Comments Add Comment

अनि मैले महिनावारी बारिनँ

पहिलो रजस्वला हुँदाको त्यो दिन अझै पनि मेरो मानसपटलमा मिठो आभास बनेर घुमिरहन्छ । बिहान सबेरै उठ्न कन्जुस्याइँ गर्ने मेरो त्यो दिन एकाबिहानै आँखा खुल्यो । शरीर त्यसै फूर्तिलो आभास भयो । कताकता शरीरमा छुट्टै शक्ति आएको महसुस भैरहेको थियो । जुरुक्क उठेँ अनि हातगोडा तन्काउन थालेँ । मन चङ्गा थियो तर महिनावारी भएको भन्ने शङ्का नै थिएन । केहिबेरको व्यायाम पछि जब शौचालयमा गएँ तब थाह भो कि मलाई पहिलो रजस्वला पो भएछ।

त्यो बेला म छात्राबासमा बस्थेँ जुन मेरो दाइहरूले चलाउनु भएको थियो । रजस्वलाको बारेमा कसैलाई सुनाउन मन लागेन र सुनाइनँ पनि । त्यस्तै १३ वर्षकी हुँदी हुँ । कक्षा आठमा पढ्थेँ । त्यो बेला पढेरभन्दा पनि महिनावारीको बारेमा आमा र भाउजुहरूबाट धेरै कुरा सुनेकी थिएँ र देखेकी थिएँ । तर मनमा एएटा संकल्प थियो- बुझेर भनूँ या नबुझेरै कि म कुनै हालत महिनावारी बार्दिनँ । र, त्यसैको फलस्वरूप रजस्वला भएको कुरा परिवारसँग गोप्य राख्ने हिम्मत गरेँ ।

होस्टेलमा भएकाले लुकाउन अलिकति सजिलो पनि भयो तर त्यो बेलाको अप्ठ्यारो र आवश्यकताहरूसँग एक्लै जुध्नु पनि मेरो लागि सजिलो त पक्कै पनि थिएन । मेरी आमालाई महिनावारी हुँदा साह्रै धेरै रगत बग्थ्यो अनि आमाले बाको कमिज, पुरानो सारी, पाइन्टको ठूला लामा टालो बनाएर प्रयोग गरेको देखेकी थिएँ ।

पेन्टी लगाउने चलन नभएकोले आमाले टालोलाई पेटिकोटको तुनाले कस्नुहुन्थ्यो । त्यो बेला मलाई मेरी आमाबाट सिकेको शिक्षाले सबभन्दा ठुलो सहयोग गर्‍यो र मैले पनि आमाकै सिको गरेँ र आफूसँग भएको मन्द्रासी रुमाल र पुरानो कपडाको प्रयोग गरेँ । बस्दा त कुनै अप्ठ्यारो भएन तर हिँड्दा र खेल्दा भने विशेष ख्याल गर्नु पर्थ्यो । नत्र त्यो टालो पत्तै नपाई निस्कन्थ्यो ।

त्यो बेला मैले सबथोक गरेँ जुन समाजको नजरमा जायज थिएन । यो समाजले महिनावारीको बेलामा दाजुभाइसँग टाढा रहनुपर्छ, छुन हुँदैन भन्थ्यो । मैले सँगै बसेर खाना खाएँ । प्रचलनले भान्सामा पस्न बन्देज गर्छ तर म छिरेँ । किताब छुन हुन्न भनिन्थ्यो, मैले झन धेरै किताबसँग समय बिताएँ । ढुङ्गाको मूर्तिमा मैले कहिल्यै देउता देख्दिनथेँ र पूजा गर्न रुचाउदिनथेँ । त्यसैले पूजा गर्ने भन्ने कुरा मेरो प्राथमिकतामा परेन । नत्र त्यो पनि पक्कै गर्थेँ ।

यसरी पहिलो महिनावारी भएको पाँच दिनपछि पूर्णरुपमा सकियो तर कसैलाई भन्न नि मन लागेन किनकि आफ्ना प्रयोग गरेका टालटुली बेलुका सबै सुतेपछि धोएर सुकाउँथे । अनि बिहान कोही नउठ्दै राख्थेँ । धेरैपछि कतै पढेर थाहा पाएकी त्यस्तो कपडा त घाममा सुकाउनु पर्छ किटाणुहरूबाट बचाउन भनेर । त्यसपछि तारमा सुकाउँदा देखिन्छ भनेर नदेख्ने गरी टिनको माथि सुकाउन थालेँ ।

महिनाहरू बित्दै गए, लगातार रजस्वला भैरहन्थ्यो। कहिले होस्टेलमा भएको बेला पर्थ्यो त कहिले घरमा बाआमासँग भएको बेला । घरमा भएको बेला आमासँग सुत्ने भएकोले थाहा पाइहाल्नु हुन्छ कि भन्ने लाग्थ्यो र अझ धेरै सरसफाइमा ध्यान दिन्थेँ । आमाले पनि यसबारे थाहा पाउनु भएन ।

दिनहरू बित्दै गए । म दश कक्षामा पुगिसकेकी थिएँ । आमाले कहिलेकाही महिनावारिको बारेमा सोध्नुहुन्थ्यो तर मैले टारी दिन्थेँ । एकदिनको कुरा हो- साँझको बेला थियो । बाआमा र म पिँढीमा बसेर कुरा गर्दै थियौं । यत्तिकैमा आमाले महिनावारीमा चोखो नगरेर भएका केहि अनुभव सुनाउनुभयो । अनि बाले पनि हो मा हो मिलाउनु भयो ।

आमाले भन्दै हुनुहुन्थ्यो- हाम्रा दोखला, कुल कडा छन् । अलिकति मात्र रिठो बिरियो कि रिसाइहाल्छन् । त्यसको कारण भैंसीले दूध दिँदैन। अझ एकपटक त पर सरेको बेला दूध खाएकाले भैंसीको थुननेर पुरै फोका आएको थियो । त्यसदिन देखिनै आमाले महिनावारी हुँदा दूध खानु भएन। अनि अरु कसैलाई पनि दिनु हुदैनथ्यो ।

बाले थप्नु भयो- त्यसपछि भैंसीले खुरुखुरु दूध दिनथाल्यो रे । कुल रिसाए भने अनर्थ हुन्छ रे । अनि गोठमा पशु पनि फाप्दैन रे । सायद मप्रति शंका लागेर नै यस्तो कुरा गर्नु भएको होला भनेर मेरो मनलाई ठम्याउन गाह्रो परेन।

उहाँहरूले यस्तो कुरा गरिरख्दा मलाई भने दुई वर्षसम्म महिनावारी नबार्दा कसैलाई केही नभएको र भैंसी पनि ठिकै भएको कुरा मनमा खेलिरहेको थियो भने अर्कोतिर यो साँच्चिकै सत्य होलाकी त्यसै मलाई डराउन भन्नुभएको होला परीक्षण नै गर्ने इच्छा जागी रहेको थियो । त्यसदिन यो कुरा जाँच गर्ने मनमनै अठोट लिएँ ।

कक्षा ११ मा पढ्दै गर्दा मलाई यो रुढीवादी परम्पराको विरुद्ध चेकजाँच गर्ने मौका मिल्यो । बुबा आमा काठमाडौं सद्बिउ छर्न जाने निधो गर्नुभयो । अनि बिदा भएकोले म घर कुर्न भनेर गएँ । संयोगवश बाटोमा नै महिनावारी भएँ । घरमा पुगेर मैले घरको सबै काम समालेँ । त्यो दिन मैले जिन्दगीमा नगरेका काम पनि गरेँ ।

जेठा बाको बुहारी अर्थात् भाउजूको सहयोगमा भैंसी दोएँ । दूध तताएर ठेकामा हाली खाना खाइवोरी सुत्न गएँ । तर निद्रा भने फिटिक्कै लागेन । मनमा कताकता डर पनि थियो कि भोलि बिहान उठ्दा भैंसीलाई केही भैहाल्यो भने के गर्ने भनेर । बाआमाले भनेको झैँ भैंसीको थुनमा फोका आयो भने ! अनि भैंसीले दूध दिएन भने के गर्ने ? यस्तै सोच्दा सोच्दै खै कतिबेला निदाएछु पत्तै भएन ।

भोलिपल्ट बिहान निद्रा खुलेपछि सबैभन्दा पहिला भैंसीको थुन हेर्न गोठमा पुगेँ । हेर्छु त केही पनि भएको छैन । अनि मेरो खुसीको सीमा रहेन । यत्तिकैमा भैंसी आईई गर्दै करायो । त्यसलाई मुसारेर घाँस हालिदिएँ ।

केहिबेरपछि दूध दिँदैनकी भन्ने चिन्ता थियो । त्यो पनि हट्यो, जब भैंसीले खुरुखुरु दूध दियो । अब भने मेरो मनले त्यो रुढीवादी भ्रमलाई पूर्णरूपमा चिरिसकेको थियो । मन खुसीले फुरुङ्ग थियो । किनकी त्यो दिन म आफैंले आफैंलाई यो रुढीवादको विरुद्ध मनदेखि नै दृढ भएर लड्न सक्ने प्रमाण पाएकी थिएँ ।

त्यसपछि ठेकाको दही मोथेर मोही बनाएँ । नौनी निकालेँ र धुप पनि हालेँ बाले जस्तै गरेर अगेनामा । मलाई ढुङ्गा देवता हो भन्ने कुरामा कुनै विश्वास थिएन । अनि आगोको अगुल्टोमा धुप हालेर देउताले खान्छन् भन्ने पनि पत्यार लाग्थेन तर पनि रीत पूरा गर्नको लागि धुप हालेँ । ‘मैले केही जान्दिनँ । सबै देउताले बाँडीचुँडी खानु’ भनेर अगेनामा धुप हलिदिएँ । खै त्यसपछिका दिनमा भैंसीलाई केही भएको कुरा सुनाउनु भएन आमाले । यसरी मेरो मनमा भएको डर पनि सकियो र अरुलाई मनाउन सकूँला नसकूँला । तर मैले यो महिनावारीमा बार्ने काम कहिल्यै नगर्ने प्रण गरेँ ।

सानिमाले भन्दै हुनुहुन्थ्यो- किन होलानी यो कान्छीलाई अझै पनि नछुनी नभएको ? यत्तिकैमा आमाले ‘कुन्नी’ भन्दै हाँस्नु भयो । आमालाई थाहा भैसकेको थियो तर मसँग केही भन्नु भएको थिएन । सायद छोरीले आफैं भनोस् भन्ने चाहनुहुन्थ्यो तर म यसको बारेमा कुरा गरेर प्रश्नको भारी बोक्न चाहन्नथेँ

यसरी नै महिना वर्ष बित्दै गए । रजस्वलाको बारेमा मेरो दुई साथीहरू बाहेक अरु कसैलाई थाहा थिएन । एकदिन पाइखानामा अलिकति रगत रहेको रहेछ, त्यो देखेर भाउजुले महिनावारीको बारेमा सोध्नुभयो । मैले कुनै हिच्किचाहट बिना धेरै पहिले भैसकेको र बार्ने नगरेको कुरा बताएँ । त्यसपछि उहाँ धेरै नै रिसाउनु भयो । अनि लगभग छ महिना हाम्रो बोलचाल नै भएन र म फेरि होस्टेल नै बस्न थालेँ ।

सायद होस्टेल नभएको भए सँगै बस्नुपर्ने बाध्यता हुन्थ्यो होला । अनि संघर्ष पनि फरक नै हुन्थ्यो होला । भाउजुमार्फत् एककान दुई कान घरमा सबैलाई थाहा भएछ । तर मलाई दाइहरूले किन नबारेको भनेर कहिल्यै भन्नू भएन । भाउजुहरूसँग भने महिनावारी हुँदा घर चाहिँ नगए हुन्थ्यो भन्नुहुन्थ्यो रे !

मलाई नबारेर राम्रो गरी भन्ने कोहि पनि थिएन । नराम्रो कुरा गर्ने कति थिए, मैले कहिल्यै खोज्न चाहिनँ । एकदिन माइलो भाउजुले म महिनावारी नहुँदा बहिनी त तेस्रोलिङ्गी हो कि भनेर माइलो दाइले चिन्ता लिने गरेको र रजस्वला चार वर्ष पहिले नै भएको थाहा पाएपछि खुब खुसी हुनुभएको कुरा सुनाउनु भएको थियो ।
म कक्षा १२ को परीक्षा सकेर घरमा गएकी थिएँ । कोदो रोप्ने बेला थियो । आमा, माइली आमा, सानिमासहित आमाका दाओलीहरू पर्म लगाउनु भएको रहेछ । म पनि आमासँगै मेला गएँ । अनि कुरा चल्न थाल्यो महिनावारीको ।

सानिमाले भन्दै हुनुहुन्थ्यो- किन होलानी यो कान्छीलाई अझै पनि नछुनी नभएको ?

यत्तिकैमा आमाले ‘कुन्नी’ भन्दै हाँस्नु भयो । आमालाई थाहा भैसकेको थियो तर मसँग केही भन्नु भएको थिएन । सायद छोरीले आफैं भनोस् भन्ने चाहनुहुन्थ्यो तर म यसको बारेमा कुरा गरेर प्रश्नको भारी बोक्न चाहन्नथेँ ।

मेलामा नै मैले भैसकेको कुरा भन्दा सबजना अचम्म मान्दै मेरो मुखतिर हेर्न थाल्नु भयो । आमाले यसले जे पनि भन्छे भन्दै हुनुहुन्थ्यो । सायद मलाई नराम्रो मान्छन् भनेर होला ।

उहाँ एक आमा हो । सन्तानलाई नराम्रो भनेको कहाँ सुन्न सक्नुहुन्छ र । मैले पनि सबैलाई ठट्यौली पाराले सरसफाइ गरेर बसे बार्नु नपर्ने भन्ने कुरामा जोड दिएँ र मैले यो कुरीतिको विपक्षमा आफ्ना तर्क राख्दै गएँ ।

छेउबाट माइली आमाले कति आँटिली होली, यसलाई डर पनि नलागेको भन्दै जिब्रो टोक्दै हुनुहुन्थ्यो । सानैदेखि पढाइमा राम्रो र कसैलाई नराम्रो नबोल्ने भएरै होला या यसलाई भनेर सम्झिन्नँ भन्ठानेर हो कसैले यस्तो गर्न हुँदैन भन्नु भएन । रमाइलो गर्दै मेला सकेर घरतिर लाग्यौं आमाछोरी ।

बेलुका आमाले ‘साँच्चै महिनावारी भएको हो र’ भनेर सोध्नुभयो । अनि मैले आमालाई सबै कुरा बताएँ र आफूले सकेसम्म बार्नु नपर्ने भन्ने कुरामा जोड दिएँ । यद्यपि आमाले यो स्वीकार गर्न सक्नुभएन ।

तसर्थ, आमाको सन्तुष्टिको लागि रजस्वला भएको बेला घर आउने नगरेको कुरा सुनाएँ । थाहा हुँदाहुँदै कि आमाबासँग झुठो बोल्नु गलत हो । यहाँनेर मैले फेरि अर्को झुट बोल्दै थिए आमासँग । तर रुढीवादी परम्पराको विरुद्ध लड्नको लागि मलाई यो झुट पनि जायज लाग्यो र कुनै पश्चात्ता पनि लागेन । किनकी समाजमा सयौं वर्षदेखि चल्दै आएको कुरीति परास्त गर्न त्यति सहज थिएन । त्यो पनि स्पष्ट वक्ता भएर अनि झगडा गरेर ।

समाज परिवर्तन हुन लामो समय लाग्छ । आजको भोलि परिवर्तन हुन सम्भव छैन । यो त बिस्तारै एउटा पुस्तादेखि अर्को पुस्तासम्म थोरै थोरै गरेर बदल्ने हो । त्यो परिवर्तनको लागि मैले पहिलो पाइला चालेकी थिएँ । भनिन्छ नि समाज परिवर्तन गर्नुछ भने सुरुवात आफैंबाट गर्नु पर्छ । अतः मैले मेरो घरबाट एक्लै पाइला बढाएँ ।

त्यतिबेला मलाई यो थाहा थियो कि मैले बुवाआमाको पुस्तालाई महिनावारीको बेला बार्नु गलत हो । यो बेला आराम गर्नुपर्छ । सरसफाइ गर्नुपर्छ भन्ने कुरा बुझाउन सक्दिनथेँ । नत उहाँहरूले बुझ्नु नै हुन्थ्यो र मैले यसमा मनाउन पनि चाहन्नथेँ । अहिले त मेरै पुस्ताले बुझेर पनि बुझ्न चाहन्न भने बुवाआमा त पुरानो पुस्ताबाट हुनुहुन्छ । त्यो सम्भव थिएन । तर मलाई यति थाहा थियो कि मैले चालेको कदमले म पछिको पुस्तालाई अवश्य पनि केही हदसम्म सुधार्छ र महिनावारीमा गरिने व्यवहारमा नरमपना देखिनेछ ।

हुन पनि परिवारमा बिस्तारै त्यसको असर देखिन थाल्यो । सबैजना केही हदसम्म धेरै कुरा पचाउने भैसक्नु भएको थियो भने केही भतिजीहरू मेरै बाटो अँगाल्दै थिए त कोहि पुरानै बाटो पच्छाउँदै थिएँ । अब पहिलेजस्तै छुट्टै बिस्तारा बनाएर भुइँमा सुत्नुपर्ने बाध्यता थिएन । भाउजुहरू पनि अलिक बदलिएको आभास हुन्थ्यो । अलिकति बदलाव आए पनि यसको जरा भने उखेलिएको छैन । म यो कुरामा ढुक्क छु कि मेरो छोरीबुहारीको पालामा मेरो घरमा महिनावारी बार्नुपर्ने छैन । अलग्गिएर बस्नुपर्ने छैन ।

आज नभए भोलि, भोलि नभए पर्सी अवश्य नै यो समाजले रूप फेर्नेछ जहाँ न रजस्वलालाई पापको रूपमा हेरिने छ भने न अछुत भएर बस्नुपर्ने छ । सबैजनासँगै बसेर रमाइलो गर्दै खाना खानेछन्, यो बेला आराम गर्नुपर्छ भनेर छोरीबुहारीलाई सम्झाइने छ । कुनै कालकोठरीमा लुकाउनुपर्ने छैन । छाउपडी गोठहरू भत्काइने छन् र नारीहरू महिनावारी भएकोमा रमाउने छन्, खुलेर आफ्ना समस्या परिवारमा राख्ने छन् ।

त्यो समाज निर्माणको लागि सबै दिदीबहिनीहरूले यो बुझ्नु जरुरी छ कि रजस्वला एक जैविक पद्धति हो जसले नारीलाई आमा बनाउन सहयोग गर्छ भने त्यो बेला सरसफाइ, पौष्टिक आहार अनि आरामको जरुरत हुन्छ ।

यो बेला के गर्न हुन्छ के गर्न हुँदैन, के खाने के नखाने भन्ने कुरालाई रुढीवादी नजरले हेर्नुभन्दा त्यसलाई स्वस्थ्यको नजरमा तुलना गरेर के सही के खराब छुट्टाउनु आवश्यक छ । विज्ञान र प्रविधिले फड्को मारिसकेको यो दुनियाँमा पुरानो सोच त्यागेर स्वस्थ, सहज र सरल जीवनशैली अपनाउनु नै विवेकपूर्ण हुन्छ ।

(क्षेत्री त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment