Comments Add Comment

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव

२१ असार, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ ।

निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले प्रबन्धपत्र र नियमावली मन्त्रालयमा बुझाएपछि अब रणनीतिक साझेदार भित्र्याउने विषयमा बहस शुरु हुने बताए । ‘हामीले प्रबन्धपत्रको प्रस्तावित ढाँचा मन्त्रालयमा बुझाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘निकै लामो प्रक्रियाको बहस यहाँबाट शुरु भएको छ ।’

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७६ साल असोजमा निगमका वर्तमान अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा निगम व्यवस्थापन सुधारका विषयमा सुझाव समिति गठन गरेका थिए ।

यो समितिले दिएको सेयर संरचनासम्बन्धी सुझावका आधारमा प्रबन्धपत्रको नियमावलीको ढाँचा तयारी पारी सरकारलाई बुझाइएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

निगमले पब्लिक कम्पनी बनाउने गरी प्रबन्धपत्र र नियमावली बनाएपछि कर्मचारी भने आन्दोलित बनेका छन् । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजान नहुने र निगमलाई सार्वजनिक संस्थान कै रुपमा अस्तित्व कायम राख्नु पर्ने माग गरेका छन् ।

उनका अनुसार ढाँचामा निगममा रणनीतिक साझेदार भित्र्याउने र त्यसका लागि सरकारको बहुमत सेयर रहने गरी पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ ।

सुझाव समितिले नेपाल सरकार (कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बिमा समूह र अन्य इच्छुक र सक्षम सार्वजनिक संस्था)को ५१ प्रतिशत सेयर हिस्सा रहने गरी लगानी संरचनाको प्रस्ताव गरेको थियो ।

कम्पनीको अधिकृत पुँजी २ सय अर्ब पुर्‍याउने र त्यसमा विदेशी साझेदार वा नेपाली लगानीकर्ता, नेपाल एयरलाइन्सका वर्तमान तथा भुपू कर्मचारी, निजामती कर्मचारी, पर्यटन व्यवसायी र संघसंस्था तथा सर्वसाधारण लगानीकर्तासम्मलाई लगानी गर्न सक्ने गरी लगानी संरचनाको सुझाव समितिले दिएको थियो ।

यसै समितिको सुझावलाई समेटेर निगमले प्रवन्धपत्र र नियमावलीको ढाँचा बनाई मन्त्रालयका प्रस्ताव गरिएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

अब के हुन्छ ? 

महाप्रबन्धक पौडेलका अनुसार मन्त्रालयलाई प्रबन्धपत्र र नियमावलीको ढाँचा पठाएसँगै अब सरकारले यस प्रस्तावबारे व्यापक छलफल गराउँछ ।

रणनीतिक साझेदार ल्याउन सक्ने अनेक मोडालिटीमा छलफल भई ठोस प्रस्ताव बन्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारको निर्णय नै निगमका लागि सर्वमान्य हुन्छन् ।’

कर्मचारी आन्दोलित

निगमले पब्लिक कम्पनी बनाउने गरी प्रबन्धपत्र र नियमावली बनाएपछि कर्मचारी भने आन्दोलित बनेका छन् ।

उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजान नहुने र निगमलाई सार्वजनिक संस्थान कै रुपमा अस्तित्व कायम राख्नु पर्ने माग गरेका छन् । उनीहरुले गत शुक्रबारदेखि निगमको महाप्रबन्धक र निर्देशकहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

निगमकी प्रवक्ता करिष्मा श्रेष्ठले निगमलाई सार्वजनिक संस्थानकै अस्तित्वमा कायम राख्नुपर्ने कर्मचारीको माग रहेको बताइन् । उनले भनिन्, ‘सार्वजनिक संस्थानका रुपमा निगमको अस्तित्व मेट्न पाइँदैन, निगम बचाउनुपर्छ र यसको संरचना पुनसंरचना गर्ने क्रममा अनेक विकल्पमा छलफल गर्नुपर्ने कर्मचारीको माग छ ।’

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा नेपाल वायुसेवा निगमको पुनसंरचना गरी व्यवसायिक एवं प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ ।

त्यसका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्राउने प्रक्रिया शुरु गर्ने र निगमको सेयर पुँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने पनि उल्लेख गरेको छ ।

निगम निजीकरण गरिएको होइन : महाप्रबन्धक पौडेल

नेपाल सरकारले बजेटमार्फत नेपाल वायुसेवा निगमको संगठन सुधार गर्ने भनी गरेको प्रतिवद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन  गरिएको थियो । त्यस क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाई रणनीतिक साझेदारसहितको ढाँचा तयार गरी हुबहु मन्त्रालयमा पेश गरेको हो ।

यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन । सञ्चालक समितिले पनि कुनै निर्णय गरेको पनि छैन । सञ्चालक समितिको निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले नेपाल सरकार को निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन् ।

मेरो विचारमा निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न सक्दैन । धेरै बिकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हो ।

तर, अहिलेको जस्तो न्युन पूँजी र अत्यधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुदैन । पहिला कर्जा तिर्नुपर्छ सम्पत्ति थप गर्नु पर्छ, पर्याप्त सेयर पुँजी बनाउनुपर्छ । रणनैतिक योजना बनाउनुपर्छ अनि मात्र कम्पनी मोडलमा जानुपर्छ ।

नेपाली श्रम, सीप र योग्यताको विकासका लागि सुरुका केही बर्षमा विदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपर्छ । यथार्थपरक व्याख्या गरौं, आफू अनुकुल व्याख्या गरेर संस्था, मन्त्रालय र सरकारको खिल्ली उडाउन छोडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment