
यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो ।
नायिका अदिती वुढाथोकी निषेधाज्ञाको समयमा नेपालमा नै बसिन् । यसअघि डेढ बर्ष अगाडि यही चलचित्रको छायांकनका लागि अदिती नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि यो चलचित्रको काम सुरु हुन सकेन ।
चलचित्रको छायांकनको बिषयमा निर्देशक सुरेन्द्र पौडेलले अनलाइनखबरसँग भने–‘यस्तो अवस्थामा त कसरी छायांकन गर्न सकिएला र खै ? अब हाम्रो योजना भदौबाट छायांकन सुरु गर्ने भन्ने हो । १० दिन काम गरेपछि रोक्नुपरेको थियो । यसैले, परिस्थिती सामान्य भएपछि मात्र काम सुरु गर्छौ ।
अदिती ८ महिना नेपाल बसेर मुम्बई फर्किइन् । फेरि, चलचित्रको छायांकन सुरु हुने भएपछि उनी गतबर्षको फागुणमा नेपाल आएकी थिइन् । यसपटक पनि चलचित्रको छायांकन सुरु गर्न नपाउँदै निषेधाज्ञा भएपछि अदितीले हैरानी ब्यहोर्न परिरहेको छ । अदिती, फेरि मुम्बई पुगेकी छिन् ।
मुम्बइलाई दोश्रो घर बताउने अदिती माया नगरीमा रहेर मोडलिङमा व्यस्त छिन् । दोश्रो चलचित्र चाडै दर्शकमाझ ल्याएर करिअरलाई नयाँ विन्दुबाट अगाडि बढाउने सोचाइमा उनी छिन् । तर, कोरोनाका कारण उनको योजना पछि मात्र सरेको छैन, काम नसकिदै नेपाल र मुम्बई गरिरहनु परेको छ ।
‘कृ’ चलचित्रबाट उदाएकी अदितीलाई पर्दामा फर्किन संघर्ष नै गरिरहनु परेको छ । के उनका लागि यो प्रतिक्षा, मिठो फल बनेर आउला त ?
प्रतिक्रिया 4