Comments Add Comment

गणेशमानको त्याग, प्रकाशमानको नेतृत्व

नेपाली राजनीतिमा कांग्रेस नेता बीपी कोइरालालाई महामानव तथा युगपुरुष उपनामले चिनिन्छ । अर्का नेता गणेशमान सिंहलाई सर्वोच्च नेता-लौहपुरुष-सर्वमान्य नेताको उपनामले सम्बोधन गरिन्छ ।

बीपी कोइरालाको पारिवारिक नाम ‘सान्दाजु’ हो भने गणेशमान सिंहको ‘हीराकाजी’ । वि.सं. १९७१ भदौ २४ गते जन्मेका बीपी कोइराला गणेशमान सिंह भन्दा १४ महीना जेठा थिए । गणेशमान सिंहको जन्म वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको यट्खा टोलमा भएको थियो ।

दरबार हाईस्कूलको कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर-सम्मान नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निष्कासनमा परे । त्यसपछि बहिदार पदको जागीर खान सरकारी सेवामा प्रवेश गरे । राणाहरूको अगाडि साइकल दौडाएको कारण सजाय भोगेका गणेशमान सिंह जागीर छोडेर कलकत्तातिर लागे । किनकि उनी आफ्नो स्वाभिमान गिराउन चाहँदैनथे ।

विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंह उमेर र राजनीतिक हिसाबमा समकालीन थिए । बीपीमा जुनसुकै विषयमा निर्णय लिन सक्ने निर्णयात्मक खूबी थियो । गणेशमान सिंहमा राजनैतिक अडान लिन सक्ने खूबी थियो । वि.सं. २००१ मा भद्रगोल जेलको पर्खाल नाघेर गणेशमान दार्जीलिङ हुँदै कलकत्ता पुगे ।

बीपीसँग सम्पर्क भयो, दुवै जना मिलेर २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । सुवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस एकीकरण भएर नेपाली कांग्रेस स्थापना भयो । त्यसपछि बीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसाद नेपाली कांग्रेसको संस्थापक बने ।

तत्कालीन राणाशासनका विरुद्धमा २००७ साल असोज ९, १० र ११ गते भारतको वैरगनियामा सम्मेलन भयो । गणेशमान सिंह, खड्गजित बराल, बहादुर सिंह बराल, डा के.आई.सिंह, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिले राणाशासन फाल्न ‘डु अर डाई’ (गर या मर) ‘कि राणाशासन खत्तम गर्ने कि हामी खत्तम हुने’ सामूहिक निर्णय गरेका थिए ।

२००७ सालको क्रान्तिपछि नेपालमा प्रजातन्त्र आयो । मोहनशमशेरको नेतृत्वमा गठित मन्त्रिपरिषदमा गणेशमान सिंह मन्त्री बने । २००८ सालको मातृका कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेका गणेशमान सिंहले बीपीको निर्देशनमा मन्त्री पद त्याग गरे ।

२०१२ साल वीरगन्जमा भएको महाधिवेशनमा सभापति पदमा गणेशमान सिंह र सुवर्ण शमशेरबीच प्रतिस्पर्धा भयो । सभापतिमा सुवर्ण शमशेर आए । २०१४ सालको ‘भद्र अवज्ञा’ आन्दोलनको नेतृत्व गणेशमान सिंहले नै गरे । २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेस सरकारको नेतृत्व बीपी कोइरालाले गरे । बीपी कोइराला नेतृत्व सरकारमा गणेशमान सिंह निर्माण तथा यातायात मन्त्री बने ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई अन्त गरेर प्रजातन्त्र माथि ‘कु’ गरे । त्यसपछिका हरेक कालखण्डमा बीपी कोइरालाको सैद्धान्तिक विचार र राजनीतिक निर्णयमा गणेशमान सिंहको राजनीतिक अडान निरन्तर रहँदै गयो । कोइराला र सिंह परिवारको सामीप्यता र आपसी सहकार्य सबैको लागि प्रेरणादायी छ । २०३९ सालमा बीपीको निधन भएपछि गणेशमान सिंह नेपाली कांग्रेसको सर्वोच्च नेता बने ।

कांग्रेस पार्टी संगठनमा नेता सिंहलाई संस्थापक नेता कृष्णप्रसाद भट्टराईको साथ रह्यो । २०४६ साल माघमा सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्र पुनःस्थापनाको लागि बाम गठबन्धन सहितको संयुक्त जनआन्दोलन भयो । २०४६ चैत २६ राति नेपालमा बहुदलीय व्यवस्था सहितको प्रजातन्त्र घोषणा भयो । राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रस्ताव गरे ।

नेता सिंहले प्रधानमन्त्री पदमा कृष्णप्रसाद भट्टराईलाई अगाडि ल्याए । संघर्षमय लामो लोकतान्त्रिक आन्दोलनमा भाग लिएका नेता सिंह पार्टीको सभापति पद र सरकार प्रमुखमा पुगेनन् । पद त्यागकै कारण उनको सम्मानको इतिहास त छँदैछ । गणेशमान सिंह बाहेक बीपी, सुवर्ण, कृष्णप्रसाद भट्टराईले पार्टीको सभापति र प्रधानमन्त्री पदमा पुग्ने अवसर पाए ।

गणेशमान सिंहलाई पार्टीको सभापति र प्रधानमन्त्री पदमा पुग्ने अवसर जुरेन । चाक्सीवारीस्थित नेता गणेशमान सिंहसँगै उनको पूरै परिवार राजनीतिमा होमिएका थिए ।
सिंह परिवारको कान्छा पुत्र प्रकाशमान सिंह आसन्न महाधिवेशनमा सभापति पदको स्वाभाविक उम्मेदवारको लागि अग्रस्थानमा छन् । समान न्यायको सिद्धान्त अनुरुप पनि यस पटक उनीमाथि नेपाली कांग्रेसले न्याय गरोस् ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई ‘कु’ गर्दा प्रकाशमान सिंह पाँच वर्षका थिए । बुबा-आमा जेलमा थिए । राजनीतिक मुद्दाको कारण उनी आफ्नो घरमा पनि बस्न पाएनन् । डेरा सर्दै सर्दै दुःखसाथ अध्ययन गर्दै गए । २०३६ सालको जनमतसंग्रहताका नेता सिंह २४ वर्षका थिए । युवा समूहको नेतृत्व गर्दै बाल पेन्टिङ गर्ने, पोष्टर झुन्ड्याउने, सभामा कुर्सी, सोफा मिलाउने काम गर्थे । र्‍याली जुलूसको नेतृत्व गरे । ३५ वर्षको उमेरमा काठमाडौं जिल्ला सभापतिमा निर्वाचित भएर पार्टी संगठनमा काम गरे ।

१०औं महाधिवेशनबाट ४५ वर्षको उमेरमा केन्द्रीय सदस्यमा तेस्रो स्थानमा निर्वाचित भए । १२औं महाधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भए । ५५ वर्षको उमेरमा महामन्त्री बनेका नेता सिंहको कार्यकाल प्रशंसा गर्न लायक रह्यो । २०७० को आम चुनावपछि कांग्रेस संसदीय दलको नेतामा सभापति कोइरालासँग देउवा प्रतिस्पर्धामा आए । देउवाले दल नेताको निर्वाचन मिति पछि सारेर सांसद चलखेल गर्न खोजे ।

नेता प्रकाशमान सिंहको राजनीतिक अडानले देउवाले सांसद चलखेल गर्न नपाएपछि दल नेतामा सभापति कोइराला निर्वाचित भए । स्वाभिमान र राजनीतिक अडानको लागि कोही कसैसँग व्यक्तिगत स्वार्थको लागि आफ्नो नैतिकता नबेच्ने नेता हुन् प्रकाशमान सिंह । नेता सिंहको कार्यदक्षताबाट सभापति सुशील कोइराला ज्यादै प्रभावित थिए ।

सुदृढ पार्टी संगठन र सरकार सञ्चालनमा सभापति सुशील कोइरालालाई प्रकाशमान सिंहको ठूलो नैतिक बल थियो । पूर्व निर्वाचित महामन्त्री नेता सिंह गएको महाधिवेशनमा पनि सभापति पदको उम्मेदवारमा आकांक्षी थिए । एकपल्ट आफूलाई सहयोग गर्न रामचन्द्र पौडेलले अनुरोध गरेपछि उनको वरिष्ठता हेरेर नेता सिंहले जिम्मेवारी लिएनन् ।

२०५१ सालको मध्यावधि चुनावलाई लिएर पार्टीभित्र ठूलो विवाद भयो । केन्द्रीय समितिको निर्णय विरुद्ध महासमिति बैठक बोलाइयो । पार्टी विभाजनमा जानेसम्म स्थिति देखा पर्‍यो । पार्टीको दीर्घकालीन हितलाई सोचेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधि आफूमाथि अन्याय हुँदा पनि सहेर बसे ।

कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर २०५६ सालको आमचुनाव जितेपछि भट्टराई फेरि प्रधानमन्त्री बन्ने मौका पाए । तर सिंह र निधि परिवार माथि न्याय हुन बाँकी छ । वितेका कुरा बिर्सेर कांग्रेसको भविष्य खोज्ने हो भने सिंह, निधि र कोइराला परिवार एक हुनै पर्छ । लिगेसीका तीन नेतासहित बौद्धिक नेता अर्जुननरसिंह केसी र युवा नेतालाई लिएर सामूहिक नेतृत्वको टीमले पार्टी नेतृत्व गर्नुपर्छ ।

२०७४ को आम चुनावमा नेपाली कांग्रेस नेकपासँग लज्जास्पद पराजित भएपछि पार्टी कार्यकर्ता पूरै डिप्रेसनमा गएका छन् । नेतृत्वको अकर्मण्यताका कारण पार्टी संगठन पूरै लथालिङ्ग अवस्थामा छ । पार्टीभित्र विभिन्न नामथरमा गठन भएका र गठन गराइएका गुट, उपगुटले गर्दा नेपाली कांग्रेस सुगर, निमोनिया, टाईफाइड जस्ता रोगले जकडिएको छ । यो सबैको निकास आसन्न पार्टी महाधिवेशन नै हो । नेपाली कांग्रेस अहिले २०७८ भदौ १६-१९ मा हुने १४औं महाधिवेशनको तयारीमा जुटेको छ । आगामी पार्टी नेतृत्वको लागि सभापति पदका उम्मेदवारको लामो लिष्ट बनिसकेको अवस्था पनि छ ।

दुई हप्ताअघि तीन नेता पुत्रको समीकरण र निरन्तर भेटघाटले नेपाली राजनीतिमा नयाँ तरङ्ग थपिएको छ । यो समीकरणले दुइटा प्रतिक्रिया देखायो । आम कार्यकर्ता र मतदाताहरूमा राम्रो उत्साह देखियो अनि नेतृत्वमा निरन्तरता खोज्ने र गुट बनाएर नेतृत्वमा आउन खोज्नेलाई झस्काइदियो ।

अब आउने नयाँ नेतृत्वले आफ्ना गुटका आसेपासे र द्वारपालको हितमा मात्र काम नगरोस् । अहिलेको नेतृत्वले गरे जस्तो विधानमा प्वाल पार्दै मनपरी तन्त्र र अतिवादलाई निरन्तरता दिएर नैतिकता नगुमाओस् । कांग्रेस कार्यकर्ता र शुभेच्छुक मतदाताको यही अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment