्रेस परम्परा बाहिर गएर नेतृत्व लिन्छु भनी अगाडि आउन खोज्नुले शेखरले कांग्रेसलाई मात्र तरंगित पारेका छैनन्, कांग्रेसका समर्थक र शुभेच्छुकलाई पनि उत्साह र ऊर्जा थपेका छन् । परम्परालाई तोड्दै र नयाँ परम्परा बसाल्दै कांग्रेस नेतृत्वमा नयाँ प्रयोग गर्न शेखर कोइरालाले ‘आँट र साहस’ गरेका छन् । डा. शेखर ‘फ्रेस’ छन् । उनी सरकारमा गएका छैनन्, र पार्टीको कुनै पदाधिकारी वा समितिमा पनि बसेका छैनन् । कांग्रेसले उनीबाट फ्रेस शुरू गर्न संभव छ ।

डा. शेखर कोइराला कांग्रेस राजनीतिमा नयाँ नाम होइन । मलाई सम्झना छ हामी विराटनगरमा घण्टौं प्रजातन्त्र पुनस्र्थापनाको लागि छलफल र बहस गर्थ्यौं प्रतिबन्धित कालमा । उनी पेशाले डाक्टर भए पनि कोइराला निवासभित्र उनकै चहलपहल थियो । आज पनि विराटनगरको कोइराला निवासको राजनीतिक संस्कारलाई उनी मात्रले व्यवहारमा उतारिरहेका छन् । निवासको चहलपहल र रौनक अझै छ भने त्यो शेखर कोइरालाकै कारण छ ।

शेखर कोइरालाको सभापतिमा उम्मेदवार हुनेसम्मको यात्रावृत्तान्त सहज छैन । यसमा पारिवारिक अप्ठ्याराहरू अनेक छन् । यी अप्ठ्याराहरूसँग जुझ्ने कि चिर्ने यसको निर्णय कोइराला स्वयंको हो । कांग्रेसमा कोइराला परिवार मिल्दा देशभरिका कांग्रेसजनले अभिभावकत्व पाउँछन्, भावनात्मक रूपमा कांग्रेस जोडिन्छन् ।

कांग्रेसमा एकैपटक तीन जना नयाँ कोइरालाको प्रवेश हुन्छ झण्डै डेढदशक अगाडि । बीपी पुत्र शशांक र गिरिजाप्रसाद पुत्री सुजाताको पार्टी र सरकारमा चहलपहल र नेतृत्वदायी भूमिका स्थापित हुन्छ तत्कालै । शेखरको लागि यो सुविधा सहज थिएन ।

पितृसत्तात्मक देशमा विरासतबाट पाउने सुविधा आमाको राजनीतिक सक्रियता र देनबाट आउनुहुँदैन भन्ने मानसिकता छ । शेखर आमा नोना कोइरालाको राजनीतिक योगदान र त्यागबाट खासै जोडिन सकेनन् वा चाहेनन् ।

शेखर बाहेक शशांक र सुजाताको कांग्रेस पार्टी वा सरकारमा बसेको कारण क्षमता र नेतृत्वदायी भूमिकाबारे मूल्यांकन गर्न सकिन्छ । मूल्यांकन गर्ने काम कांग्रेस कार्यकर्ता र यसका शुभेच्छुक समर्थकको हो महाधिवेशनमा । शेखरको जाँगर र ऊर्जालाई पनि आकलन गर्नुपर्छ उनी कांग्रेस केन्द्रीय समितिको सदस्य भएको नाताले ।

पार्टी नेतृत्वमा पुग्ने नेता २१औं शताब्दीमा कार्यकर्ताप्रिय र आम नागरिकबीच विचारको संप्रेषण गरिरहन सक्ने हुनुपर्छ भनी मानिन्छ । कुनै पनि मुद्दामा आफ्नो अभिमत प्रकट गरेर जनमत निर्माण गर्न नसक्ने व्यक्ति नेता हुन योग्य हुँदैन ।

केही वर्षदेखि मुलुकका समस्या र तिनको समाधानका उपायहरूमा डा. शेखर आम नागरिकसँग निरन्तर जोडिएका छन् । कांग्रेसले गएको आम निर्वाचन हारेपछि शेखर धेरैजसो जिल्ला पुगेर कार्यकर्तालाई निराश हुनबाट जोगाएका छन् । शेखरको सक्रियता र ऊर्जा देखेर नै होला कांग्रेसका युवा र भविष्यका नेता शेखरसँग जोडिन पुगेका छन् ।

शेखरले युवाहरूलाई गोलबद्ध गरेर कांग्रेसको धमनीमा ‘फ्रेस रक्तप्रवाह’ गर्न सकेको बुझिन्छ । युवाहरूले शेखरलाई मियो बनाएर कांग्रेसमा परिवर्तन गर्न सक्छौं भन्ने विश्वास पनि व्यक्त गरेको सुनिन्छ । यी दुवै कुरामा ठूलो फरक छ । र, यही फरकमा भविष्यको कांग्रेसलाई खोजी गर्नुपर्छ ।

राजनीतिक नेतृत्वको आकांक्षा पाल्नेले ‘रिस्क’ उठाउन हिम्मत गर्न सक्नुपर्छ । युवा जमात र शेखरले रिस्क उठाएको देखिन्छ । युवाहरूको संस्थापन कांग्रेस नेतृत्वमा संगठित हस्तक्षेपलाई पार्टीको ‘साइलेन्ट रेभुलेशन’ नै भन्न सकिन्छ । के यो कुरा जिल्ला, गाउँ र नगरका कांग्रेसजनले बुझ्लान् ? के यो कांग्रेस नेतृत्वमा उठेको ‘शान्त क्रान्ति’ सँग देशको समग्र आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको खाका छ ? के हो त्यो ? झण्डै आफूभन्दा दुई दशक कान्छा युवा जमातले शेखरलाई धुरी बनाएर नयाँ कांग्रेस निर्माण गर्न सक्लान् ?

अनेकन् चुनौती छन् । पुरानाले सहजै छोड्दैनन् । यिनमा सुधारको संभावना पनि कमै छ । यी ‘गन्गने गुट’ भएका छन् केन्द्रमा । यिनमा दृष्टिदोष पनि छ । यी आफ्नो कमी–कमजोरी कहिल्यै आत्मसमीक्षा गर्न रुचाउँदैनन् । यी थाकेका र ऊर्जाविहीन पनि छन् । आफ्ना प्रत्येक कमजोरी यी कार्यकर्तालाई ‘अन्तरघातीको जामा’ लगाइदिएर पन्सिन्छन् किनकि यी ग्राउण्डको रियालिटीबाट कोसौं टाढा छन् । नेपालमा कम्युनिष्टले एकछत्र राज गरेको यिनै आलस्यमा रमाउने र ऊर्जाविहीन बीच कांग्रेस फसेको कारण हो । अझै पनि आलस्य कांग्रेसको बिदाइ सहज छैन ।

अन्त्यमा, कांग्रेसमा नेतृत्व साइलेन्ट क्रान्तिको वेगबाट आउँछ कि परम्परावादी ढंगबाट । जुन ढंगबाट आए पनि नयाँ नेतृत्व आओस् भन्ने कामना गर्न सकिन्छ । यसको फैसला कांग्रेसका झण्डै पाँचहजार प्रतिनिधिहरूबाट हुनेछ महाधिवेशन मार्फत ।

कांग्रेस नेतृत्वमा पुग्ने ध्येय देशको भावी आमनिर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने हुनुपर्छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नेपालमा कम्युनिष्ट विस्तारलाई रोक्न अवसर पाएको छ, यस्तो मौकामा कांग्रेसले छक्का हान्न सक्ला ? पर्खौं र तमासा हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment