Comments Add Comment

उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा आन्दोलनरत् पक्षसँग छलफल

तस्वीर सौजन्य : डा. पदम नेपाली

४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले बिहीबार कार्यदल गठन गरेका हुन् । कार्यदलमा ८ सदस्य छन् । ‘कार्यदललाई हाम्रो माग र समस्याबारे प्रत्यक्ष रुपमा सुनाइरहेका छौं । उहाँहरुले हाम्रो समस्या सुन्दै यसबारे गम्भीर अध्ययन गर्ने बताउनु भएको छ,’ डा. नेपालीले भने ।

बीपी प्रतिष्ठानमा शुद्धीकरणको माग गर्दै ३५ दिनदेखि यहाँका चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरुले आन्दोलन गरिरहेका छन् । प्रतिष्ठानमा आर्थिक अनियमितता बढेकाले यसको छानबिन गर्नुपर्ने र प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीको बहिर्गमनको माग उनीहरुले राखेका छन् ।

असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता भंग भएपछि पदाधिकारी र आन्दोलनकारीबीच संवाद हुन सकेको थिएन । त्यसपछि आन्दोलनरत संयुक्त संघर्ष समितिले असार १६ गते चारैजना पदाधिकारीको राजीनामाको माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

उनीहरुले पदाधिकारीहरुसँग वार्ता नगर्ने र प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीद्वारा गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिंदै आएका थिए । देउवा प्रधानमन्त्री भएलगत्तै आन्दोलनकारीले ४८ घण्टाभित्र माग पूरा नगरे सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामाजिक विकास तथा रुपान्तरण महाशाखाका सहसचिव शंकर नेपाल सदस्य–सचिव छन् ।

सदस्यहरुमा शिक्षा मन्त्रालयका सहसचिव डा. वैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, कानून मन्त्रालयका सहसचिव सुशील कोइराला, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णु कोइराला छन् । प्रतिष्ठानका सिनेटर एवं प्राध्यापक डा. सञ्जीव शर्मा पनि कार्यदलको सदस्य छन् ।

कार्यदलले प्रतिष्ठानका सरोकारवाला पक्षसँग वार्ता गर्ने, अनियमितता भएको भनिएका बिषयमा छानबिन तथा अध्ययन गर्ने र कार्यदलले आफ्नो अध्ययन तथा छानबिन प्रतिवदेन कुलपति एवं प्रधानमन्त्री देउवा समक्ष पेश गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment