+
+

ओली–प्रचण्ड : त्यो प्रेम, यो घृणा

कृतघ्न सम्बन्धको राजनीतिक पहेली

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ असार १७ गते २१:१८

चाणक्य नीतिमा भनिएको छ- ज्ञानबाट शब्द बुझिन्छ तर अर्थ बुझ्न अनुभव चाहिन्छ । राजनीतिक दल र नेताहरुको सम्बन्धको पहेली पत्ता लगाउन कहिलेकाहीँ अनुभव पनि काफी नहुने रहेछ ।

कम्युनिष्ट ‘स्कुलिङ’बाट प्रशिक्षित ‘कमरेड’हरुको सम्बन्धको पहेली झन् रहस्यमय बन्ने गरेको छ । आरोह-अवरोहले भरिपूर्ण कम्युनिष्ट आन्दोलनजस्तै नेताहरुको सम्बन्ध पनि नागबेली र उतारचढावपूर्ण रहने गरेको छ ।

करोडौं नेपालीको समृद्धिको सपना र लाखौं कार्यकर्ताहरुको नासो बोकेर उडान भरेको जेट विमानका चालकद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धलाई के ले बिथोल्यो ? व्यक्तिगत स्वार्थ र महत्वांक्षाले अन्य केही कारणले ?  ओली र प्रचण्ड अहिले सामान्य राजनीतिक शिष्टाचार पनि छाडेर आरोप–प्रत्यारोपको रणमैदानमा उत्रिरहेका छन्  ।

यो उनीहरुको व्यक्तिगत कमजोरी हो कि उनीहरुले विकास गरेको पार्टी सञ्चालन प्रणालीको दोष हो ? कम्युनिष्ट पार्टीमा एकता र संघर्षलाई आलोचनात्मक ढंगले हेर्न र बुझ्न सिकाइयो कि सिकाइएन ?

दुई नेता मिल्छन् सबै ठिक अनि यी झगडा गर्छन् सबै बेठीक ! त्यसपछि आ–आफ्ना पक्षका नेताको बचाउमा तथानाम गालीगलौज । यहाँ व्यक्ति ठिक हुनुपर्ने कि प्रणाली ? नेता कार्यकर्ताहरु रोबोर्टजस्ता आदेशपालक हुनुपर्ने कि आफ्नै मष्तिष्कको प्रयोग गर्ने अनुशासित मान्छे ? यी सोचनीय प्रश्नमा छलफल बहस हुनु जरुरी भएको छ ।

ओली प्रचण्डकै सहयोगमा दुई दुईपटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । तर उनी यतिबेला प्रचण्डलाई चर्को घृणा गरिरहेका छन् । एमाले र माओवादीमा रहँदा नेताद्वयले एकअर्कालाई भित्तैमा पुग्नेगरी गाली गर्थे । उनीहरुले प्रयोग गर्ने भाषा शैलीमा सामान्य राजनीतिक शिष्टाचार पनि हुँदैनथ्यो ।

जब पार्टी एकता गरे, एकाएक उनीहरु एकअर्कोलाई प्रेमिल सम्बोधन गर्न थाले ।  एक वर्ष अगाडिसम्म पनि उनीहरुको अस्वभाविक प्रेम देखिन्थ्यो । घृणाबाट सुरु भएको सम्बन्ध छोटो समयको प्रेमसँगै पुनः घृणामा बदलिनुपछि केही सैद्धान्तिक कारण छन् कि व्यक्तिगत राजनीतिक स्वार्थहरू मात्रै हुन् ?

कमजोरी सबैमा हुने भए पनि  ओली र प्रचण्ड सुरुमा उनीहरुले घोषणा गरेको वर्गदृष्टिकोणबाट अलि टाढा पुगेर ठूलै कमजोरी गरेको माओवादी नेता राम कार्कीको ठहर छ

सैद्धान्तिक असंगति

आफ्ना दस्तावेजहरुमा उनीहरुले एकअर्काविरुद्ध भण्डाफोर अभियानसम्म चलाए । एमालेले माओवादी आन्दोलनलाई ‘आतंकवाद’सम्मको संज्ञा दिन भ्यायो भने माओवादीले एमालेले दक्षिणपन्थी संशोधनवादी शक्तिको रुपमा भाष्य बनायो ।

एकता अगाडि एक-अर्काविरुद्ध न्यूनतम् राजनीतिक संस्कारको सीमा नाघेर आलोचना गर्ने नेताहरुबीचको एकतामा कुनै सैद्धान्तिक संगति नै नरेहको बताउँछन् जसपा नेता तथा राजनीतिक विश्लेषक डम्बर खतिवडा ।

‘दुवै नेतामा एकतालाई पुष्टि गर्ने कुनै सैद्धान्तिक संगति देखिँदैन,’ उनी भन्छन्, ‘सोचको संगति नदेखिने तर एकअर्कालाई उपयोग गर्न खोज्ने कारणले गर्दा उनीहरु एकअर्काबीच प्रेमभन्दा घृणाकै भावना छ ।’

ओलीले दक्षिणपन्थी विचारबाट आफूमा केन्द्रीकरण गरेको शक्तिप्रति प्रचण्डमा लोभ देखिएको उनको तर्क छ । ‘आधा आधा प्रधानमन्त्री खाने, एमालेसँग एकता गर्ने, ओलीसँग मिल्ने भन्ने कुरा लगभग असम्भव थियो प्रचण्डका लागि,’ खतिवडा भन्छन्, ‘तर, उहाँहरु मिल्नुभयो । म एक्लै पार्टी टिकाउन सक्दिनँ र माओवादी आन्दोलन अगाडि बढाउन सक्दिनँ भन्ने बुझाइले पनि प्रचण्डले पार्टी एकता गरे ।’

ओली ‘तलमाथि भइहाले’ भने सिंगो कम्युनिष्ट आन्दोलनलाई मैले कब्जा गर्न पाउँछु भन्ने सोचले पनि प्रचण्डलाई एकता गर्न हतारिएको हुनेसक्ने उनको बुझाइ छ । ‘यसरी हेर्दा प्रचण्डले पनि एकीकृत कम्युनिष्ट पार्टी बनाऔं र सिधा समाजवादतिर जाऊँ राम्रो गरौं भनेर ओलीसँग एकतामा गएका होइनन्,’ उनी भन्छन्, ‘यसरी उनीहरु एकतामा गएको भए त यो संकट आउने नै थिएन ।’

लोकतन्त्रका दृष्टिले दुवै बदमास

ओली र प्रचण्ड दुवैको राजनीतिक विचारधाराको जन्म र त्यसको दिगोपनामा समस्या देखिएको खतिवडाको ठहर छ । ‘ओलीले झापा आन्दोलनमा भाग लिएकै हुन् तर उनी जनयुद्धको विरोध गर्छन्,’ खतिवडा भन्छन्, ‘मिलेको बेला हामी कम्युनिष्ट-कम्युनिष्ट एउटै हौं भन्नुपर्छ । नमिलेको बेला १७ हजार सम्झिनुहुन्छ, बैंक लुटेको कुरा उठाउनुहुन्छ । माओवादी आन्दोलनलाई आतंककारी आन्दोलनको रुपमा चित्रण गर्नुहुन्छ । यो ओलीको सबैभन्दा खराब बानी हो ।’

नेताद्वयले पार्टी एकता र विभाजन दुवैलाई सैद्धान्तिक ढंगले पुष्टि गर्न नसकेको उनी बताउँछन् । ‘अबको युगमा मार्क्सवाद के हो, लेनिनवाद के हो ? माओवादी कति मान्ने कति नमान्ने ? जबजको कुन कुरा मान्ने कुन कुरा नमान्ने ? हामीले भनिरहेको नयाँ जनवाद भनेको के हो भन्ने कुराको कुनै स्पष्टता उहाँहरुमा थिएन,’ उनी भन्छन् ।

लोकतन्त्र र अन्तरपार्टी लोकतन्त्रको दृष्टिले दुवै नेता ‘बदमास’ देखिएको खतिवडाको आरोप छ । ‘प्रचण्ड पनि कहिल्यै नेतृत्व नछाड्ने र कहिल्यै कसैलाई अगाडि बढ्न नदिने स्वभावका देखिए,’ उनी भन्छन्, ‘अहिले पनि उनी धोइपखाली गरेर हामीबाट काम चलाउनुपर्छ, हामी नै नेता हौं अरु कोही आउन सक्दैन, अर्को कोही उम्रिँदैन भन्ने दावी गरिरहेका छन् ।’

ओलीको पनि अरुबेला लोकतन्त्रको जनताको बहुदलीय जनवादको कुरा गर्ने तर आफू अल्पमतमा परेपछि विधि पद्धति कुल्चने बानी रहेको उनी बताउँछन् ।  ‘अल्पमतमा परेपछि ओली न पार्टीको बैठक बोलाउँछन् न संसदीय दलको बैठक बोलाउँछन्, न विधान मान्छन्, न पार्टी प्रणाली नै पछ्याउँछन्,’ नेता खतिवडाको बुझाइ छ ।

खतिवडा अगाडि थप्छन्, ‘अन्तरपार्टी लोकतन्त्रप्रतिको दुवैको दृष्टिकोण एउटै देखियो । उनीहरु दुवै लोकतन्त्रप्रति खासै इमान्दार नेता होइनन् भन्ने देखिन्छ । प्रचण्डले पनि कुनै बेला सत्ता कब्जा गर्न प्रयास गरेकै हुन् । नसकेर संसदीय राजनीतिमा आए । ओलीले पनि अहिले संवैधानिक मान्यताहरु कुल्चिइरहेका छन् ।’

 वर्गदृष्टिकोणबाट चिप्लिएको सम्बन्ध

नेकपा माओवादी केन्द्रका नेता राम कार्की मार्क्सवादीहरुले कुनै पनि वैचारिक अवधारणा निर्माण हुँदा कुन वर्गको विचारधाराबाट निर्धारित छ र ऊ मुलतः कुन वर्गको हो भन्ने हुने निश्चित हुनुपर्ने तर्क गर्छन् । उसको वर्गदृष्टिकोणको आधारमा मानिसहरुबीचको प्रेम, घृणा, इर्ष्या, छलकपट र भावनालाई निर्धारण गर्ने कार्कीको ठहर छ ।

‘तपाईंको वर्ग दृष्टिकोण एकप्रकारको हुँदा तपाईंको प्रेम, घृणा, आक्रोश र भावनाले पुर्‍याउने ठाउँ र अर्कोखालको वर्गदृष्टिकोणले पुर्‍याउने ठाउँ बेग्लै हुन्छ,’ कार्की भन्छन्, ‘यसले पुर्‍याउने क्षति र लाभ पनि वर्गदृष्टिकोणअनुसार फरक हुन्छ ।’

कमजोरी सबैमा हुने भए पनि  ओली र प्रचण्ड सुरुमा उनीहरुले घोषणा गरेको वर्गदृष्टिकोणबाट अलि टाढा पुगेर ठूलै कमजोरी गरेको उनको ठहर छ ।

‘उहाँहरुलाई नेपालको संस्थापन पक्षको नेता हुने भोक देखियो । यसले पनि स्पष्ट गर्छ कि उहाँहरुले शासन गरेको बेलामा वा उहाँहरु सत्तामा भएको बेलामा एउटा पनि विधायक  मजदुर र किसानको पक्षमा संसदमा देखिएन,’ उनी भन्छन् । नेपालमा २० वर्षभन्दा लामो समयदेखि कम्युनिष्टहरु कुनै न कुनै रुपमा सत्तामा रहे पनि नागरिकले त्यो महसुस गर्न नसकेको तर्क गरे ।

‘दुईजनाको सम्बन्धको कुरा गर्दा उहाँहरुको निजी स्वार्थको टकराव हुनसक्छ । राजनीतिमा सबैलाई राम्रो गरौं भन्ने हुन्छ,’ कार्की भन्छन्, ‘राजनीतिमा लागेपछि लेनिन, मार्क्सजस्तै महान र गान्धीजस्तै प्रख्यात हुने मन कसलाई छैन होला र ! उहाँहरुमा पनि त्यो महान हुने सपना होला ।’ यद्यपि यो सपना भुलेर आफ्नो निजी स्वार्थहरु पनि पूरा गराउने चाहनाबाट निर्देशित हुँदा समस्या आएको कार्कीले संकेत गरे ।

दाउपेचमा आधारित एकता

‘राजनीति सम्भावनाको खेल हो भने एकता पनि एउटा सम्भावनाको खेल हो । यो एकतामा सबैको आआफ्नो दाउ थियो,’ उनी भन्छन् ।

महान नाटककार जर्ज बर्नार्ड शा र एउटी सुन्दरीको एउटा प्रसंग चर्चित छ । सुन्दरीले शासँग विवाहको प्रस्ताव राख्दै भनिन्- तिमीजस्तै विद्वान र मजस्तै सुन्दर बच्चा जन्माउनुपर्छ । शाको प्रत्युत्तर थियो- कतै मजस्तै कुरुप र तिमीजस्तै मुर्ख सन्तान जन्मियो भने ?

एमाले र माओवादी एकताको प्रसंगलाई कार्की यसरी नै सम्झन्छन् । माओवादीको एजेन्डा र एमालेको विशाल संगठनको सट्टा एमालेको एजेन्डा र माओवादीको संगठन मिसिएको उनको स्वीकारोक्ति छ ।

‘माओवादी साथीहरुलाई एमालेसँग परिवर्तनको राजनीतिक एजेन्डा छैन,’ उनी भन्छन्, ‘धेरै राम्रो मान्छे छन्, धेरै मान्छे छन्, उनीहरुको बीचमा हाम्रो एजेन्डा घुसाउन सकिन्छ भन्ने लागेको थियो ।’

एमालेका कतिपय नेताहरुलाई माओवादीसँग मिलेपछि कांग्रेसलाई ‘कर्नर पार्न’ सकिने विश्वास रहेको कार्कीको जिकर छ । ‘मुख्य मान्छेहरुलाई त प्रधानमन्त्री बन्ने, प्रमुख बन्ने र धेरैभन्दा धेरै मानिसलाई अरनखटन गर्न सकिन्छ भन्ने लागेको थियो,’ नेता कार्की भन्छन्, ‘नेताहरु जानीनजानी ‘वन म्यान लेट पार्टी’ अर्थात् एकजनाले नेतृत्व गरेको, एकजनाको प्रताप, खटन र नाममा चल्ने पार्टी बनाउन चाहिरहेका थिए ।’

दक्षिण एसियामा ‘हिरोइज्म’ आधारित यस्तो अभ्यास रहेको कार्की स्मरण गर्छन् । भारतमा धेरै वर्षसम्म गान्धी-नेहरूको परिवारबाट, श्रीलंका र पाकिस्तान दुईटा परिवारबाट र बंगलादेशमा दुईजना विधवाहरुबाट पार्टी चलिरहेको उदाहरण नेता उनले प्रस्तुत गरे ।

‘नेपालमा पनि मेरै नामबाट चलाउँछु भन्ने भोक नेताहरुमा देखियो,’ उनको निष्कर्ष छ ।

दुवै पार्टी र नेता विचारधाराको दृष्टिले विचारविहीन भइसकेका उनको ठहर छ । ‘दुवै पार्टीहरु व्यवहारिक राजनीतिको बाटोमा छन् । जे आउँदै गर्छ, गर्दै जाने । लामो रणनीति केही छैन,’ उनी भन्छन्, ‘जब हामी रणनीतिक हिसाबले काम गर्न छाड्छ, अवसरवाद यहीँबाट जन्मिन्छ । दुवै नेतासँग दीर्घकालीन रणनीति थिएन ।’

एमाले जबज नामको सामान्य कार्यक्रममा अलमलिएको र माओवादी पनि क्रान्तिकारी एजेन्डाहरु छाड्दै संसदीय सत्तामा अल्मलिएको र लोभलालच सबै पलाएको कार्कीको निष्कर्ष छ ।

कृतघ्न सम्बन्ध र केही प्रश्नहरू

एउटै आन्दोलनमा  नेतृत्वदायी भूमिकामा रहेका दुईजना नेताको सम्बन्ध कस्तो हुनुपर्ने र कस्तो छ ? असल साथी हुन् कि औपचारिक साथी मात्र ? कि अझ कुनै कम्पनीको शेयर सदस्यजस्तो नाफा घाटामा आधारित स्वार्थपूर्ण ? उनीहरु प्रतिस्पर्धी हुन् कि एक–अर्काको सहयोगी ? नेताहरुको सम्बन्धबारे विभिन्न समयमा गम्भीर प्रश्न उठ्ने गरेको छ ।

ओली र प्रचण्डबीचको सम्बन्धको उतारचढाव ‘राजनेता’ हुन नसकेका नेताहरुको स्वभाविक प्रतिफल हो कि परिस्थितिजन्य दुर्घटना ? जवाफ खोज्नुपर्ने भएको छ

विज्ञानले नै दुई फरक व्यक्तिलाई अद्वितीय मान्छ । त्यसैले सबै कुरा उस्तै हुन त असम्भव नै छ । तर, सबै कुरा उस्तै नहुनु र असल सम्बन्ध नहुनु फरक कुरा हो । सहश्राब्दि पुरुषको उपाधि पाएका मार्क्स र उनका अभिन्न मित्र फ्रेडरिक एंगेल्सको सम्बन्धको आयाम राजनीतिमा गहिरो रुचि राख्नेको लागि नौलो कुरा होइन् । उनीहरुको सम्बन्ध कृतघ्न भन्दा कृतज्ञताको उचाईमा चुलिएको थियो । उनीहरुको त्यही कृतज्ञ र अद्भूत सम्बन्धले नै मार्क्स सहश्राव्दि पुरुष बन्न सके र एंगेल्स इतिहासमा नबिर्सने पात्र बने ।

मार्क्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्ना सम्पूर्ण जीवन समर्पण गरे । उनीहरुले एकले अर्कोलाई परिपूरकका रुपमा लिए न कि प्रतिस्पर्धी । एंगेल्सले मार्क्सको निधनपछि पनि मार्क्सवादी सिद्धान्तलाई पूर्णता दिन अहोरात्र खटिइरहे । जब–जब जर्मन पुँजीवादले मार्क्समाथि आक्रमणको वर्षा गर्‍यो, एंगेल्सले त्यसको प्रतिवाद गरिरहे । त्यस्तै मार्क्सले पनि । मार्क्सको निधनपछि पनि ‘पुँजी’लाई पूर्णता दिन उनको अद्वितीय योगदान रह्यो । प्रचण्ड–ओलीको सम्बन्ध ‘लिने बढी दिने कम’ स्वार्थमा आधारित र उपयोगवादी सम्बन्ध रह्यो ।

उत्पादन सम्बन्धसँग सम्बन्धको सम्बन्ध

हुन त, मानवीय सम्बन्धहरु समाजको उत्पादन सम्बन्धसँग पनि सम्बन्धित हुन्छ । सामन्तवादको प्रतिनिधित्व गर्ने उत्पादन सम्बन्धको उपज पिछडिएको चेतनाबीचको सम्बन्ध निषेधात्मक हुने मानिन्छ । जबकि पुँजीवादी उत्पादन सम्बन्ध सामन्तवादी भन्दा अलि बढी हार्दिक र फराकिलो हुन्छ । १८औं शताब्दीमा युरोपको उत्पादन सम्बन्धभन्दा अहिले नेपालको उत्पादन सम्बन्ध अझै पिछडिएको पाइन्छ । यस्तोमा सम्बन्धहरू त्यागमा भन्दा स्वार्थमा आधारित हुन्छन् ।

यस्तो सम्बन्ध कहिल्यै कृतज्ञ सम्बन्ध हुनसक्दैन । एउटाको लागि अर्को सिद्धिन पनि तयार हुने सम्बन्ध नै कृतज्ञ सम्बन्ध हो । अथवा आफ्नो जीवनको मूल्यभन्दा सम्बन्धको मूल्यलाई महत्व दिने सम्बन्ध नै कृतज्ञ सम्बन्ध हो । त्यसरी नै आफ्नो जीवनको लागि अर्कोलाई सिध्याउन पनि तयार हुने सम्बन्ध कृतघ्न सम्बन्ध हो ।

माओवादी आन्दोलनमा यस्तो सम्बन्धलाई ‘अर्काको मृत्यूमा आफ्नो जीवन देख्ने’ सम्बन्धको रुपमा चर्चा गरिन्थ्यो । पूर्वीय दर्शनमा ‘कृष्ण र सुदामा’को सम्बन्धलाई यही कृतज्ञ सम्बन्धको रुपमा चित्रित गरिन्छ । यस्तै कम्युनिष्टहरुले ‘मार्क्स र एंगेल्स’को सम्बन्धलाई कृतज्ञ सम्बन्धको रुपमा चित्रित गर्ने गर्दछन् ।

एउटा भनाइ छ, ‘म तपाईंको खान्छु, तपाईं मेरो जीवन जिउने साधन बन्नुहुन्छ । यसलाई विकृति भन्छन् । तपाईं तपाईंको खानुहोस्, म मेरो खान्छु, त्यसलाई प्रकृति भन्दछन् । तपाईं खान सक्नुहोस् भन्ने चिन्ता गर्दै म खान्छु भने, यसलाई संस्कृति भनिन्छ ।’

यसरी हेर्दा विकृतिलाई जितेर, प्रकृतिभन्दा माथि उठेर संस्कृतिको रुपमा स्थापित सम्बन्ध नै कृतज्ञ सम्बन्ध हुनसक्छ । यसको लागि नेता राजनेताको रुपमा उठेको हुनुपर्छ । ओली र प्रचण्डबीचको सम्बन्धको उतारचढाव ‘राजनेता’ हुन नसकेका नेताहरुको स्वभाविक प्रतिफल हो कि परिस्थितिजन्य दुर्घटना ? जवाफ खोज्नुपर्ने भएको छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?