Comments Add Comment

‘जानुस्, हामी केही गर्न सक्दैनौं’

नेपालका अधिकांश युवा बेरोजगार छन् । आयआर्जन र आर्थिक उत्पादनका लागि स्वदेशमा रोजगारका अवसर न्यून छन् । शिक्षित भनिएका मास्टर डिग्री गरेकाले रोजगार नपाएको हाम्रो देशमा ग्रामीण भेगका सामान्य नागरिकका लागि राज्यबाट रोजगारीको अवसर प्राप्त गर्नु धेरै टाढाको विषय बनेको छ ।

त्यसो त नेपालका युवा जनशक्ति बाह्य मुलुकमा रोजगारीका लागि विश्वभरि छरिएका छन् । आफू जन्मेको गाउँ र देश छोडेर खाडी मुलुकमा रगत र पसिनासँग पैसा साट्नु त्यति सजिलो छैन तर पनि यो सब गर्नु बाध्यता छ ।

यस्तै समस्याका कारण रुकुम पश्चिमका तीनजना युवाहरूले विदेश जाने निधो गरे । घरपरिवारको आधारभूत आवश्यकता टार्न र घरको छानो फेर्न विदेशिनुको विकल्प थिएन । विदेश जानका लागि आवश्यक पर्ने खर्चको लागि उनीहरूसँग आवश्यक रकम पनि थिएन । तर यताउता गरेर गाउँबाट साहुसँग ऋण खोजेर पैसा जुटाए ।

खाडी जान भनी हिंडेका युवालाई दलालीसँग एकजना गाउँकै जान्नेबुझ्ने भनिएको साथीले भेट गराइदियो । शुरूआती कुराकानी भए । दलालले विभिन्न उपाय बताउँदै युरोप जान सुझाव दियो । पैसा पनि धेरै हुने, काम पनि राम्रो हुने भनेर ‘कन्भिन्स’ गरेपछि उनीहरू सहमत भए । विदेश पठाउनको लागि कागजपत्र मिलाउन आधा पैसा मागियो, उनीहरूले विश्वास गरेर पैसा दिए ।

केही समयपछि भिसा आउने समय भयो । तत्काल सबै पैसा जम्मा गर्नु भनेर दलालले भन्यो । ती युवाहरूले उसले भने अनुसार सबै पैसा दिए ।
उनीहरू युरोप उड्ने सपना बुनेर बसिरहे । दिन, हप्ता हुँदै महीना बिते, तर भिसा आएन । दलालले विभिन्न बहाना बनाइरह्यो । यस्तैमा वर्ष बित्यो तर युरोप जाने कुनै लक्षण देखिएन ।

एकवर्षसम्म विदेश नपठाएपछि उनीहरूलाई थाहा भयो कि अब यसले विदेश पठाउँदैन । त्यसपछि दलालसँग पैसा माग्न थाले । अन्तिममा दलालले पनि भिसा लाग्न सकेन भन्यो ।

साहुको ऋण काढेर दिएको पैसाको ब्याजले उँचाइ छोइसकेको थियो । तर दलालले पैसा दिएन । पढेनलेखेका गाउँका सोझा युवालाई आपत् पर्‍यो । अब ऋण कसरी तिर्ने ? न कोही चिनेका मान्छे थिए न आफू नै केही गर्न सक्थे । तर उनीहरूले दलाललाई पैसा बुझाउँदा एउटा कागज चाहिं बनाएका रहेछन् ।

त्यही कागज देखाएर पैसा असुल्ने प्रयासमा उनीहरू जुटे । कहिले प्रहरीकोमा धाए, कहिले अन्यत्र गए । सबैले फिर्ता गरिदिए । न्याय कहींबाट पाइएन । त्यसपछि उनीहरूले न्याय पाउने आशा पनि मार्न थाले ।

प्रहरीले पनि केही नगरेपछि उनीहरू पुनः दलालसँग पैसा माग्न थाले । यतिबेलासम्म दुई वर्ष बितिसकेको थियो । दर दलालहरूले पैसा नदिने, उल्टो गुण्डाहरू लगाउने, धम्क्याउने गर्न थाल्यो । न दलालबाट पैसा उठ्छ, न विदेश उड्न पाइन्छ । यता ऋणको ब्याजले आकाश छोइरहेको छ ।

विदेश गएर घरपरिवारको अवस्था सुधार्ने सपनाले काँडा बनेर बिझाउन थाल्यो उनीहरूलाई । ठगिएका तीनजना मध्ये एकजना मेरो अंकल हुन् । २०७७ सालको मध्यतिर एसईईको नतिजा आएपश्चात् अध्ययनका लागि गाउँबाट काठमाडौं गएको थिएँ । त्यहीबेला यो सबै थाहा पाएँ ।

एकदिन फोनमा आन्टीले रुँदै यो सबै कुरा भन्नुभयो । ‘केही सक्छस् भने गरिदे’ उहाँले अनुरोध गर्नुभयो । मसँग कुनै जवाफ थिएन । किनभने ठगिएका र अन्यायमा परेकाहरूका लागि कानून छ र कानूनबमोजिम गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने मैले सानैदेखि पढेको र सिकेको कुराको विपरीत भइरहेको थियो । यस्तो अवस्थाले मेरो मन खिन्न भयो । आन्टीलाई सक्दो सहयोग गर्ने बचन दिएँ ।

बिहानको समयमा किष्ट कलेज कमलपोखरीमा पढाइ चलिरहेको थियो । अंकलहरूलाई ठगिएको र न्याय नपाएको कुराले निकै पिरोलिरहेको थियो । सरकारले यसरी ठगिंदा पनि किन नसुनेको होला ? प्रहरीले किन केही पहल गरेन र फिर्ता पठायो होला ? यस्तै यस्तै प्रश्न मनभरि खेलिरहेका थिए । बिहानको कक्षा सकिइसकेको थियो । म कलेजबाट कोठामा फर्कें र नेपाल प्रहरीको फेसबुक म्यासेन्जरमा टाइप गर्न थालें सबै घटनाको विवरण ।

खाना खाएँ । एकछिन पछि जवाफ आयो । यसका लागि वैदेशिक रोजगार बोर्डमा जानू भनेर फोन नम्बर र ईमेलसहितका जानकारी दिइएको थियो ।
भोलिपल्ट बिहानीको कक्षापश्चात् म वैदेशिक रोजगार बोर्ड गएँ । मान्छेको निकै चहलपहल थियो । यताउता हातका हत्कडी लगाएका व्यक्ति, कोही यताउता घुमिरहेका, कोही गम्भीर भएर सोचिरहेका जस्ता मानिसको भीडभाड देखियो ।

म पनि सहयता कक्षमा गएँ र वैदेशिक ठगी सम्बन्धी समस्या लिएर आएको सुनाएँ । मलाई निवेदन लेख्ने मानिसकहाँ जान सुझाइयो । म त्यतै गएँ । एकजना मानिसले ‘किन आएको ? के भयो ?’ भनेर सोधे ।

मेरो देशमा सरकारले केही गर्न सक्दैन । जे गर्नु दलालहरूले गर्छन् । म अझै पनि न्याय दिलाउने प्रयासमा छु । पैसा फिर्ता गराउने प्रयासमा छु ।

मैले घटनाको बेलिविस्तार लगाएँ । ‘मेरो अंकलसहित तीन जनालाई बुटवलको दलालले युरोप पठाउँछु भनेर ७ लाख ठगेको छ, दुई वर्षभन्दा बढी भयो । न पैसा दिन्छ न विदेश पठाउँछ ।’

प्रश्न सोधियो-प्रमाण के छ ?

मैले भनें, ‘गाउँका सीधासाधा मानिस हुन् । पढेलेखेका छैनन् । त्यसैको फाइदा उठाएर पैसा लिंदा ऋण लिएको भनेर कागज गरेको छ । यसबाहेक अन्य प्रमाण छैन तर अन्य प्रमाणको रूपमा त्यसको फोन रेकर्ड, म्यासेज छ ।’

‘त्यसो भए अलि गाह्रो पर्छ’ भन्ने जवाफ आयो । ती मानिस हाकिमसँग भेट्न गए । उनी भवनको माथिल्लो तेस्रो तल्लामा हाकिमलाई भेट्न गए । हाकिम अरू नै काममा व्यस्त थिए । मलाई पुनः घटना विवरण सोधियो । मैले सबै घटना विवरण बताएँ ।

हाकिम एकछिन मौन रहे । एकछिनपछि उनको जवाफ थियो, ‘हेर्नुस्, हामी तपाईंलाई सहयोग गर्न सक्दैनौं । मुद्दा लड्नको लागि पर्याप्त प्रमाण पुग्दैन । हामी केही गर्न सक्दैनौं । बरु यसको लागि प्रहरीले सहयोग गर्न सक्छ । तपाईं महानगरीय अपराध महाशाखा जानुस् ।’

हाकिमको जवाफ सुनेर कोठामा फर्किएँ । कलेजको गृहकार्य गरें । खाना खाएर सुत्न ओछ्यानमा पल्टिएँ । तर घटनाक्रमले निद्रा नै लागेन । बिहान क्याम्पस जाने, कोठा फर्कने रुटिन त छँदैथियो । अर्को दिन त्यो रुटिन सकेर अपराध महाशाखातर्फ हिंडें । मैले प्रतिज्ञा गरेको थिएँ– जसरी पनि पैसा फिर्ता गराउँछु र अंकलहरूलाई न्याय दिलाउँछु ।

अपराध महाशाखामा पनि भीडभाड नै थियो । एकजना प्रहरी डीएसपी नजिकै बसेर केही कुरा गर्दै थिए । म त्यहीं गएँ । ‘किन आएको ? केही काम वा समस्या छ ?’ भनेर सोधियो ।

मैले घटनाको बेलिविस्तार लगाएँ । त्यहाँबाट पनि बनिबनाऊ जवाफ आयो । ‘एकपटक मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जानुस् । तपाईंको समस्याको समाधान त्यहाँ हुनसक्छ । यसमा हामी केही गर्न सक्दैनौं ।’

मेरो मनको आशा मर्न थालिसकेको थियो । प्रतिज्ञा पातलो हुँदै थियो ।

आन्टीले गरेको विलौना सम्झिएँ । साहुको ऋणको तनाव, दलालले गुण्डा लगाएको घटना जस्ता अन्यायपूर्ण कुराहरूले मलाई चुप लागेर बस्न दिएन । कलेज, होमवर्क, खानपानको नियमित रुटिन सकेर अर्को दिन मानव बेचबिखन अनुसन्धान ब्यूरो गएँ ।

गाउँको विद्यार्थी म । भर्खरै शहर झरेको थिएँ । यी सरकारी निकायहरू पत्ता लगाउन मलाई मुश्किल भइरहेको थियो ।

अन्ततः मानव बेचबिखन अनुसन्धान ब्युरोमा पनि पुगें । कार्यालय प्रमुखसमक्ष त्यही घटनाक्रम सुनाएँ । ‘हुन्छ, हामी सघाउँछौं तपाईंलाई । न्याय दिन्छौं’ भन्ने वाक्य सुन्न लालायित मेरा कानहरूले यहाँ पनि यस्तो कुरा सुन्न पाएनन् ।

सबै सरकारी निकायहरूको जवाफ उस्तै थियो । ‘हामी केही गर्न सक्दैनौं । तपाईं जान सक्नुहुन्छ ।’

त्यसपछि बाहिर आएँ । यति धेरै ठाउँ धाउँदा पनि गरीबका लागि न्याय किन पाउन सकिंदैन ? कानून बनेको छ तर कार्यान्वयन किन हुँदैन ? भए पनि गरीबको लागि प्रहरी प्रशासन, सरकार किन अग्रसरता लिंदैन ? यस्तै प्रश्न फेरि उब्जिरहेका थिए । अनुहार मलिन थियो । कोठामा फर्किएँ । त्यसदिन होमवर्क गर्न सकिनँ । खाना नखाई सुतें र भोलिपल्ट कलेज पनि गइनँ ।

सरकार सामाजिक न्यायका कुरा गर्छ तर नागरिक न्यायका लागि यसरी भौंतारिनुपर्छ नागरिक । पीडक अनुकूलका छन् सरकारी संयन्त्रहरू र सेवा दिने तरिका । सरकार कानूनी शासनको कुरा गर्छ तर गरीबहरूमाथि सधैं अन्याय भइरहेको छ । सरकार न्यायमा सहज पहुँचको कुरा गर्छ । तर नागरिक न्यायको ढोकासम्म पनि पुग्न सक्दैन ।

समस्या मेरो अंकलहरूको मात्र हैन । समस्या हजारौंको छ जस्तो आभास भइरहेको छ । धेरै नागरिक पीडा र अन्यायमा छन् । तर पनि सरकार र प्रशासन ‘हामी केही गर्न सक्दैनौं’ भनेर फर्काइदिन्छ ।

यो मेरो देशमा सरकारले केही गर्न सक्दैन । जे गर्नु दलालहरूले गर्छन् । म अझै पनि न्याय दिलाउने प्रयासमा छु । पैसा फिर्ता गराउने प्रयासमा छु ।

(कुमाख–६, सल्यानका खड्का कक्षा-११ मा अध्ययनरत विद्यार्थी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment