Comments Add Comment

अमेरिकाको मियामीमा १२ तले भवन ढल्नुको कारण के हो ?

उद्धारकार्य रोकियो, बाँकी भागलाई विष्फोटक पदार्थ प्रयोग गरेर भत्काउने तयारी

२० असार, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामीमा रहेको १२ तलाको एक अपार्टमेन्ट भवन गत जुन २४ मा आंशिकरुपमा भत्कियो । यो भवन भत्किँदा २४ जनाको मृत्यु भयो भने १२१ जना बेपत्ता छन् । यद्यपि आगामी दिनमा आँधी आउन सक्ने र भत्किन बाँकी रहेको भागले पनि क्षति पुर्‍याउन सक्ने भन्दै उद्धारकार्य रोकिएको छ ।

उद्धारकर्ताहरुको टोलीले बाँकी भागलाई विष्फोटक पदार्थ प्रयोग गरेर भत्काउने तयारी गरिरहेका छन् । उक्त भवन आंशिकरुपमा भत्किएको केही घण्टासम्म केही मानिसलाई जीवित उद्धार गरिएको भए पनि त्यसयता भने कोही पनि जीवित फेला परेका छैनन् ।

५५ अपार्टमेन्ट रहेको भवन कसरी भत्कियो ? भन्ने विषयमा अहिले विशेषज्ञहरुले अनुसन्धान गरिरहेका छन् । जसका लागि उनीहरुले संरचनात्मक त्रुटिदेखि वातावरणीय प्रभावको विषयमा अध्ययन गरिरहेका छन् । साथै यी दुवै कारण मेल भएकाले अचानक ४० वर्ष पुरानो यो भवन भत्किएको पनि हुन सक्छ ।

भिडियो फुटेजले दिएको क्लु

नजिकैको भवनमा रहेको सीसीटीभी क्यामेरामा कैद भएको फुटेजमा भवन एकैपटक नखसेर पटक–पटक गरी खसेको देख्न सकिन्छ ।

यो भिडियो हेरेका केही विषयविज्ञहरु यो भवन भत्किँदा सबैभन्दा पहिला भवनको स्विमिङ पुलतर्फ रहेको जग भत्किएको बताउँछन् । सञ्चारमाध्यमहरुका अनुसार भवन भत्किँदै गर्दा फोनमा बोलिरहेकी एक महिलाले आफ्ना पतिसँग स्विमिङ पुल भासिइरहेको बताएकी थिइन् ।

सुरुमा भवनको बीचको भाग खसेको छ भने त्यसको तीन सेकेण्डपछि त्यो भन्दा उत्तरतर्फ रहेको भाग खस्छ । त्यसको पाँच सेकेण्डपछि मात्र पूर्वी भाग खसेको भिडियोमा देख्न सकिन्छ ।

भवन भत्किसकेपछिको तस्वीरमा स्विमिङ पुल वरिपरीको क्षेत्र भासिएको देखिन्छ । उक्त भासिएको ठाउँभन्दा मुनि अन्डरग्राउन्ड पार्किङ थियो ।

सन् २०१८ मा गरिएको अनुगमनमा उठेका प्रश्न

उक्त अनुगमनमा ग्राउण्ड फ्लोरमा रहेको स्विमिङ पुल वरपरको क्षेत्रलाई ‘चिन्ताजनक क्षेत्र’को रुपमा व्याख्या गरेको थियो । त्यसयता उक्त भाग झन् कमजोर हुँदै गएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

सो अनुगमनको क्रममा उक्त भवनको वास्तविक डिजाइनमा ‘प्रमुख त्रुटि’ भएको पाइएको थियो । इन्जिनियर फ्रान्क मोराबिटोले पुल वरपरको क्षेत्र पानी बग्न नसक्ने गरी बनाइएकाले त्यसैले सकेर नजाँदासम्म त्यहाँ पानी जमेर बस्ने समस्या रहेको बताएका थिए ।

स्विमिङ पुलको वरपरका क्षेत्रबाट पानी राम्रोसँग बग्न नसकेकाले पार्किङ स्थलको सिलिङमा पानी रसाउने समस्या देखिएको थियो । यसले भवनको आयु पनि घटाउँदै लगेको थियो । आगामी दिनमा पानीलाई सहजै बग्न सक्ने वा जम्न नदिने गरी व्यवस्थापन गर्न नसके ठूलो क्षति हुन सक्ने चेतावनी त्यतिबेलै दिइएको थियो ।

मोराबिटोको अनुमगन प्रतिवेदनमा पार्किङ ग्यारेजको बिम, कोलम र पर्खालमा चिरा परेको पनि उल्लेख थियो । यो रिपोर्टमा समय समयमा यसको मर्मत गर्न सुझाइएको भए पनि ४० वर्ष पुरानो यो भवन कुनै पनि बेला ढल्न सक्छ भन्ने जोखिमबारे भने केही उल्लेख थिएन ।

यस वर्षको सुरुमा पार्किङ क्षेत्रको मर्मत गर्नुपर्ने अवस्था आएको भन्दै स्थानीय एक संगठनले त्यसको मर्मतको लागि ९० लाखदेखि एक करोड ५० लाख डलरसम्म आवश्यक पर्ने बताएको थियो ।

इन्जिनियरहरुका अनुसार भवन भत्किँदा छत मर्मतको काम सुरु भइसकेको थियो तर अझै पनि पुरानै अवस्थामा ल्याउनको लागि भने ठोस कदम सुरु भएको थिएन ।

स्ट्रक्चरल इन्जिनियर ग्रेग बाटिस्टा यो भवन बनाइएको कंक्रिटमा क्षति पुग्नु नै भवन भत्किनुको एक कारण हुन सक्ने बताउँछन् । उनका अनुसार कंक्रिटमा पुगेको क्षतिको कारण बाहिरबाट छिरेको पानीले त्यसमा प्रयोग भएका रडमा खिया लाग्छ । जसको कारण त्यसको आकार पनि सात गुणा ठूलो हुन्छ र रडको वरपर रहेको कंक्रिट टुट्न थाल्छ । यसले भवनको बिम र पिल्लरमा समस्या देखिन्छ ।

जमिनको हलचल असर

गत वर्ष फ्लोरिडा युनिभर्सिटीका शोधकर्ताहरुले सार्वजनिक गरेको अध्ययनको रिपोर्टमा यो भवनमा सन् १९९० को दशकमा प्रतिवर्ष दुई मिलिमिटरको दरले भासिएको उल्लेख छ । यस किसिमको गतिविधिले चिरा देखिने र संरचनात्मक समस्या निम्त्याएको हुन सक्ने केहीको भनाइ छ ।

प्राध्यापक सिमोन डोविन्स्किका अनुसार यो अध्ययनको क्रममा यो भवन सबैभन्दा धेरै भासिएको भवनमध्येको एक थियो । यद्यपि त्यसपछि २० वर्षभन्दा लामो समयसम्म यो भवनबारे थप अध्ययन भएन । त्यसैले त्यसपछि थप भासियो वा भासिएन भन्ने थाहा हुन सकेन ।

‘भासिने अन्तिम बिन्दुसम्म पुगेको र यो संरचनाले भवनको भार धान्न नसक्ने अवस्था आएर भवन ढलेको पनि हुन सक्छ । तर यो संरचनात्मक समस्या हो’, प्राध्यापक सिमोनले भने ।

‘हामीलाई थाहा भएको कुरा के हो भने मियामीमा ढलेको भवन धेरै वर्षदेखि भार्सिरहेको थियो तर त्यो मात्र यो भवन ढल्नुको कारण भने होइन’, उनले थपे ।

केही मानिसहरु नजिकै बनेको १८ तलाको भवनको कारण पनि पुरानो भवनमा क्षति पुगेको हुन सक्ने बताउँछन् । नयाँ भवन बनाउँदा नै पुरानो घर हल्लिने समस्या देखिएको थियो । यो भवनमा बस्ने मानिसहरुले सन् २०१९ मा नयाँ भवन बनाउँदा आफूहरु बसेको घर हल्लिएको भन्दै गुनासो गरेका थिए । तर, उनीहरुको अवस्थालाई नियालिरहेको आश्वासन दिइएको थियो ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment