Comments Add Comment

प्रविधिको उपहारः निःसन्तानलाई आमाबाबु बनाउँदै ‘वात्सल्य’

२५ असार, काठमाडौं । नेपाली समाजमा विवाहित दम्पतीको योजनाले होस् वा कुनै समस्याले केही वर्ष बालबच्चा भएन भने प्रश्न उठ्न थाल्छ । पारिवारिक तथा सामाजिक दबाब बढ्न थाल्छ । बच्चा नभएकै कारण महिलाहरूमाथि घरेलु हिंसा भएका छन् । बालबच्चा नभएकै नाममा पुरुषले दोस्रो विवाह गरेका कैयौं घटना समाजमा छन् ।

तर प्रविधिको विकास विभिन्न कारणले आमाबाबु बन्ने उत्कट चाहना पूरा गर्न नसकेका दम्पतीका लागि ‘वरदान’ बनेको छ । आईभीएफ अर्थात् टेस्टट्युब बेबी, आई यू आई प्रविधिबाट सन्तान जन्माउन सकिने प्रविधिको विकास भएको छ । यो प्रविधिबाट सन्तान उत्पादन गर्न सक्षम तर विभिन्न कारण जन्माउन नसकिरहेका दम्पतीलाई वात्सल्य आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले आमाबाबु बन्ने चाहना पूरा गरिरहेको छ ।

‘वात्सल्य’ की प्रजनन् विशेषज्ञ डा. आकृति भारती आफ्नो अनुभव सुनाउँछिन्, ‘बालबञ्चा नहुँदा शिक्षित महिलाहरू पनि मानसिक रूपमा विक्षिप्त बनेको देखेकी छु । कतिपयमा त मानसिक स्वास्थ्य समस्याले म को हुँ भन्ने नै बिर्सिने अवस्थामा पुगेका छन् ।’

उनका अनुसार वात्सल्यमा २५ देखि ४५ वर्षसम्मको निःसन्तान दम्पती गर्भधारण गर्न आउने गरेका छन् । त्यसमध्ये पनि ३० देखि ३५ वर्ष उमेर समूहका बढी हुने गरेका छन् ।

अन्तर्राष्ट्रिय गाइडलाइन अनुसार ५० वर्ष उमेरसम्म आईभीएफ प्रविधिबाट गर्भधारण गर्न सकिन्छ । तर ५० वर्षको उमेरमा आफ्नै डिम्ब लिएर बच्चा जन्माउन सक्ने क्षमता कम हुन्छ । किनभने महिलाको उमेर बढ्दै जाँदा डिम्ब संख्या र गुणस्तर पनि घट्दै जान्छ । ३५ वर्षपछि गर्भधारण गर्न सक्ने क्षमता कम हुँदै जान्छ । ४० वर्षपछि झन् कम हुँदै जान्छ । त्यसबेला सामान्य तरिकाले बच्चा जन्मिन सक्ने अवस्था कम हुन्छ । जन्मँदा पनि अस्वस्थ बच्चा जम्मिन सक्ने सम्भावना बढी रहन्छ ।

आईभीएफ प्रविधि मार्फत तीनदेखि पाँच दिनसम्मको बच्चाको भ्रूण बनाएर आमाको पाठेघरमा राखिन्छ । एकपटक भ्रूण बनाउँदा धेरै वटा बन्छन् । त्यसरी बनेका भ्रूणबाट अहिले एउटा र पाँच वर्षपछि अर्को जन्माउँछु भन्छन् भने त्यही भ्रूणलाई फ्रिजमा राखेर अर्को पाँच वर्षपछि पनि दोस्रो बच्चा जन्माउन सकिन्छ ।

तर आईभीएफ प्रविधिबाट गर्दा डिम्ब, शुक्रकिटको गुणस्तर परीक्षण गरिने हुँदा त्यसबाट बनाएको बच्चा स्वस्थ जन्मने सम्भावना बढी हुने डा.भारती बताउँछिन् । भनिन् ‘आईभीएफ प्रविधिबाट भ्रूण बनाएपछि भ्रूणको क्रोमोजोम परीक्षण गरेर हेरेका हुन्छौं । त्यसलाई हामी प्रि–जेस्टेस्नल डायोग्नोटिकबाट स्क्रिन गरेर हेर्छौं । त्यसपछि मात्रै पाठेघरमा बच्चा राख्छौं । त्यसैले स्वस्थ बच्चा जन्मने सम्भावना बढी हुन्छ ।’

दाताको सहयोगमा पनि बच्चा जन्माउन सकिन्छ

डा.आकृतिका अनुसार अधिकांश महिलामा ३५ वर्षको उमेरमै डिम्ब उत्पादन कम भइसकेको हुन्छ । यसलाई प्रि मेच्युर ओभरी इन सफिसियन्सी भनिन्छ । महिलालाई उनीहरूको डिम्ब भ्रूण उत्पादनका लागि पर्याप्त भएन भने दाताबाट डिम्ब लिन सकिन्छ । कतिपय पुरुषको शरीरले उत्पादन गर्ने शुक्रकिट कमजोर भएका कारण पनि बच्चा बन्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा दाताबाट स्वस्थ शुक्रकिट लिएर पनि गर्भाधान गर्न सकिन्छ । नेपालमा आईभीएफका लागि डिम्ब तथा शुक्रकिट दानलाई व्यवस्थित गर्न आवश्यक कानून नहुँदा समस्या भइरहेको डा.आकृति बताउँछिन् ।

निःसन्तान अवस्थामा आईभीएफबाट गर्भधारण

विभिन्न कारणले बच्चा नजन्मने अवस्था हुन्छ । डा.आकृतिका अनुसार वंशाणुगत समस्या, सन्तान उत्पादनका लागि आवश्यक डिम्ब उत्पादन नहुनु, भएका डिम्ब स्वस्थ नहुनु, पाठेघरमा बच्चा बस्ने ठाउँ नहुनु, पुरुषमा शुक्रकिटको अभाव हुनु जस्ता कारणले बच्चा हुँदैन ।

पाठेघरको दुवै नली जहाँ अण्ड र शुक्रकिटको मिलन हुने नली बन्द (बन्ध्याकरण गरेको) वा ठूलो सानो हुँदा, टिबी रोगका कारण, त्यहाँ बच्चा बसेको कारण नली नै निकालेको अवस्था, क्यान्सर रोग लागेका महिला (किमोथेरापी, रेडियोथेरापी गरेको अवस्थामा निःसन्तान समस्या हुन्छ । पाठेघरमा बच्चा बस्न नमिल्ने गरी सानो भएको, खुम्चिएको अवस्थामा बाहेक आईभीएफ प्रविधिबाट गर्भधारण गर्न सकिने डा.आकृतिको भनाइ छ । यी सबै अवस्थामा महिलाको पाठेघर स्वस्थ, बच्चा बस्न सक्ने अवस्थाको हुँदा आईभीएफ प्रविधिबाट महिलाले बच्चा जन्माउन सक्ने डा.आकृतिले बताइन् ।

करीब ४० प्रतिशत केसमा चाहिं कुनै पनि कारण भेट्न सकिंदैन । पाठेघर, अण्डा, शारीरिक अवस्था, शुक्रकिट सबै स्वस्थ हुन्छ । तर गर्भधारण भइरहेको हुँदैन ।  त्यस्तो अवस्थामा पनि आईभीएफ प्रविधिको प्रयोगबाट गर्भधारण गर्न सकिन्छ ।

के टेस्टट्युव र आईभीएफ विधि एउटै हो ?

टेस्टट्युव बेबी र आईभीएफ प्रविधि उस्तै भएको डा.आकृति बताउँछिन् । फरक भनेको भ्रूण उत्पादन गर्ने भाँडो मात्रै हो । टेस्टट्युव प्रविधिमा ट्युबमा राखेर भ्रूण बनाइन्छ भने आईभीएफमा ग्लासमा बनाइन्छ । उनका अनुसार सामान्य मानिसले बुझ्नका लागि टेस्टट्युब बेबी भनिएको र मेडिकल भाषामा आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन भनिएको हो ।

आई यु आई गरिने

सामान्यतया मानिसको बुझाइ आई यु आई गरेपछि बच्चा जन्मिहाल्छ भन्ने पाइएको डा.आकृति बताउँछिन् । उनले भनिन्, ‘धेरै जना आई यु आई गरेपछि हुन्छ भनेर पटकपटक प्रयास गरिरहेको पाएँ, जुन गलत हो । आई यु आई गर्ने पटक पनि सीमित हुन्छ ।’

उनका अनुसार आई यु आई ३० वर्षभन्दा मुनि उमेरकालाई ६ पटकसम्म र ३५ वर्ष भन्दा माथि उमेरकालाई तीन साइकल मात्रै गराइन्छ । त्यति गर्दा पनि भएन भने हामी आईभीएफ प्रणालीमा जानुपर्छ । तर योभन्दा बढी पटक समेत गरेको पाइएको उनको भनाइ छ । आई यु आईमा १५ देखि २० प्रतिशत मात्रै सफल हुने सम्भावना हुने डा.भारतीले बताइन् ।

आई यु आई प्रविधि भनेको के हो ?

आई यु आई भनेको अल्ट्रा युटराइन इन्सेमिनेसन हो । यो भनेको पाठेघरभित्र वीर्यलाई सफा गरेर राख्ने प्रविधि हो । सामान्य सम्बन्धमा बस्दा शुक्रकिट योनीमा छोडिन्छ । शुक्रकिट कम एक्टिभ हुँदा डिम्बाशयसम्म भएको डिम्बसम्म पुग्न सक्दैन । त्यस्तो बेला शुक्रकिट लिएर त्यसलाई सफा गरेर राम्रो राम्रो शुक्रकिटलाई पाठेघरमा लगेर राखिन्छ । त्यसले गर्दा शुक्रकिटले डिम्बसँग भेट्नका लागि यात्रा गर्नुपर्ने दूरी कम हुन जान्छ । त्यसपछि अरू सबै सामान्य जस्तै हुन्छ । डिम्ब र शुक्रकिट मिलन हुने, भ्रूण बन्ने, बच्चा टाँसिने प्राकृतिक रूपमा आमाकै शरीरभित्र हुन्छ ।

के हो आईभीएफ प्रविधि

यो प्रविधिमा महिलामा हुने डिम्बलाई ठूलो बनाउन हर्मन मेडिसिन दिइन्छ । तीनवटा जति डिम्ब ठूलो भएपछि त्यो डिम्बलाई अल्ट्रासाउन्ड प्रविधिबाट बाहिर निकालेर त्यसको गुणस्तर, अवस्था जाँच गरिन्छ । शुक्रकिटलाई पनि लिएर राम्रो राम्रो शुक्रकिट छानेर कृत्रिम तरिकाले मिलन गराएर बाहिर नै भ्रूण बनाइन्छ । भ्रूण भएपछि पीजीएस (प्रि जस्टिस्नल स्क्रिनिङ) गर्भ रहनु भन्दा अगाडि नै बच्चा राम्रो छ÷छैन भनेर त्यसको पनि परीक्षण गरेपछि मात्रै पाठेघरमा लगेर राखिन्छ । भ्रूण आमाको शरीरमा नभई ल्याबमा बन्छ ।

त्यो बच्चा पाठेघरमा टाँसियो कि टाँसिएन थाहा हुन्छ । तर आई यु आईमा शुक्रकिट र डिम्बको मिलन भयो कि भएन ? मिलन भएर भ्रूण भई पाठेघरमा टाँसियो कि टाँसिएन भन्ने थाहा हुँदैन । आईभीएफ प्रविधिबाट ६० देखि ७० प्रतिशतसम्म सफल हुने सम्भावना हुन्छ ।

आईभीएफ प्रविधि मार्फत तीन दिनदेखि पाँच दिनसम्मको बच्चाको भ्रूण बनाएर आमाको पाठेघरमा राखिन्छ । एकपटक भ्रूण बनाउँदा धेरै वटा बन्छन् । त्यसरी बनेका भ्रूणबाट अहिले एउटा र पाँच वर्षपछि अर्को जन्माउँछु भन्छन् भने त्यही भ्रूणलाई फ्रिजमा राखेर अर्को पाँच वर्षपछि पनि दोस्रो बच्चा जन्माउन सकिन्छ ।

कतिपयले भने बच्चा अहिले नजन्माउने भ्रूण बनाएर मात्रै राख्ने भन्ने चाहन्छन् भने त्यसरी नै तीन अथवा पाँच दिनसम्मको भ्रूण बनाएर फ्रिजमा राखिन्छ । त्यो भ्रूणलाई बढ्न नदिन लिक्विइट नाइट्रोजनमा फ्रिज गरेर राखिएको हुन्छ । त्यसपछि उनीहरूको चाहना अनुसार तीन, पाँच, सात वर्षपछि पाठेघरमा राखेर गर्भधारण गरिन्छ । अहिले वैदेशिक रोजगारीमा गएका कतिपय महिलाले यो उपाय अपनाउने गरेको डा.आकृति बताउँछिन् ।

आईभीएफपछि फुल बेड रेस्ट चाहिंदैन

आईभीएफ गरेपछि पूर्ण रूपमा बेड रेस्ट गर्नु नपर्ने डा.आकृति बताउँछिन् । भ्रूण पाठेघरमा राखेपछि एक घन्टा आराम गराइन्छ । सामान्य समय जसरी हिंड्डुल गर्न हुने डा.आकृतिको भनाइ छ । त्यसपछि जहाँ गए पनि केही फरक पर्दैन । प्राकृतिक रूपमा गर्भ रहँदा जसरी हिंडडुल गर्न सकिन्छ, दैनिक कार्य गर्न सकिन्छ, यो विधिमा पनि त्यस्तै गर्न सकिने डा.आकृतिले बताइन् ।

उनले भनिन्, ‘भ्रूण पाठेघरमा राखेपछि दुई हप्तामा अल्ट्रासाउन्ड गरेर हेर्छौं । त्यसपछि तीन महीना, ६ महीना गर्दै सामान्य जसरी नियमित जाँच गराएर जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन सकिन्छ ।’

फोटो/भिडियो : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment